नेपाल लाइफको बिजनेश ग्रोथ डबल डिजिटमा, कमायो साढे २१ करोड नाफा
काठमाडौं । जीवन बीमा बजारमा आफूलाई अब्बल कहलाएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साढे २१ करोड खुद नाफा कमाएको छ ।
कम्पनीले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
कम्पनीले गत साउनेदेखि असोज मसान्तसम्म आइपुग्दा २१ करोड ५५ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ४.९४ प्रतिशत बढी हो । जबकि, गत आवको पहिलो त्रैमासमा कम्पनीले २० करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको व्यापार दोहोरो अंकमा बढेसँगै खुद नाफा वृद्धि भएको हो । समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १३.१८ प्रतिशत बढेर १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । तर, गत आवको सोही अवधिमा भने यस्तो बीमा शुल्क आर्जन ११ अर्ब ८१ करोड १९ लाख बढी थियो ।
कम्पनीको कुल आम्दानी पनि २.१५ प्रतिशत वृद्धि भई १८ अर्ब ३६ करोड ४१ लाख रुपैयाँ पुगेको छ । यता, कुल खर्च भने ४.३० प्रतिशत बढेर १७ अर्ब २८ करोड ३७ लाख रुपैयाँ कायम भएको छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनीको कुल आम्दानी र खर्च क्रमश: १७ अर्ब ९७ करोड ७० लाख र १६ अर्ब ५७ करोड ४ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको खुद दावी भुक्तानी ३.६७ प्रतिशत बढेर १५ अर्ब ८१ करोड १५ लाख रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले महाविपत्ति कोषमा १ अर्ब ३४ करोड १८ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ९.५५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३८.९९ रुपैयाँ छ ।













