लोमसको सिटामोल बजारबाट फिर्ता गर्न सरकारको निर्देशन, म्याद सकिन ४ महिना बाँकी - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लोमसको सिटामोल बजारबाट फिर्ता गर्न सरकारको निर्देशन, म्याद सकिन ४ महिना बाँकी



काठमाडौँ । औषधी व्यवस्था विभागले ‘सिटोफेन’ भन्ने ब्राण्ड नाम दिइएको औषधि बजारबाट फिर्ता गर्न उत्पादक कम्पनीलाई निर्देशन दिएको छ ।

उक्त औषधिमा मापदण्ड अनुसारको मात्रा नभएको र गुणस्तरहिन भएको भन्दै बजारबाट फिर्ता गर्न भनेको हो ।

सिटोफेनको ब्याच नम्बर ‘सीटी–११२३’ भएको औषधि गुणस्तरहिन भएको विभागले जनाएको छ । उक्त औषधि सन् २०२३ को अप्रिल (२०७९ चैतं)मा बनेर बजारमा पठाइएको थियो । यो औषधिको म्याद आगामी फागुनमा सकिँदै छ ।

विभागले म्याद सकिनुभन्दा चार महिना अघिमात्रै उक्त औषधिलाई बजारबाट फिर्ता झिकाउन निर्देशन दिएको छ । यस कारण औषधि उत्पादन भएको ३०–३१ महिनासम्म ‘हेरेर बस्ने’ र म्याद गुज्रिने बेलामा आएर प्रेस्क्रिप्सनसमेत रोक्ने विभागको निर्णयमा सन्देह गर्नसकिने जानकार बताउँछन् ।

यो औषधि लोमश फर्मास्युटिकल्सले उत्पादन गरेको हो । त्यो औषधिलाई ‘डिसइन्ट्रिगेशन टेस्ट’ गर्दा न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । ‘औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालाबाट परिक्षण गर्दा न्यून गुणस्तरको भएको पाइएको’ विभागले बताएको छ ।

विभागले ‘विक्री वितरण रोक्का गरी उक्त ब्याच नम्बरका औषधि बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न’ निर्देशन दिएको छ । यो औषधिको सिफारिस, विक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउन विभागले अनुरोध गरेको छ ।

लोमश फर्मास्युटिकल्स कम्पनीका मालिक नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजङ्ग पाण्डे हुन् ।


प्रतिक्रिया दिनुहोस्