जेनजी आन्दोलनपछि साढे २३ अर्बको बीमा दावी: सिद्धार्थ एक्लैले दियो डेढ अर्ब, दुई वटाको शून्य भुक्तानी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जेनजी आन्दोलनपछि साढे २३ अर्बको बीमा दावी: सिद्धार्थ एक्लैले दियो डेढ अर्ब, दुई वटाको शून्य भुक्तानी



काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट करिब ७०० वटा घर तथा भवनमा क्षति पुगेको छ भने झन्डै २३ सय हाराहारीमा सवारी सधान जलेका छन् । आन्दोलनकै कारण निजी तथा सार्वजनिक सम्पत्ति, सवारी लगायतका अन्य संरचनाहरुमा पनि ठुलो मात्रामा क्षति पुगेको छ ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्क अनुसार हालसम्म साढे २३ अर्ब रुपैयाँ बराबरको क्षति भएको देखिन्छ । क्षति उपर निर्जीवन बीमा कम्पनीहरुमा २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ । प्राधिकरणका अनुसार यो तथ्याङ्क गत सोमबार (कात्तिक २४ गते) सम्मको हो । हालसम्म ३ हजार २४६ वटा दावी पेश भएको छ ।

हालसम्म कम्पनीहरुले कुल दावीको १५.६९ प्रतिशत रकम दावी भुक्तानी दिएका छन् । कम्पनीहरुले ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ बराबरको दावी भुक्तानी दिएका हुन् । तर, १९ अर्ब ७८ करोड ५० लाख रुपैयाँ भुक्तानी दायित्व बाँकी छ ।

आन्दोलनका कारण सम्पत्ति बीमा अन्तर्गत ६९३ बीमालेखमा १९ अर्ब ४ करोड ९ लाख रुपैयाँ बराबरको दावी परेको छ । त्यसमा कम्पनीहरुले २ अर्ब ९२ करोड ८६ लाख रुपैयाँ भुक्तानी दिएका छन् । अझै १६ अर्ब ११ करोड २३ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

यता, मोटर बीमा अन्तर्गत पनि ३ अर्ब ४७ करोड ७ लाख रुपैयाँ दावी पेश भएकोमा हालसम्म ६८ करोड ६१ लाख रुपैयाँ भुक्तानी दिएको देखिन्छ भने २ अर्ब ७८ करोड बढी रकम भुक्तानी हुन बाँकी छ ।

प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत ५४करोड ७५ लाख रुपैयाँ दावी परेकोमा ६ करोड २२ लाख रुपैयाँ मात्रै भुक्तानी दिएका छन् । यता, पहिवहन बीमा अन्तर्गत १ करोड ६८ लाख र अन्य बीमा अन्तर्गत ३९ करोड ३० लाख रुपैयाँ बराबरको दावी पेश भएको छ । यी दुई बीमा अन्तर्गत क्रमश: ४७ लाख र २३ लाख रुपैयाँ भुक्तानी भएको छ ।

क्षति उपर सबैभन्दा ठुलो दायित्व सिद्धार्थ प्रिमियर र ओरियण्टल इन्स्योरेन्स कम्पनीमा देखिन्छ । प्राधिकरणका अनुसार सिद्धार्थ प्रिमियरमा हालसम्म ५ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ र ओरियण्टलमा पनि ५ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ दावी परेको छ । यी दुई कम्पनीहरुले हालसम्म क्रमश: १ अर्ब ५७ करोड ५१ लाख र ४ करोड १९ लाख रुपैयाँ भुक्तानी दिएका छन् । सिद्धार्थले कुल दावीको २८.५६ प्रतिशत भुक्तानी दिएको छ । तर, ओरियण्टलको भने ०.७७ प्रतिशत मात्रै भुक्तानी भएको देखिन्छ ।

प्राधिकरणका अनुसार आइजिआई प्रुडेन्सियलमा २ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ, शिखरमा २ अर्ब ४२ करोड १ लाख, सगरमाथा लुम्बिनीमा १ अर्ब ५७ करोड २६ लाख र नेको इन्स्योरेन्समा १ अर्ब १६ करोड ६८ लाख रुपैयाँ बराबरको दावी परेको छ । हालसम्म यी कम्पनीहरुले क्रमश: ५५ करोड ४४ लाख, ६६ करोड २६ लाख, ८ करोड ७४ लाख र १९ करोड ३९ लाख रुपैयाँ बराबरको भुक्तानी दिएका छन् ।

यता, ९७ करोड १६ लाख रुपैयाँ दावी परेको हिमालयन एभरेष्टले भने २७ करोड ४३ लाख रुपैयाँ भुक्तानी दिइएको जनाएको छ ।

प्राधिकरणका अनुसार सानिमा जिआइसीले ७ करोड ६४ लाख, युनाइटेड अजोडले २ करोड ३८ लाख, एनएलजीले ६ करोड ५९ लाख, नेपाल इन्योरेन्सले ११ करोड ५७ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ५२ लाख, ट्रस्ट माइक्रोले २२ लाख, नेपाल माइक्रोले १२ लाख र स्टार माइक्रोले ३ लाख रुपैयाँ भुक्तानी दिएका छन् ।

तर, हालसम्म राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्सले एक रुपैयाँ पनि भुक्तानी गरेका छैनन् । प्राधिकरणका अनुसार राष्ट्रिय बीमा कम्पनीमा ५८ करोड ६९ लाख रुपैयाँ बराबरको २४७ वटा दावी पेश भएको छ । यता, नेशनल इन्स्योरेन्समा पनि ८ करोड ६३ लाख रुपैयाँ बराबरको २५ वटा दावी पेश भएको छ । तर, हालसम्म पनि यी दुई कम्पनीको दावी भुक्तानी शून्य छ ।


प्रतिक्रिया दिनुहोस्