अक्टोबरमा रेकर्ड तोड्ने पर्यटक आगमन, के पुरानै लयमा फकिँदैछ नेपाली पर्यटन बजार ?
काठमाडौं । हिउँले चम्किएका हिमाल, हरियालीले ढाकिएका पहाड र सौन्दर्यले भरिएको उपत्यका । यीनै दृश्य हेर्न नेपाल भित्रुने विदेशी पर्यटकको लहर व्यापाक देखिएको छ ।
पर्यटक आगमनको मुख्य सिजन मानिने अक्टोबरमा उल्लेख्य विदेशीहरु नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले हालै उपलब्ध गराएको सन् २०२५ को अक्टोबर महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत अक्टोबरमा रेकर्डस्तरमा पर्यटक नेपाल भ्रमणमा आएका छन् । सो महिनामा १ लाख २८ हजार ४४३ जना विदेशी नेपाल आएका हुन् । यो विगत ७० महिना यताकै उच्च हो । शरद ऋतुको रमाइलो मौसमले पदयात्रा र आरोहण प्रेमीहरूलाई आकर्षित गरेको तथ्याङ्कले पुष्टि हुन्छ । अक्टोबरमा पर्यटक आगमनमा आएको वृद्धि र आरोहण सिजनको चहलपहलले नेपाली पर्यटन क्षेत्र पुन: लयमा फर्किँदै गएको देखाउँछ ।
बोर्डका अनुसार हालसम्म मासिक १ लाख ४७ हजार ८५९ जना सन् २०१८ को नोभेम्बरमा आएका थिए । सोही वर्षको अक्टोबरमा भने १ लाख ३० हजार र डिसेम्बरमा १ लाख २१ हजार ६२० जना विदेशी पर्यटक नेपाल आएको तथ्याङ्क छ ।
यस्तै कोभिड सुरु हुनभन्दा अघिल्ला महिनाहरुमा पनि उल्लेख्य पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ को अक्टोबरमा पनि १ लाख ३४ हजार ९६ जना र सोही वर्षको नोभेम्बरमा १ लाख ३० हजार ३०२ जना पर्यटक आएको आँकडा छ । त्यसता भने गत वर्ष सन् २०२४ को मार्चमा १ लाख २८ हजार १६७ जना आएको तथ्याङ्क छ । सोही वर्षको अक्टोबरमा पनि १ लाख २४ हजार ३९३ जना पर्यटक नेपाल घुम्न आएका थिए ।
बोर्डका अनुसार सन् २०२५ मा भने गत मार्चमा मात्रै १ लाख २१ हजार ६८७ जना आएका थिए । त्यसपछि मासिक रुपमा केही घट्दै गएको देखिन्छ । तर, गत अक्टोबरमा भने रेकर्डस्तरमा पर्यटक आएका छन् ।
सन् २०२५ को १० महिना अर्थात् जनवरीदेखि अक्टोबरसम्ममा ९ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिएका छन् । बोर्डका अनुसार गत जनवरीमा ७९ हजार ९९१ जना, फेब्रुअरीमा ९६ हजार ८८० जना, अप्रिलमा १ लाख १६ हजार ४९० जना, मेमा ८६ हजार २१६, जुनमा ७६ हजार ४२५, जुलाई ७० हजार १९३, अगष्टमा ८८ हजार ६८० र सेप्टेम्बरमा ७८ हजार ७११ जना पर्यटक नेपाल भित्रिएका छन् ।
अमेरिकी र युरोपेली पर्यटकको आकर्षक वृद्धि
नेपाल आगमनमा भारतीय पर्यटक संख्यागत पहिलो स्थानमा रहे पनि वृद्धिदरका हिसाबले अमेरिकी र युरोपेली पर्यटक उल्लेखनीय रूपमा अगाडि छन् ।
अक्टोबरमा भारतबाट १७ हजार २९८ जना आएका छन् । बोर्डका अनुसार अमेरिकाबाट १३ हजार २८६ जना नेपाल आइपुगेका छन् । यता, बेलायत तेस्रो स्थानमा रहँदै ८ हजार ७१८ जना पर्यटक आएका छन् ।
त्यसपछि चीनबाट ६ हजार ७५५ जना, जर्मनीबाट ६ हजार ३६६ जना आएका छन् । यसरी हेर्दा कुल आगन्तुकमध्ये ३१.६ प्रतिशत युरोपेली पर्यटक रहेका छन् । जसको संख्या ४० हजार ६ सय पुगेको छ ।
दक्षिण एसियाली (सार्क) मुलुकहरूबाट २२.६ प्रतिशत अर्थात् २९ हजार ६० पर्यटक आएका छन् । अन्य एसियाली देशहरूबाट २३ हजार १२७ जना पुगेका छन् । त्यस्तै अमेरिकी क्षेत्रबाट १६ हजार ४०७, ओसियाना क्षेत्रबाट ६ हजार ८१४, मध्यपूर्वी देशबाट ३ हजार ५४८ र अफ्रिकाबाट ४४३ जना नेपाल आएका छन् । अन्य क्षेत्रबाट पनि उल्लेखनीय रूपमा ८ हजार ४ सय ४४ पर्यटकले नेपाल रोजेको देखिन्छ ।
शरद ऋतुको पर्वतारोहण सिजनमा १७५ टोलीका १ हजार ४५० आरोहीले अनुमति लिएका छन् । यसबाट सरकारले २५ करोड ५१ लाख रुपैयाँ रोयल्टी संकलन गरेको पर्यटन बोर्डले जनाएको छ ।
पर्यटन बोर्डका अनुसार दक्षिण एसियाबाट ३५.८ अर्थात् ३ लाख ३७ हजार ५११ नेपाल भित्रिएका छन् । सन् २०२५ को १० महिनाको आँकडा अनुसार भनेएसियाका अन्य देशहरूबाट २०.९ अर्थात् १ लाख ९७ हजार २९६ जना, युरोपबाट १९.१ प्रतिशत अर्थात् १ लाख ८० हजार १४५ जना, अमेरिकी महादेशबाट १२ अर्थात् १ लाख १३ हजार ४५९ नेपाल भ्रमणमा आएका छन् ।
यता, ओसियाना क्षेत्रबाट ४.४ अर्थात् ४१ हजार ९०२, अफ्रिकाबाट ०.४ प्रतिशत अर्थात् ३ हजार ४७९ र अन्य क्षेत्रबाट ५.५ प्रतिशत अर्थात् ५१ हजार ५१४ पर्यटक आएका छन् ।













