नेपाल वायुसेवा निगमको कार्यबाहक महाप्रवन्धकमा श्रेष्ठ
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई कार्यबाहक महाप्रवन्धकको जिम्मेवारी दिएको छ ।
मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि पर्यटन मन्त्रालयले औपचारिक पत्राचार गरी उनलाई पद सम्हाल्न तयारी गरिरहेको छ ।
यसअघि निमित्त महाप्रवन्धक जनकराज कालाखेतीले आर्थिक अधिकार नपाएको कारण ‘काम गर्न नसक्ने’ भन्दै जिम्मेवारी फिर्ता दिएका थिए । त्यसपछि नेतृत्व खाली बनेको थियो । त्यसपछि रिक्त पदमा श्रेष्ठलाई जिम्मेवारी तोकिएको हो ।
श्रेष्ठले अब महाप्रबन्धकका सबै कार्यकारी अधिकार प्रयोग गर्न पाउनेछन्। अवकाशप्राप्त पूर्व उपनिर्देशक रहेका श्रेष्ठ पछिल्ला वर्षमा निगमको सञ्चालक समिति सदस्यका रूपमा पनि सक्रिय थिए ।
सरकारले स्थायी महाप्रबन्धक चयनका लागि बनाएको सिफारिस समिति छुट्टै प्रक्रियामा अघि बढ्नेछ ।













