दाउन्ने सडक हिलो र चिप्लो, १० किलोमिटरसम्म जाम
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने भागमा सडक हिलो र चिप्लो बनेपछि प्रहरीले सवारी चालकलाई सडक प्रयोग नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले पानी रोकिए पनि सडकको दुबै भागमा सवारीसाधनको लामो लाइन लागेकाले दाउन्ने हुँदै आवागमन नगर्न आग्रह गरेको छ ।
पश्चिमबाट पूर्वतर्फका गाडी पास भइरहे पनि पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन रोकिएका छन् ।
कार्यालयका अनुसार सडकमा धेरै सवारी बिग्रिएकाले यातायात एकतर्फी मात्र सञ्चालन भइरहेको छ । अहिले सवारीसाधनको लाइन करिब १० किलोमिटरसम्म पुगेको छ ।
लगातारको वर्षाले सडक हिलो बनेपछि दाउन्नेमा हरेक दिन गाडी फस्ने र बिग्रिने समस्या दोहोरिँदै आएको छ । सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीले दशैंअघि बाटो सहज बनाउने प्रतिवद्धता जनाए पनि हालसम्म पश्चिम खण्डको करिब ३ किलोमिटर मात्रै कालोपत्रे भएको छ ।
सडकको अधिकांश भाग कच्ची रहेका कारण सामान्य पानी परेपछि समेत यातायात सञ्चालनमा कठिनाइ हुने स्थिति बनेको प्रहरीले जनाएको छ ।













