बाढी–पहिरोले ३८२ घर र ४७ गाडीमा क्षति, पौने चार अर्बको बीमा दावी
काठमाडौं । गत असोज १८ गतेको अविरल वर्षका देशभर पौने चार अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण बीमा कम्पनीमा ३ अर्ब ७८ करोड ४० लाख ९० हजार रुपैयाँ बराबरको दावी पेश भएको छ ।
प्रारम्भिक विवरणअनुसार हालसम्म सो दिनको क्षति उपर ७३४ वटा दावी पेश भएका छन् । उक्त दिनको क्षतिबाट सबैभन्दा ठुलो क्षति घर तथा भवनहरुमा भएका छन् ।
सम्पत्ति बीमा अन्तर्गत ३ अर्ब १९ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा दावी पेश भएको छ । यस्तो बीमालेख अन्तर्गत ३८२ वटा दावी पेश भएको छ ।
यता, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा अन्तर्गत ५० करोड ६४ लाख रुपैयाँ बराबरको ९२ वटा बीमा दावी पेश भएको छ ।
प्राधिकरणका अनुसार बाढी पहिरोका कारण ४७ वटा सवारी साधानमा क्षति पुगेको देखिन्छ । मोटर बीमा अन्तर्गत ३ अर्ब ४७ करोड रुपैयाँ बढीको दावी पेश भएको छ । यसमा निजी तर्फ २ करोड ६६ लाख र सार्वजनिक सवारी तर्फ १ करोड ८ लाख रुपैयाँ बराबरको दावी पेश भएको हो ।
यस्तै, कृषि तथा बाली बीमा अन्तर्गत भने ४ करोड ३२ लाख रुपैयाँ बराबरको २०९ वटा, अन्य बीमा १० लाख र सामून्द्रिक बीमा ९ लाख रुपैयाँ बराबरको दावी पेश भएका छन् ।
कुन कम्पनीमा कति पर्यो दावी ?
प्राधिकरणका अनुसार सबैभन्दा ठुलो दावी भने शिखर इन्स्योरेन्समा परेको छ । कम्पनीमा ६१ करोड रुपैयाँ बराबरको ५९ वटा दाव परेको हो ।
यता, युनाईटेड अजोडमा पनि ६० करोड ५६ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर ५० करोड ९४ लाख, एनएलजीमा ५० करोड ६० लाख, हिमालयन एभरेष्टमा ३७ करोड ५७ लाख, नेशनलमा ३० करोड ५० लाख, ओरियण्टलमा २१ कारेड ४३ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ ।
यस्तै, आइजिआई प्रुडेन्सियलमा १७ करोड ६ लाख, सगरमाथा लुम्बिनीमा १२ करोड ४४ लाख, नेकोमा १२ करोड १० लाख, नेपाल इन्स्योरेन्समा १० करोड ६९ लाख, प्रभूमा १० करोड ६४ लाख, सानिमा जिआइसीमा २ करोड ८५ लाख, ट्रस्ट माइक्रोमा ८ लाख र स्टार माइक्रा इन्स्योरेन्समा ८ लाख रुपैयाँ बराबरको दावी पेश भएको प्राधिकरणले जनाएको छ ।













