बत्ति नबलेर बन्द भएको विमानस्थल सुचारु, ४ घण्टापछि सुरु भयो उडान–अवतरण - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बत्ति नबलेर बन्द भएको विमानस्थल सुचारु, ४ घण्टापछि सुरु भयो उडान–अवतरण



काठमाडौं । शनिबार राती साढे ९ बजेबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुन: सञ्चालनमा आएको छ । बन्द भएको करीब ४ घण्टापछि विमानस्थलबाट उडान र अवतरण सुचारु भएको हो ।

विमानस्थलको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएपछि सबै उडान बन्द भएका थिए। धावनमार्गमा बिजुली ‘सट’ हुँदा यस्तो समस्या आएको हुनसक्ने अड्कल गरिएको छ ।

शनिबार बिहानदेखि विमानस्थलको धावनमार्गमा बिजुली बिग्रिएको थियो। तर मर्मत गर्ने प्रयास गरे पनि नबनेपछि करिब साँझ साढे ५ बजेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू रोकिएका थिए।

केही बेर अघिबाट उक्त समस्या सल्टिएपछि विमानस्थल पुन: सुचारु भएको हो । यद्यपि, के कारणले यो समस्या आएको हो भन्ने बारे अहिले नै स्पष्ट नभएको र त्यसमा थप अध्ययन गर्ने विमानस्थल प्रशासनले बताएको छ ।

लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमै ‘होल्ड’मा राख्नु परेको थियो भने कतिपय जहाजलाई अन्यत्रै पठाइएको (डाइभर्ट गरिएको) थियो । आन्तरिक उडानका जहाजलाई भने विमानस्थलमा रोकिएको थियो ।

‘एयर फिल्ड लाइटिङ’ भनेको अँध्यारो समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो पार्ने बत्ती हो ।


प्रतिक्रिया दिनुहोस्