ऋणपत्र जारी गर्दै लक्ष्मी सनराइज बैंक र आईसीएफसी फाइनान्स
काठमाडौं । लक्ष्मी सनराइज बैंक र आईसीएफसी फाइनान्सले ऋणपत्र ल्याउने भएका छन् ।
दुबै कम्पनीले ऋणपत्र ल्याउने प्रक्रिया स्वरूप नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर ऋणपत्र ल्याउने अनुमति मागेका हुन् ।
लक्ष्मी सनराइज बैंकले ३ अर्ब रुपैयाँबराबरको ‘लक्ष्मी सनराइज डिबेन्चर–२०९२’ र आईसीएफसी फाइनान्सले ५० करोड रुपैयाँबराबरको ‘आईसीएफसी फाइनान्स डिबेन्चर–२०८९’ ल्याउन अनुमति मागेका छन्।
जसअनुसार बैंकले १० वर्षे अवधिको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। यो ऋणपत्रको बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ।
आईसीएफसी फाइनान्सले ७ वर्षे अवधिको १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख इकाइ ऋणपत्र जारी गर्नेछ। यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्। यो ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।













