नेको इन्स्योरेन्सले ल्यायो ‘एक्सक्लुसिभ’ प्रडक्ट, विदेश पढ्न जाने विद्यार्थीलाई सहयोगी
काठमाडौँ । विदेश पढ्न जाने विद्यार्थीका लागि विशिष्ट प्याकेज सहित नेको इन्स्योरेन्सले एउटा ‘एक्सक्लुसिभ’ प्रडक्ट ल्याउने भएको छ । यो प्रडक्ट यथाशिघ्र ‘लञ्च’ गर्न लागिएको नेको इन्स्योरेन्सका नायब कार्यकारी अधिकृत पवन थापाले जानकारी दिए ।
‘स्टुडेन्ट इन्टरनेशनल हेल्थ प्लस बेनिफिट’ नामको प्रडक्ट लञ्च गर्न लागेको हो । यसले विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि विशेष सहायता गर्ने छ ।
खासगरी अस्ट्रेलिया पढ्न जाने विद्यार्थीको यहाँ बुवा आमा वा मुख्य अभिभावकको देहावशान भएको अवस्थामा विद्यार्थीलाई पढाइको निरन्तरता दिन सघाउने छ । यो प्रडक्टले नेपालमा भएका मुख्य अभिभावक अर्थत् यताबाट खर्च पठाउने व्यक्तिको देहवशान भएको अवस्थामा तत्काल नेपाल आउन, पढाइ जारी राख्न र विदेशमै पनि विद्यार्थी विरामी हुँदा उपचार गर्न सघाउने छ ।
यस योजना अनुसार ५० हजार अमेरिकी डलर बराबरको ‘ट्युशन फी प्रोटेक्शन’, २५०० डलर बराबरको बसोबास खर्च, २५ हजार डलर बराबरको अस्पताल खर्च र २५ हजार डलर सम्मको व्यक्तिगत दुर्घटनालाई कभर गर्ने गरी यो प्रडक्ट डिजाइन गरिएको डेपुटी सीईओ थापा बताउँछन् । यी कभरेज स्वयम् विद्यार्थीको हकमा हो ।
यस बाहेक ती विद्यार्थीको अभिभावकको मृत्यु भएका कारण नेपाल आउनु पर्यो भने २ हजार डलरसम्मको ‘ट्राभल एसिस्टेन्स’ वार्षिक १ लाख ५० हजार रूपैयाँसम्मको कर्जा भुक्तानी (ईएमआई) सहायता र अर्को ५० हजार डलरसम्मको अभिभावकको लागि दुर्घटना बीमा पनि कभर गर्ने भएको छ ।
‘विद्यार्थी पढ्न गएका छन्, तर नेपालमा पैसा कमाउने र पठाउने मुख्य अभिभावककै मृत्यु भयो भने ती विद्यार्थीले पढाई अधुरै छाड्नुपर्ने हुनसक्छ’, थापा भन्छन्, ‘त्यस्तो अवस्थामा विद्यार्थीलाई पढाइ निरन्तरता दिन वित्तीय सहायता आवस्यक हुन्छ ।’
अभिभावक कुनै दुर्घटनामा परेर अपाङ्गता भएको अवस्थामा पनि यो बीमा पोलिसीले सहायता गर्ने छ । यसरी अभिभावकको मृत्यु वा अपाङ्गता भएको अवस्थामा पो पोलिसीले वित्तीय सहायता गर्ने कम्पनीले जनाएको छ । ‘मान्छे विदेशमा हुन्छ । यहाँ बुबा आमाको मृत्यु भयो भने किरिया कर्मको लागि नेपाल आउनु पर्ने पनि हुनसक्छ । त्यसका लागि पनि यात्रा सहायता भनेर २ हजार डलरसम्म दिइने छ’, थापा भन्छन्, ‘यो पैसा अवाइ टिकटका लागि हो ।’

यसरी एक जना विद्यार्थी नेपालबाट बाहिर पढ्न गएसकेपछि उसको पढाइ नसकिने बेलासम्म कुनै पनि अप्ठेरो नहोस् भनेर यो प्रडक्ट डिजाइन गरेको थापाले बताए ।
यो सबै कामका लागि जम्मा वार्षिक प्रिमियम १६० डलर अर्थात् अहिलेको भाउमा २३ हजार रुपैयाँ जति तिर्नुपर्छ । यति पैसा तिर्दा थुप्रै किसिमको सुरक्षण प्राप्त हुने भएकाले पनि विदेशमा पढ्न जाने विद्यार्थीहरुबीच यो प्रडक्ट असाध्यै लोकप्रिय हुनसक्ने आशा कम्पनीको छ ।
‘यस्तो प्रडक्ट नेपालमा अरु कुनै पनि बीमा कम्पनीले ल्याएको छैन, यो ज्यादै राम्रो योजना हो’ थापाले भने ।













