हिमपहिरोमा बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार गर्न 'खोज तथा उद्धार अभियान' सञ्चालन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हिमपहिरोमा बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार गर्न ‘खोज तथा उद्धार अभियान’ सञ्चालन



काठमाडौं। सिम्रिक एयरको हेलिकप्टरले गत साेमबार (कार्तिक १८ गते) दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार गर्न ‘खोज तथा उद्धार अभियान’ सञ्चालन गरेको छ ।

तीन विदेशी आरोही र दुई जना नेपाली गाइड उक्त घटनामा बेपत्ता भएको रिपोर्ट सार्वजनिक भएपछि सिम्रिक एयरले उक्त अभियान सञ्चालन गरिएको हाे ।

उक्त अभियान करिब ५,५०० मिटर उचाइमा, कठोर मौसम र वातावरणीय अवस्थाबीच सम्पन्न गरिएको थियो। सिम्रिक एयरको हेलिकप्टर, जसको पाइलट-इन-कमाण्ड कप्तान सुरेन्द्र पौडेल थिए, साथै उद्धार प्राविधिक छिरिङ पाण्डे भोटे र उत्तम चौधरी पनि साथमा थिए।

उनीहरू RECCO उपकरणलगायतका आधुनिक खोज प्रविधिसँग सुसज्जित थिए र अन्तर्राष्ट्रिय उद्धार टोली कप्तान म्यानुएल मुनारी (पाइलट), मिकेले कुच्ची र ब्रुनो जेल्कलाई हवाई तथा प्राविधिक सहयोग प्रदान गरिरहेका थिए। यी सबै उच्च हिमाली पर्वत गाइड र उद्धार विशेषज्ञका रूपमा प्रसिद्ध व्यक्तिहरू हुन्।

उक्त टोलीमा चार जना IFMGA/NNMGA प्रमाणित शेर्पा गाइडहरू रहेकाे र जसले स्थलमा भएका कार्यहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाे कम्पनीले उल्लेख गरेकाे छ।

नोभेम्बर ६, र ७ दुई दिन निरन्तर हवाई खोज अभियान सञ्चालन गरिएको थियो र नोभेम्बर ८ को दिउँसो औपचारिक रूपमा समापन गरिएको थियो। यो खोज तथा उद्धार अभियानलाई विशेषज्ञहरूले RECCO SAR उपकरण प्रयोग गरेर गरिएको सम्भवतः पहिलो उच्च हिमाली उद्धार अभियानको रूपमा मानिरहेका छन्।

सञ्चालन आधार शिविर ना गाउँमा स्थापना गरिएको थियो, जहाँबाट रसद, प्राविधिक तयारी र इन्धन भर्ने कार्यहरू व्यवस्थापन गरिएको थियो। टोलीले काठमाडौं, इटाली र स्विजरल्याण्डका सहयोगी कर्मचारीहरूसँग समन्वय गरेर सञ्चालन अद्यावधिकहरू र मौसम अनुगमनको लागि निर्बाध सञ्चार सुनिश्चित गरेको कम्पनीले जनाएको छ ।

अभियानका क्रममा RECCO SAR हवाई प्रणाली र RECCO R9 स्थल खोज प्रणाली प्रयोग गर्दै धेरै पटक हवाई टोही तथा खोज उडानहरू गरिएका थिए। शेर्पा गाइडहरूसँग घनिष्ठ सहकार्य गर्दै टोलीले हिमपहिरो परेको स्थान पहिचान गर्न, कार्य क्षेत्र निर्धारण गर्न, र निरन्तर रूपमा ढलानको स्थायित्व र टोलीको सुरक्षाको मूल्याङ्कन गर्न सफल भएकाे छ।

उद्धार अभियान सिम्रिक एयर (हवाई परिवहन र खोज सञ्चालन), हेळी एभरेस्ट (रसद तथा सामग्री ढुवानी), AviA MEA International Rescue Team, र स्थानीय IFMGA/NNMGA शेर्पा गाइडहरूको संयुक्त प्रयासबाट सम्भव भएको कम्पनीले जनाएकाे छ।

साथै, यो अभियानलाई अर्थ सी-एयर (स्विट्जरल्यान्ड), RECCO AB (स्विडेन) र एशियन ट्रेकिङ (नेपाल) ले थप सहयोग प्रदान गरेकाे थियाे।

सिम्रिक एयरले यी संस्थाहरूसँग साझेदारी गर्दै नेपालका कठिन हिमाली भूभागमा उच्च हिमाली खोज, उद्धार, र पुनर्प्राप्ति अभियानहरू विगत केही वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्