११.५५ प्रतिशत बढ्यो अल्टिच्युड एयरको व्यापार, एकै वर्ष ५६ करोडको कारोबार
काठमाडौं । नेपालमा आन्तरिक हेलिकप्टर सेवा क्षेत्रमा सक्रिय अल्टिच्युड एयरले पछिल्लो वर्षमा प्रभावशाली व्यवसायिक सफलता हासिल गरेको छ ।
एक वर्षको अवधिमा नै कम्पनीले आफ्नो व्यापार दोहोरो अंकमा बढाएको छ । यो इक्रा नेपालले उपलब्ध गराएको कम्पनीको पछिल्लो प्रतिवेदनले यस्तो देखाएको हो ।
कम्पनीले सन् २०२५ मा ५६ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । यो गत वर्ष २०२४ को तुलनामा भने ११.५५ प्रतिशत बढी हो । गत वर्ष सन् २०२४ मा पनि कम्पनीले ५० करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीले अघिल्लो वर्ष २०२३ मा पनि ४७ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
सन् २०१५ मा स्थापना भएको अल्टिच्युड एयरले सन् २०१६ को अक्टोबरदेखि व्यावसायिक उडान सञ्चालन गर्दै आएको छ ।
हाल कम्पनीले तीनवटा एच१२५ एयरबस हेलिकप्टरमार्फत च्याटर फ्लाइट, माउन्टेन फ्लाइट, रेस्क्यू (उद्धार) फ्लाइट, मेडेभ्याक, धार्मिक तथा तीर्थयात्रा फ्लाइट, फिल्मिङ र चेजिङ फ्लाइटजस्ता विविध सेवा प्रदान गर्दै आएको छ ।
अल्टिच्युड एयरका अध्यक्ष निमानुरु शेर्पा हुन । उनी तीन दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा सक्रिय छन् । उनी नेतृत्वमा कम्पनीले देशकै आन्तरिक हेलिकप्टर सेवामा विश्वसनीय ब्रान्डको रूपमा आफ्नो पहिचान मजबुत पार्दै गएको छ ।
व्यवसायिक वृद्धिसँगै कम्पनीको नाफा पनि सन्तोषजनक नै देखिन्छ । अल्टिच्युड एयरले गत आर्थिक वर्षमा १८ प्रतिशत खुद नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । कम्पनीको कुल नगद सञ्चय २० करोड रुपैयाँ पुगेको छ । यो गत वर्ष भने १४ करोड ६० लाख रुपैयाँ मात्र थियो ।
सेवा क्षमता बढाउने उद्देश्यले कम्पनीले हालै नयाँ एच१२५ एयरबस हेलिकप्टर सञ्चालनमा ल्याएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकदेखि सो हेलिकप्टरले नियमित उडान भर्न थालेको कम्पनीले जनाएको छ ।
कम्पनीले निरन्तर रूपमा एभरेष्ट बेस क्याम्प, लुक्ला, मुक्तिनाथ र पोखरा क्षेत्रमा उडान सेवा सञ्चालन गर्दै आएको छ ।
कम्पनीले ८५ करोड ७ लाख रुपैयाँको कर्जा रेटिङ गराएको छ । यसमध्ये ६३ करोड १ लाख रुपैयाँ दीर्घकालीन कर्जा र २२ करोड ५ लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि रेटिङ गराएको हो ।













