जेनजी आन्दोलनपछिको एक महिनामा साढे चार अर्बको निर्जीवन बीमा व्यापार, कुनको कति ?
काठमाडौं । एक महिनामै निर्जीवन बीमा कम्पनीहरुले साढे चार अर्बको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
जेनजी आन्दोलनपछिको एक महिना अर्थात् गत असोजमा निर्जीवन बीमकहरुले ४ अर्ब ६३ करोड १४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
असोजमा मात्रै कम्पनीहरुले २ लाख ९० हजार ३०५ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् । हाल १४ वटा ठुला र चार वटा लघु निर्जीवन बीमा कम्पनीहरु संचालनमा छन् ।
प्राधिकरणका अनुसार असोजमा ठुला निर्जीवन बीमा कम्पनीहरुले २ लाख ५६ हजार ९१२वटा बीमालेख बिक्री गरि ४ अर्ब ५२ करोड ८२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यता, लघु निर्जीवन बीमा कम्पनीहरुले भने १० करोड ३१ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।
चालु आवको तीन महिनामा भने कम्पनीहरुले १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
असोजमा सबैभन्दा ठुलो व्यापार सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले गरेको छ । कम्पनीले एकै महिना ६० करोड ३८ लाख रुपैयाँ बराबरको व्यवसाय भित्र्याएको छ ।
दोस्रो सूचीमा रहेको शिखर इन्स्योरेन्सले ५३ करोड ६३ लाख रुपैयाँ ब ीमा शुल्क आर्जन गरेको छ ।
यता, हिमालन एभरेष्ट पनि ४८ करोड ४८ लाख, सिद्धार्थ प्रिमियरले ४५ करोड १० लाख, आइजीआई प्रुडेन्सियलले ३६ करोड १४ लाख, नेकोले ३४ करोड ८२ लाख, नेपाल इन्स्योरेन्सले ३३ करोड ७९ लाख, युनाईटेड अजोडले ३० करोड ८१ लाख, ओरियण्टले १९ करोड ३४ लाख, सानिमा जिआइसीले १८ करोड ८१ लाख, राष्ट्रिय बीमा कम्पनीले ११ करोड ६० लाख, नेशनलले ७ करोड ८२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।
यता, लघु निर्जीवन बीमा तर्फ भने नेपाल माइक्रोले धेरै व्यवसाय भित्र्याएको छ । असोज महिनामा कम्पनीले २ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यता, ट्रस्ट माइक्राले पनि २ करोड ७४ लाख, प्रोटेक्टिभ माइक्रोले २ करोड ६४ लाख र स्टार माइक्रो २ करोड ११ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्षति उपर निर्जीवन बीमा कम्पनीमा ठुलो आकारको दावी पेश भएको छ । यता, गत असोज १८ गते नै अविरल वर्षाका कारण आएको बाढी पहिरोले पनि ठुला क्षति पुगेको छ । त्यसबापत पनि कम्पनीहरुमो दावी पर्ने क्रम बढ्दो नै छ ।
जेनजी आन्दोलन तर्फ २३ अर्ब २३ करोड बढी र बाढी पहिरोको क्षति उपर पौने चार अर्ब हाराहारीको दावी परेको कम्पनीहरुले जनाएका छन् । दावी भुक्तानीको चाप रहेका कम्पनीहरु व्यापार बढाउन तातिएका छन् ।













