जेनजी आन्दोलनको कहर: दावी भुक्तानीको चापले बिग्रियो निर्जीवन बीमाको ‘ब्यालेन्स सिट’, २ वटा बाहेक सबै घाटामा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जेनजी आन्दोलनको कहर: दावी भुक्तानीको चापले बिग्रियो निर्जीवन बीमाको ‘ब्यालेन्स सिट’, २ वटा बाहेक सबै घाटामा



काठमाडौं । जेनजी आन्दोलन र त्यसपछि प्राकृतिक विपत्तिका कारण अहिले निर्जीवन बीमा कम्पनीहरु ठुलो आर्थिक भारमा छन् । यतिबेला दावी भुक्तानीका चापमा छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र असोज १८ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोको क्षति उपर अर्बौँ दावी दायित्व छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार आन्दोलनका क्षति उपर २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ बराबरको दावी परेको छ । यता, गत असोज १८ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोको क्षति उपर पनि निर्जीवन बीमा कम्पनीरुमा ३ अर्ब ७८ करोड ४०लाख रुपैयाँ बराबरको दावी परेको छ ।

बाढी पहिरोको क्षति उपर दावी परेपनि हालसम्म कम्पनीहरुले भुक्तानी गरेका छैनन् । तर, जेनजी आन्दोलनको क्षति उपर भने ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ बराबरको भुक्तानी दिएका छन् । भुक्तानीको उच्च चापमा बढेसँगै कम्पनीहरु घाटामा पुगेको छन् । हाल ठुला निर्जीवन बीमा कम्पनीहरु २ अर्ब नोक्सानीमा छन् ।

कम्पनीहरुले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीहरु औसत १६ करोड ६५ लाख रुपैयाँ नाफामा थिए । तर, चालु आवको आन्दोलन र प्राकृतिक विपत्तिको क्षति उपरको दावी भुक्तानी बढेपछि २ वटा कम्पनी बाहेक सबै घाटामा छन् ।

दावी भुक्तानीको चाप न्यून रहेका प्रभू र नेशनल इन्स्योरेन्स कम्पनी मात्रै नाफामा छन् । प्रभू इन्स्योरेन्सले तीन महिनामा ६ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । यता, नेशनल लाइफले पनि ३ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ ।

हाल प्रभूमा जेनजी आन्दोलनको क्षति उपर २१ करोड र बाढी पहिरो अन्तर्गत साढे १० करोड हाराहारीको मात्रै दावी परेको प्रारम्भिक आँकडा छ । यता, नेशनल इन्स्योरेन्समा भने करिब ३९ करोड १३ लाख रुपैयाँ बराबरको दावी परेको छ ।

विवरण अनुसार दावी भुक्तानीको ठुलो भार रहेका सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीक २९ करोड ८५ लाख रुपैयाँ नोक्सानीमा छ । कम्पनीमा आन्दोलन र बाढी पहिरोको क्षति उपर ६ अर्ब बढीको दावी परेको छ । हालसम्म कम्पनीले आन्दोलन तर्फको १ अर्ब ५७ करोड बढी भुक्तानी दिएको छ । यता, ओरियण्टल इन्स्योरेन्स पनि २८ करोड ४८ लाख रुपैयाँ घाटामा छ । ओरियण्टलमा क्षति उपर ५ अर्ब ६५ करोड बढीको भुक्तानी दायित्व छ ।

यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले पनि २६ करोड ७३ लाख, आइजी प्रुडेन्सियलले २० करोड ७६ लाख, सानिमा जिआइसी २० करोड, शिखर १५ करोड ८५ लाख, युनाइटेड अजोड १५ करोड ११ लाख, हिमालयन एभरेष्ट १० करोड ९३ लाख र एनएलजी इन्स्योरेन्सले १० करोड १० लाख रुपैयाँ घाटा व्यहोरेका छन् ।

विवरण अनुसार राष्ट्रिय बीमा कम्पनी ९ करोड ९५ लाख, नेपाल इन्स्योरेन्स ९ करोड ६३ लाख र नेको इन्स्योरेन्स ८ करोड ३१ लाख रुपैयाँ नोक्सानीमा छन् । प्राधिकरणका अनुसार हालसम्म आइजिआई प्रुडेन्सियल र शिखरमा झन्डै ३–३ अर्ब, सलिकोमा १ अर्ब ६९ करोड बढी, नेकोमा १ अर्ब २८ करोड, हिमालयन एभरेष्टमा १ अर्ब ३४ करोड, युनाइटेड अजोड १ अर्ब २४ करोड, एनएलजीमा १ अर्ब १४ करोड, सानिमा जिआइसी ९४ करोड ८६ लाख रुपैयाँ बराबरको दावी परेको छ ।

कुन कम्पनीको नाफा–घाटा कति ?


प्रतिक्रिया दिनुहोस्