जेनजी आन्दोलनपछि पर्यटन क्षेत्रको ‘उदासी चित्र’: ‘दोस्रो संकट’तर्फ होटलहरु, कसरी सम्भव छ पुनरुत्थान ?
काठमाडौं । गत भदौ २३ र २४ गते देशभर एकाएक चर्किएको जेनजी आन्दोलनले नेपालका होटल तथा पर्यटन व्यवसायलाई पुन: असहज अवस्थामा पुर्याएको छ ।
कोभिड महामारी र आर्थिक मन्दीको लामो दबाबबाट बिस्तारै उठ्दै गरेको पर्यटन उद्योगले स्थानीय बजारमा आशा देखाउन थालेको थियो । तर, आन्दोलनले पुनरुत्थानको गतिलाई एकाएक रोकिदिएको छ । आन्दोलनकारीहरुले होटल हिल्टन, हायात, चन्द्रागिरी हिल्स लगायतका थुप्रै पर्यटन क्षेत्रका संरचनामा आगजानी तथा तोडफोड गरेका छन् । कोभिड महामारीको पहिलो धक्का पार नपाउँदै पर्यटन क्षेत्र दोस्रो झड्का झेल्न बाध्य छन् ।
आन्दोलनका बेला मुख्य होटलहरूमा तोडफोड, लुटपाट र आगजनी हुँदा पर्यटन क्षेत्र नै धरासायी बनेको देखिन्छ । पर्यटनजस्तो संवेदनशील उद्योगमा राजनीतिक अस्थिरता, बजारको अनिश्चितता र पर्यटक आवागमनको कमीले प्रभावित छ । पर्यटन क्षेत्रमा अहिले ठूलो संकुचन देखिएको छ । आन्दोलनका बेला होटल, रेष्टुरेन्ट, यातायातदेखि व्यवसायिक सेवा श्रृंखलासम्म अवरुद्ध भएछन् । जसले पर्यटन क्षेत्र नै संकटतर्फ धकेलिएको देखिन्छन् ।
विशेषगरि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत होटल तथा पर्यटन समूह अन्तर्गतका कम्पनीहरुले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको छ । अधिकांश होटलहरुले नोक्सानी व्यहोरेका छन् । उनीहरुको व्यापारको आँकडा पनि ऋणात्मक छ । हाल होटल तथा पर्यटन समूहका ७ वटा कम्पनीहरु नेप्सेमा सूचीकृत छन् । तीमध्ये ६ वटाको वित्तीय विवरण प्राप्त छ ।
वित्तीय विवरण अनुसार कम्पनीहरुको औसत व्यापार नै दोहोरो अंकमा घटेको छ । तीन महिनामा ती होटलहरुले १ अर्ब २८ करोड ३ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । तर, यो गत आवको तुलनामा भने १३.०७ प्रतिशत कमी हो । गत आवको पहिलो त्रैमासमा कम्पनीहरुले १ अर्ब ४७ करोड २८ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए । यसरी व्यापारमा कमी आएपछि कम्पनीहरुको नाफामा पनि ठुलो गिरावट आएको छ । धेरै होटलहरु नोक्सानीमा देखिन्छन् ।
सोल्टी होटल एक्लै नाफामा, अरू सबै घाटामा
जेनजी आन्दोलनको व्यापक अवरोधका बीच पनि सोल्टी होटल मात्र नाफामा देखिएको छ । होटलले तीन महिनामा १२ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । तर, यो नाफा पनि गत वर्षको तुलनामा भने ८.३१ प्रतिशत घटेको हो ।
असहज परिस्थतिमा पनि सोल्टीले व्यापार भने बढाएको छ । चालु आवको तीन महिनामा होटलको व्यापार ६२ करोड ७९ लाख रुपैयाँ पुगेको छ । जबकि, गत आवको सोही अवधिमा ६१ करोड ९९ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । तर, सोल्टी बाहेकका सूचीकृत सबै होटलहरूको अवस्था नाजुक छ ।
तारागाउँ रिजेन्सी होटल पूर्ण रुपमा बन्द
जेनजी आन्दोलनकै क्रममा प्रत्यक्ष क्षति बेहोरेको तारागाउँ रिजेन्सी होटल (होटल हायात) अहिले पूर्ण रूपमा बन्द छ । होटलले तीन महिनामा २ करोड ३७ लाख नोक्सानी व्यहोरेको छ । जबकि, गत आवको सोही अवधिमा भने ४ कराड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको व्यापारमा आएको गिरावटले नै छ । होटलको व्यापा ३७.८५ प्रतिशत खुम्चिएर १७ करोड १० लाखमा झरेको छ । गत आवको पहिलो तीन महिनामा भने २७ करोड ५२ लाख रुपैयाँ बढीको व्यापार गरेको थियो ।
आन्दोलनकारीको आक्रमणबाट हायातको भौतिक संरचनादेखि उपकरणसम्म ठूलो क्षति पुगेको छ । भदौ २४ गतेदेखि नै होटल बन्द छ । अहिले पूर्ण मर्मत–सम्भारमा छ । २५ वर्षदेखि देशको पर्यटन पहिचान निर्माणमा योगदान गर्दै आएको हायातको यस्तो अवस्था पर्यटन उद्योगका लागि खिन्न बनाउने दृश्य बनेको छ ।
सिटी, ओरियण्टल, चन्द्रागिरीदेखि कालिञ्चोक दर्शनसम्मको अवस्था उस्तै
होटल तथा पर्यटन समूहअन्तर्गतका अन्य कम्पनीहरू पनि नोक्सानीकै चलिरहेका छन् । आन्दोलनकै कारण सिटी होटल, ओरियण्टल, चन्द्रागिरी हिल्स् र कालिञ्चोक दर्शन घाटामा पुगेका छन् ।
चन्द्रागिरी हिल्स पनि १ करोड २४ लाख रुपैयाँ घाटामा देखिन्छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले २ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, जेनजी आन्दोलनका क्रममा ठुलो क्षति व्यहोरेको चन्द्रागिरी घाटा पुगेको छ । व्यापारमा आएको दोहोरो अंकको गिरावटसँगै कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो । समिक्षा अवधिमा कम्पनीको व्यापार २९.१८ प्रतिशत घटेर १३ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ५८ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
जेनजी आन्दोलनका क्रममा चन्द्रागिरी हिल्सको बटम स्टेशनमा तोडफोड, लुटपाट तथा आगजानी भएको थियो । त्यसबेला भौतिक संरचनाहरु तथा केबलकारका उपकरणहरुमा क्षति पुगेको थियो । त्यसपश्चात सम्पूर्ण व्यवसायिक गतिविधि तथा कारोबार पूर्ण बन्द भएको थियो । हाल कम्पनीले आगलगानी तथा तोडफोडबाट क्षति पुगेका भौतिक संरचना, सामग्री तथा उपकरणहरुको बीमा सर्भेयर तथा सम्वन्धित प्राविधिकहरुबाट परीक्षण गराई लगत तयार गरिरहेको छ । केवलकार भ्रमणमा तथा रिसोर्टमा आउने पर्यटकहरुको संख्या पनि वृद्धि भइरहेको थियो भने आर्थिक गतिविधि पनि सकारात्मक वृद्धि भइरहेको थियो । तर, जेनजी आन्दोलनले नकारात्मक तर्फ धकेलिदिएको कम्पनीले जनाएको छ । पर्यटक आगमनको मुख्य सिजनमै संचालन ठप्प हुँदा कम्पनीको आम्दानीमा ठुलो गिरावट आएको आँकलन छ ।
यस्तै, ओरियण्टल होटल (र्याडिसन) पनि २ करोड ९५ लाख रुपैयाँ नोक्सानीमा छ । होटलको व्यापारको आकार पनि १०.७९ घटेको छ । तीन महिनामा होटलले २१ करोड ९७ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । तर, यो गत वर्षको तुलनामा भने २९.१८ प्रतिशत कमी हो ।
यता, कालिञ्चोक दर्शन पनि ३३ लाख ८६ हजार रुपैयाँ घाटामा छ । यद्यपि, कम्पनीको व्यापार भने ८१.२६ प्रतिशत वृद्धि भएको देखिन्छ । तीन महिनामा कालिञ्चोकले ७२ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।
गत भदौको जेनजी आन्दोलनकै कारण व्यावसायमा प्रतिकुल असर परेको सीटी होटलले जनाएको छ । हाल ५ करोड ५६ लाख रुपैयाँ घाटामा चलिरहेको सीटी होटलको व्यापार पनि १२.०३ प्रतिशत घटेको छ । तीन महिनाको कुल व्यापार ११ करोड ५५ लाख रुपैयाँमा सिमित भएको छ ।
देशभरकै होटलहरुको हालत उस्तै, पर्यटन क्षेत्र थप प्रभावित हुने
सूचीकृत होटलहरुको मात्र अवस्था यस्तो होइन । देशभर सञ्चालनमा रहेका साना–ठूला होटल, ट्रेकिङ एजेन्सी, रेष्टुरेन्ट, ट्राभल सेवा, होमस्टे र एड्भेन्चर कम्पनीहरू सबैले उस्तै संकट झेलिरहेका छन् । पर्यटनजन्य आर्थिक गतिविधि पनि सुस्त छ ।
देशमा बेलाबखत भइरहने आन्दोलन तथा त्यसबाट सिर्जना हुने प्रतिकुल परिस्थति र अस्थिर राजनैतिक वातावरणका कारण समग्र अर्थतन्त्रमा प्रभाव पारेको छ । राजनीतिक अस्थिरता, आन्दोलनको पुनरावृत्ति, पर्यटकीय पूर्वाधारमा सरकारको न्यून लगानी, निर्माणाधीन संरचनामा ढिलासुस्ती लगायतका कारणले पर्यटन गतिविधिमा प्रत्यक्ष–अप्रत्यक्ष असर परिरहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।
आन्दोलनकै क्रममा नेपाल आएका केही विदेशी पर्यटक घाइते भएका थिए । केहीले ज्यानै गुमाउनु परेको थियो । यस्ता घटनाहरुले अन्तर्राष्ट्रिय बजारमा विदेशी पर्यटकका लागि ‘नेपाल सुरक्षित छैन’ भन्ने सन्देश गएको व्यवसायीको मूल्यांकन छ । यही कारण भविष्यमा पर्यटन क्षेत्र थप प्रभावित हुने वित्तीय विवरणमा उल्लेख छ ।
अहिले अवस्था सामान्य बने पनि फेरि पुरानो लयमा फर्कन समय लाग्ने पर्यटन व्यवसायीहरु बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा फैलिएको नकारात्मक सन्देशले आगामी महिनासम्म पनि पर्यटन आगमन सुस्त बनाउने चिन्ता व्यवसायीमा छ । कोभिड, आर्थिक शिथिलता, राजनीतिक उथलपुथल र जेनजी आन्दोलनको असहज परिस्थतिका बाबजुद यस क्षेत्रलाई पुन: फुर्तिलो बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ । सामुहिक प्रयासबाट नै नेपाली पर्यटनलाई लयमा फर्काउन सकिने व्यवसायीहरु बताउँछन् ।













