अर्थतन्त्र चुनौतीपूर्ण मोडमा, स्थिर कर नीति आवश्यक : अध्यक्ष पाण्डे
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले कर प्रणालीमा तत्काल सुधार आवश्यक रहेको बताएका छन् ।
बुधबार परिसंघले काठमाडौंमा आयोजना गरेको ‘राजस्व प्रणालीमा सुधार: सार्वजनिक–निजी संवाद’ कार्यक्रममा उनले अर्थतन्त्र चुनौतीपूर्ण मोडमा पुगेको र स्थिर कर नीति आवश्यक भएको बताए ।
पाण्डेका अनुसार हाल बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भए पनि बजारमा माग कमजोर भएकाले उद्योगहरू न्यून क्षमतामा सञ्चालनमा छन् । बैंकमा पैसा निष्क्रिय हुनु अर्थतन्त्रका लागि सकारात्मक संकेत नभएको उनले बताए ।
उनी कारकले लगानी अभिवृद्धि नगरी आर्थिक सूचकहरू सुधार नहुने भएकाले कर प्रणालीले लगानीकर्ताको निर्णयमा प्रभाव पार्ने र नीति स्थायित्व नहुँदा लगानी बढ्न नसक्ने उल्लेख गरे । पाण्डेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि कर सुधारलाई प्राथमिकतामा राखेको जानकारी दिए ।













