सर्वाधिक कर बुझाउनेको शीर्ष सूचीमा नबिल, ग्लोबल र प्रभू बैंक, कुन बैंकले कति तिरे ?
काठमाडौं । तीन महिनामा वाणिज्य बैंकहरुले सरकारलाई साढे ५ अर्ब बढी कर बुझाएका छन् । बैंकहरुले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरवणले यस्तो देखाएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने पर्छ । बैंकहरुले करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि आउनेमा ३० प्रतिशत आयकर सरकारलाई बुझाउनु पर्ने प्रवाधान छ ।
सोही प्रावधान अनुसार गत साउनदेखि असोज मसान्तसम्म आइपुग्दा बैंकहरुले ५ अर्ब ७४ करोड ३६ लाख २२ हजार रुपैयाँ आयकर बुझाएका हुन् । यद्यपि, यो गत आवको तुलनामा भने १३.९९ प्रतिशत कमी हो । बैंकहरुको नाफा घटेसँगै आयकारमा पनि गिरावट आएको हो । गत आवको पहिलो त्रैमासमा भने ६ अर्ब ६७ करोड ८१ लाख ५६ हजार रुपैयाँ आयकर बुझाएका थिए ।
११ वटा बैंकको आयकर घटेको छ भने दुई वटाको ऋणात्मक देखिन्छ । तर, ७ वटाको मात्रै वृद्धि भएको देखिन्छ ।
समिक्षा अवधिमा सबैभन्दा धेरै आयकर नबिल बैंकले तिरेको छ । नबिलले तीन महिनाको नाफाबाट सरकारलाई ७२ करोड ५२ लाख रुपैयाँ आयकर बुझाएको हो । दोस्रो धेरै तिर्नेमा ग्लोबल आइएमई बैंक छ । बैंकले ६३ करोड ४ लाख रुपैयाँ बुझाएको छ ।
यस्तै, प्रभूले ६१ करोड ३८ लाख, प्राइमले ५४ करोड ५ लाख, एभरेष्टले ५० करोड ५४ लाख, एनएमबि ३९ करोड २५ लाख, कुमारीले ३७ करोड ६ लाख, हिमालयनले ३३ करोड ९३ लाख, नेपाल बैंकले ३२ करोड ८८ लाख, स्ट्याण्डर्ड चार्टर्डले २९ करोड ६६ लाख, राष्ट्रिय वाणिज्य बैंकले २५ करोड ६६ लाख र नेपाल एसबिआईले २१ करोड ४९ लाख रुपैयाँ आयकर बुझाएका छन् ।
यता, सानिमा बैंकले पनि तीन महिनाको नाफाबाट १७ करोड ९४ लाख, माछापुच्छ्रेले १७ करोड ९१ लाख, सिद्धार्थले १५ करोड ९१ लाख, लक्ष्मी सनराइजले ११ करोड २१ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५करोड ३७ लाख, एनआइसी एशियाले ५ करोड २३ लाख रुपैयाँ बुझाएका छन् ।
तर, घाटामा रहेका कृषि विकास बैंकको आयकर ६ करोड ८८ लाख रुपैयाँ ऋणात्मक छ । यता, सिटिजन्स बैंकको आयकर पनि १३ करोड ८६ लाख रुपैयाँ ऋणात्मक देखिन्छ ।













