जेनजी आन्दोलनपछि घर-गाडीको बीमा गर्नेको लहर, व्यापाक बढ्यो सम्पत्ति र मोटर बीमा व्यवसाय - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जेनजी आन्दोलनपछि घर-गाडीको बीमा गर्नेको लहर, व्यापाक बढ्यो सम्पत्ति र मोटर बीमा व्यवसाय



काठमाडौं । जेनजी आन्दोलनपछिको एक महिनामै निर्जीवन बीमा व्यापार उल्लेख्य वृद्धि भएको छ । एक महिनामै व्यवसायको आकार ५६ प्रतिशत बढेको देखिन्छ ।

नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

प्राधिकरणका अनुसार असोज मसान्तसम्म आइपुग्दा १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । यो गत भदौ मसान्तसम्मको तुलनामा भने ५५.८४ प्रतिशत धेरै हो । भदौ मसान्तसम्म कम्पनीहरुले ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए । भदौ मसान्तसम्मको तुलनामा भने निर्जीवन बीमा व्यापार ५५.८४ प्रतिशत बढेको छ ।

प्राधिकरणका अनुसार असोज महिनामा मात्रै कम्पनीहरुले ४ अर्ब ६३ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जबकि, भदौमा मात्रै कम्पनीहरुले ३ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका थिए । मासिक आँकडा अनुसार भने एक महिनाको व्यापार ग्रोथ १८.८६ प्रतिशत हुन आउँछ ।

आन्दोनको प्रभाव, घर र गाडीको बीमा गर्नेहरु व्यापाक बढे

गत भदौ २३ र २४ गतेको आन्दोलनपछि घर र गाडीहरुको बीमा गर्नेहरुको संख्या व्यापक मात्रामा बढेको देखिन्छ ।

पछिल्लो एक महिनामै मोटर बीमा व्यवसाय ८४.७४ प्रतिशत वृद्धि भएको छ । गत भदौ मसान्तसम्म मोटर बीमा मार्फत निर्जीवन बीमकले २ अर्ब ३० करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । तर, असोज मसान्तसम्म आइपुग्दा भने झन्डै दोब्बर बढेर ४ अर्ब २६ करोड १९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । असोजमा मात्रै कम्पनीहरुले १ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ बराबरको मोटर बीमा शुल्क आर्जन भएको छ । असोजमा मात्रै १ लाख ५० हजार ५९४ वटा मोटर बीमालेख जारी गरेका छन् ।

यता, सम्पत्तिको बीमा गर्नेहरु पनि उल्लेखय नै बढेका छन् । गत भदौ मसान्तसम्म सम्पत्ति बीमा मार्फत २ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । तर, असोज अन्तमा आइपुग्दा भने ३ अर्ब ५४ करोड ७६ लाख रुपैयाँ संकलन गरेका छन् । असोजमा मात्रै १ अर्ब ३ करोड ३३ लाख रुपैयाँ बराबरको सम्पत्ति बीमा गरेको देखिन्छ । असोजमा मात्रै कम्पनीहरुले ४३ हजार ८६० वटा सम्पत्ति बीमालेख बिक्री गरेका छन् ।

हाल निर्जीवन बीमा व्यवसायमा सबैभन्दा ठुलो योगदान मोटर बीमाको छ । मोटर बीमाले ३२.९७ प्रतिशत हिस्सा ओगटेको छ । दोस्रो ठुलो सम्पत्ति २७.४४ प्रतिशत हिस्सा छ । यी दुई बीमाले निर्जीवन बीमामा भने ६०.४२ प्रतिशत योगदान दिएका छन् । कुल व्यवसायमा आधा भन्दा बढी हिस्सा ओगटे पनि गत भदौको जेनजी आन्दोलनपछि थप आकर्षक बढेको देखिन्छ ।

सरकारले मोटर र सम्पत्ति बीमा अनिवार्य गरेका ेछ । सवारी साधान दर्ता गर्दा बीमा अनिवार्य र भवन निर्माण स्वीकृति, बैंक ऋण र ठुल संरचनामा सम्पत्ति बीमा अनिवार्य गरेको छ । यसकारण पनि निर्जीवन बीमामा मोटर र सम्पत्ति बीमाको पकड दह्रो नै छ । तर, गत भदौको जेनजी आन्दोलन र त्यसपछिका बाढी बितन्डापछि झन् यस्तो बीमा आकर्षक बढेको देखिन्छ ।

आन्दोलन तथा प्राकृतिक विपत्तिबाट ठुला ठुला घर तथा संरचना अनि सवारी साधानमा व्यापाक मात्रामा क्षति पुगेको थियो । प्राधिकरणकै आँकडा हेर्ने हो भने जेनजी आन्दोलनमा क्षति भएका सम्पत्ति बीमा अन्तर्गत मात्रै १९ अर्ब १ करोड ९३ लाख र मोटर बीमामा ३ अर्ब ४४ करोड २५ लाख रुपैयाँ बराबरको दावी परेको छ । यता, गत असोज १८ गतेको बाढी पहिरोको कै कारण पनि सम्पत्ति बीमामा ३ अर्ब १९ करोड ४९ लाख र मोटर बीमा अन्तर्गत ३ करोड ७४ लाख रुपैयाँ बराबरको दावी पेश भएका छन् ।

यद्यपि, सम्पत्ति र मोटर बाहेकका अन्य बीमा व्यापार पनि बढेको देखिन्छ । प्राधिकरणका अनुसार असोजमा इन्जिनियरिङ तथा ठेक्का बीमा ४६.९० प्रतिशत वृद्धि भई १ अर्ब ६० करोड ३६ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत भदौ मसान्तसम्म यस्तो बीमाको आकार १ अर्ब ९ करोड ६७ लाख रुपैयाँ रहेको थियो ।

यस्तै, कषि बाली बीमा पनि एक महिनामै ५२.११ प्रतिशत बढेर ४९ करोड ९३ लाख, हवाई बीमा ४६.४४ प्रतिशत बढेर ५१ करोड ६९ लाख, सामुन्द्रिक बीमा ३९.४९ प्रतिशत बढेर ७४ करोड ५ लाख र लघु निर्जीवन बीमा पनि ६२.३८ प्रतिशत बढेर २७ करोड ३२ लाख रुपैयाँ कायम भएको छ । यता, विविधि शीर्षकको बीमा व्यापार पनि ४८.९० प्रतिशत बढेण्र १ अर्ब ४८ करोड १९ लाख रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्