सिटिजन्स र कृषि विकासको सञ्चालन नाफा ऋणात्मक, एभरेष्ट र प्राइम बने ‘टपर’
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरुको वित्तीय स्वास्थ्य पहिलेभन्दा विग्रिएकै छ । त्यसमा पनि बैंकको सञ्चालन नाफाले विशेष अर्थ राख्छ ।
तर विगत तीन महिनामा २० मध्ये ७ बैंकको मात्रै सञ्चालन नाफा बढेको देखिएको छ । सर्वाधिक सञ्चालन नाफा कमाउनेमा नबिल, ग्लोबल आइएमई र प्राइम कमर्शियल बैंक अगाडी देखिएका छन् । उनीहरुले २ अर्बभन्दा बढी सञ्चालन नाफा कमाएको देखिन्छ ।
त्यसपछि एभरेष्ट, एनएमबी, कुमारी, प्रभू र हिमालयन बैंकले १ अर्बदेखि २ अर्बको बीचमा यस प्रकारको नाफा आर्जन गरेका छन् । बाँकी १२ बैंकको नाफा भने १ अर्बभन्दा कम छ ।
तर बैंकहरुको चुक्ता पूँजीका आधारमा हेर्दा चाहीँ २० वटा ‘ट्रस्टी’हरुको बीचमा एभरेष्ट र प्राइम बैंक शीर्ष स्थनमा देखिन्छन् । एभरेष्टले चुक्ता पूँजीको १३ प्रतिशतभन्दा बढी सञ्चालन नाफा आर्जन गरेको छ । प्रइमले पनि चुक्ता पूँजीको १०.७० प्रतिशत नाफा कमाएको छ ।
स्यट्याण्डर्ड चार्डर्ड र नबिलले साढे ९ प्रतिशतभन्दा बढी कमाएका छन् भने एनएमबीले ८ प्रतिशत हाराहारी नाफा कमाएको छ । चुक्ता पूँजीको आधारमा हिसाब गर्दा चाहीँ नबिल चौँथो र ग्लोबल आइएमई आठौँ स्थानमा आउँछन् । यो अनुपातमा नेपाल एसबीआई र नेपाल बैंक ग्लोबलभन्दा अगाडी देखिएका छन् ।
अघिल्लो सालको तुलनामा २३१ प्रतिशतभन्दा ज्यादा अन्तरले सञ्चालन नाफा घटेको सिटिजन्स बैंक इन्टरनेशनल यो सूचीको अन्तिममा छ । उसको सञ्चालन नाफा अघिल्लो सालको तुलनामा साढे २ प्रतिशतभन्दा धेरै घटेको छ । कृषि विकास बैंकको नाफा पनि ऋणात्मक हालतमा गएको छ ।

यदि अघिल्लो सालको तुलनामा यो वर्ष नाफा घटवढ भएको आँकडा केलाउने हो भने चाहीँ फेरि नयाँ सूची तयार हुन्छ । यो सूचीमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सञ्चालन नाफामा सबैभन्दा ठूलो फड्को मारेको देखिन्छ । उसले गत सालको असोजको तुलनामा यो वर्ष करिब २०० प्रतिशतले नाफा बढाएको छ ।
त्यसपछि अर्को सरकारी संस्था नेपाल बैंकले पोहोरभन्दा ३३ प्रतिशत हाराहारीमा सञ्चालन नाफा बढाएको छ । सानिमा र प्राइम बैंकले पनि यी दुई सरकारी बैंकलाई पच्छ्याएका छन् । एनआईसी एसिया, ग्लोबल आइएमई र एभरेष्ट बैंकले पनि गत सालभन्दा बढी सञ्चालन नाफा आर्जन गरेको छन् । बाँकी १३ बैंक भने पोहोर असोजको तुलनामा यो साल सञ्चालन नाफा खुम्चिएको छ ।
भलै, उनीहरुको नाफाको अङ्क ‘ठूलो’ देखिएको किन नहोस् ।













