सरकारले स्थापना गरेको ‘पूर्वाधार पुनर्निर्माण कोष’मा देखिएन उत्साह, अहिलेसम्म ६ करोड मात्रै संकलन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सरकारले स्थापना गरेको ‘पूर्वाधार पुनर्निर्माण कोष’मा देखिएन उत्साह, अहिलेसम्म ६ करोड मात्रै संकलन



काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सरकारी संरचनाको पुनर्निर्माण गर्न सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा सहयोग संकलन एकदमै न्यून देखिएको छ ।

आन्दोलनका क्रममा मुलुकको प्रमुख प्रशासकीय क्षेत्र सिंहदरवार, सर्वाेच्च अदालत, संसद् भवन लगायतका थुप्रै सरकारी संरचना र सम्पत्तिमा तोडफोड तथा आगजनी गरिएको छ ।

अन्तिम विवरण आउन बाँकी नै रहेपनि खर्बाै बराबरको क्षति भएको छ । त्यसको पुनर्निर्माणमा पनि सरकारले ठूलो रकम खर्च गर्नुपर्नेछ । सोही अवस्थालाई लक्षित गर्दै अन्तरिम सरकारले गत असोज ८ गते अर्थमन्त्री रामेश्वर खनाmका् अध्यक्षतामा कोष स्थापना गरेर सहयोगको लागि अन्तरराष्ट्रिय अपिल नै गरेको थियो ।

तर, असोज मसान्तसम्म उक्त कोषमा ६ करोड १० लाख रुपैयाँ मात्रै जम्मा भएको छ । अर्थ मन्त्रालयले तयार गरेको असोज मसान्तसम्मको सुचनाको हक सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।

‘भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा क्षति भएको भौतिक संरचनाको पुनर्निमाण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि भौतिक पूर्वाधार पुनर्निमाण कोष स्थापाना गरिएको र उक्त कोषमा मिति २०८२/६/३० सम्ममा ६ करोड १० लाख रुपैयाँ प्राप्त भएको,’ प्रतिवेदनमा भनिएको छ । असोज ११ गतेसम्म यो ६ करोड २४ लाख रुपैयाँ पुगेको छ ।
यसअघि भुकम्प, कोरोनाको समयमा सरकारले स्थापना गरेको राहत कोषमा देश विदेशबाट उत्साहजनक रुपमा सहयोग उठ्ने गरेको थियो । तर, यसपाली भने कोषमा सहयोग संकलन निराशाजनक देखिन्छ ।

सहयोग गर्ने मामिलामा निजी क्षेत्र पनि अग्रसर हुने गर्छ । बिगतमा निजी क्षेत्रले उच्च मात्रामा सहयोग पनि गरेको थियो । तर, यसपाली आन्दोलनका क्रममा निजी व्यवसाय तथा सम्पत्ति माथि तोडफोड तथा आगजनी गरिदाँ उनीहरुको मनोबल खस्कीएको छ ।

जेनजी आन्दोलनका क्रममा सरकारी र निजी संरचनामा व्यापक आगजानी, तोडफोड र लुटपाट भएको थियो । चौधरी समुहको इलोक्ट्रोनिक कारखाना र मोटर्स सोरूम, भाटभाटेनीको विभिन्न आउटलेट, हिल्टन होटलमा ठुलो क्षति पुगेको छ । ठुला–ठुला कर्पोरेट कार्यालयमा आगजनी तथा तोडफोड भएका थिए ।

यता, आन्दोलनपछि बनेको अन्तरिम सरकारले पनि निजी क्षेत्रको मनोबल उकास्न सकेको छैन । यी यस्ता कारण निजी क्षेत्रबाट पनि सहयोग रकम जुट्न सकको छैन ।

विगतमा विभिन्न विपदमा सरकारलाई उच्च रकम सहयोग गर्दै आएका भाटभाटेनीका मालिक मिन बहादुर गुरुङले पनि यसपाली कुनै सहयोग घोषणा गरेका छैनन् । अन्य उद्योगी व्यवसायी, बैंक तथा वित्तिय संस्थाले पनि सहयोग घोषणा गरेका छैनन् ।

सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गरेर कोष स्थापना गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को ‘१९६०१००१०२०७०००४’ खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्