एउटा उद्यमी सिनेमा बनाएर कसरी फुरुङ्ग पर्न सक्छ ? शेखर गोल्छासँग सिनेसंवाद (भिडियो)
काठमाडौँ । भदौ अन्तिम साताको जेनजी आन्दोलनमा देश नै प्रताडित भयो । राजनीतिक संक्रमण चुलियो । स–साना विद्यार्थीदेखि युवाहरुको रगत बग्यो । अर्कातिर प्रहरी निरिह हुन पुग्यो र दण्डहिनता बढ्यो । त्यसैबेला दशैँतिहारजस्ता ठूला पर्व मनाएपछि मान्छेहरु काममा फर्किन थाले । हो, त्यही मौका छोपेर एउटा सिनेमा रिलिज भयो— परान ।
कर्मभूमीको खोजिमा धमाधम जन्मभूमी छाड्ने दशौँ लाख नेपालीको कथालाई एउटै कहानीमा बाँधेर बुनिएको त्यो सिनेमा कयौँ थुङ्गा फूललाई एकै धागोमा बुनेर बनाइएको तिहारको मालाजस्तै छ । अहिले काठमाडौँ र देशैभर यही चलचित्रको चर्चा चुलिएको छ । रोजगारी गुमाएका, सम्पत्ती गुमाएका र आशाहिन भएका मलीन अनुहारहरुमा सिनेमा हेर्ने चाह बढेको छ ।
‘नेपाली समाजको वास्तविक कथालाई स्तरीय रुपमा देखाउन सकियो भने त्यसको बजार छ भन्ने मलाई लाग्यो र यो फिल्म बनाइयो’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका शेखर गोल्छाले अर्थपथ टीमसँग भने । बच्चादेखि बूढासम्मलाई चुम्बकले काँटी तानेझैँ हलमा तानिरहेको यो फिल्म ‘बाइस्कोप सिनेमा’ले बनाएको हो । यो कम्पनीमा गोल्छा र प्रिज्मा एड्भरजाइजिङका रन्जित आचार्यको लगानी छ ।
कम्पनी खोलेको करीब ९ वर्ष पछि बल्ल पहिलो सिनेमा रिलिज गर्न पाएको खुसी बेग्लै छ । नेपालमा बजाजदेखि सामसुङ, हिमस्टारसम्मका ब्राण्ड बेच्ने गोल्छा जेनजी आन्दोलनमा आफ्नो घर जल्दा जति दु:खी थिए, त्योभन्दा बढी दु:खी अहिलेको सरकारले आफ्नो घर जलाउनेहरु विरुद्ध उजुरीसमेत लिन मानेन भन्नेमा थिए । तर उनको त्यो दु:खको घाउमा मल्हम लगाउने काम पनि यो सिनेमाले गरेको छ ।
अर्थपथले उनै गोल्छासँग ‘फिल्मसंवाद’ गरेको छ । यस क्रममा गोल्छाले भनेका छन्— ‘एउटा ‘सेट फर्मुला’मा नगइकन, अलिकति अर्कै किसिमले यो फिल्म बनायौँ। अब यसको सफलता वा असफलता जे भएता पनि, आफूले भन्न सक्ने र आफूले विश्वास गर्ने कथा हामीले देखाऊँ भन्ने उद्देश्यले यो फिल्म बनाएका हौँ।’ कुराकानीको सम्पादित अंश यस्तो छ :
तपाइँले यो फिल्म बनाउनु अघि त्यसको कथावस्तु हेरेर लगानी गर्नुभएको हो कि कसैले भनेको भरमा लगानी गर्न राजि हुनु भएको हो ?
बाइस्कोप सिनेमा भन्ने कम्पनी दर्ता भएको आठ–नौ वर्ष भइसक्यो । हरेक वर्ष कमसेकम ३–४ वटा कथावस्तु (स्क्रिप्ट)हरू हामीले हेर्यौँ। तर मलाई र रन्जित जीलाई यसमा चित्तै नबुझेर हामीले कुनै पनि फिल्ममा लगानी गरेका थिएनौँ। जब यो स्क्रिप्ट आयो, त्यसमा मेरो मनका अन्तरकुन्तरमा खेलिरहेका केही कुरा फेला पारेँ ।
जतिबेला मैले निजी क्षेत्रको, नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको हैसियतले नेतृत्व गरेको थिएँ, त्यसबेलादेखि मैले सधैँ बोल्दै गरेको तीन–चार वटा कुराहरू यो स्क्रिप्टमा देखें। र मलाई के लाग्यो भने यसमा लगानी गर्दा मैले बोल्दै गरेको कुरा रिफ्लेक्ट हुन्छ । त्यसो भए, यसले कति पैसा कमाउँछ र कति कमाउँदैन, यसको फिजिबिलिटी के हुन्छ भन्दा पनि, मैले बोलिरहेको कुरा यसले रिफ्लेक्ट गरिरहेको छ भनेर मैले यसमा लगानी गरें।
उदाहरणको लागि, मैले सधैँ के भन्ने गरेको छु— रेमिटेन्सले चलेको अर्थतन्त्र छ। नेपाली दाजुभाइ दिदीबहिनीले रेमिटेन्स नपठाउने हो भने त हाम्रो अर्थतन्त्र एक दिन पनि चल्दैन होला । अहिले नेपाली युवाहरूले आफ्नै देशमा भविष्य देखिरहेका छैनन्। उनीहरूले बाहिर गएर काम गर्ने, बाहिरी देशमा आफ्नो भविष्य देखिरहेका छन्।
अब कुनै युवाले बाहिर आफ्नो भविष्य देख्छ भने त्यसलाई रोक्ने कुरा पनि भएन । त्यसलाई निरुत्साहित गर्ने पनि कुरा होइन। तर आफ्नै देशमा हामीले रोजगारी सिर्जना गर्न नसक्नु, एउटा भविष्य देखाउन नसक्नु— यो सम्पूर्ण निजी क्षेत्र र सरकारको एउटा कलेक्टिभ फेलियर (सामुहिक असफलता) हो भन्ने कुरा मैले भन्ने गरेको थिएँ।
अर्को कुरा, हामीले जुन नेपाली मौलिकता र एउटा नेपाली पन बिस्तारै गुमाउँदै गइरहेका छौँ, र यसको एउटा मुख्य कारण हिन्दी सिनेमा नै हो। अहिले हाम्रो जुन संस्कारहरू भइरहेका छन्, जस्तै विवाहको कुरा गरौँ वा अन्य संस्कारहरू, जसरी हामीले तिहार मनाउँछौँ या होली मनाउँछौँ, त्यो सबै हिन्दी फिल्मबाट हेरेर सिकिरहेका छौँ ।
म बढ्दै गर्दा (विद्यार्थीकालमा) विवाह जसरी हुनेगथ्र्यो नेपालमा, जसरी हामी तिहार मनाउँथ्यौं, अहिले ती कुरा देख्न पाइन्न । सबै चिज परिवर्तन भएर गइसकेको छ। किनभने हामीले हिन्दी फिल्मको सिको गरिरहेका छौँ। त्यहीबाट हामी प्रभावित भएर गइरहेका छौँ।

यस्तो अवस्थामा नेपाली मौलिकताबाट फिल्म बन्ने हो भने यसले बजार पाउँछ भनेर मलाई लाग्यो ।
यही कुरा मैले महासंघको अध्यक्ष हुँदा पनि सधैँ बोल्ने गरेको थिएँ। महोत्सवहरूमा अध्यक्षको हैसियतले मलाई बोलाइन्थ्यो, र त्यहाँ जाँदा हिन्दी आइटम डान्सहरु प्रस्तुत हुन्थे । त्यहाँ अश्लिलताहरू देखिन्थे । कम उमेरका (अन्डरएज) केटाहरूलाई र बहिनी, छोरीहरूलाई हेर्न चाहिन्थ्यो त्यहाँ । त्यसले चाहिँ क्राउड पुल (मान्छे थुपार्ने काम) गर्थ्यो। अनि मैले सधैँ भन्थेँ— ‘यो गर्नु हुँदैन। दिस इज नट राइट। उद्योग वाणिज्य संघले त गर्नै हुँदैन ।’
यसले चाहिँ हाम्रो संस्कार झन झन बिग्रिन्छ, यो हामीले गर्नु हुँदैन भन्ने कुरा सधैँ गर्थेँ। मैले त्यहाँका अध्यक्षहरूलाई यो कुरा भन्दा ‘मान्छे कसरी जम्मा पार्ने त ? कसरी महोत्सवबाट पैसा कमाउने’ भन्ने कुराहरू पनि गर्थेँ। पछि मैले सार्वजनिक रुपमै पनि यो कुरा बोल्न थालें। मैले माइक पाएपछि ‘यो हाम्रो संस्कार होइन । यसो नगरिदिनुहोस् है, यो दिस इज नट राइट’ भनेर भन्ने गर्थेँ।
हिन्दी फिल्मभन्दा बाहिर रहेर पनि हामीले एउटा हाम्रो आफ्नै मौलिक फिल्म बनाउन सक्छौँ भन्ने कुरा मैले सधैँ भन्ने गरेको थिएँ । त्यो चाहिँ मैले बनाएर देखाएँ भन्ने लाग्छ । कुनै हदसम्म यो सफल पनि भएको छ। मैले भनेको कुरा यसबाट प्रमाणित (भ्यालिडेट) भएको छ भनेर मलाई एकदम खुसी लागेको छ।
एउटा व्यवसायी वा उद्योगीको बुझाइमा ‘परान’ के हो ?
परान कसैलाई शिक्षा दिनका लागि बनेको सिनेमा होइन । यो अहिलेको देशमा भएका हरेक मान्छेको कथा हुन सक्छ । किनभने हरेक परिवारको आफ्नो बाध्यता हुन्छ। त्यसैलेगर्दा यो फिल्मको कथा दिपक आचार्यजीले (दीपक राज आचार्यजीले) बनाउँदा मलाई मन परेको कुरा के हो भने— यसमा न कोही खलनायक छ न कोही नायक छ।
यो फिल्ममा कुनै अश्लिलता छैन, कुनै किसिमको भाषा यस्तो प्रयोग गरिएको छैन जुन पुरै परिवार बसेर हेर्न नसक्ने होस् । तैपनि यो फिल्म व्यावसायिक सफलता तिर जाँदै छ। यसले नेपाली अडियन्स (दर्शक)ले के हेर्न चाहन्छन् भन्ने प्रष्ट भएको छ । एउटा नयाँ मानक बनाएको छ । अब आउने समयमा नेपाली फिल्महरू यसैका आधारमा बन्छन् ।
सबैले आफ्नो–आफ्नो दृष्टिकोणबाट जीवन जिउँछन्। तर त्यसरी जिउँदै गर्दा र तपाईंले कुनै उपलब्धि हासिल गर्दैगर्दा धेरैले बलिदान दिएका हुन्छन् । त्यो बलिदानलाई हामीले बिर्सनु हुँदैन । त्यसलाई चाहिँ रिलेट गर्नुपर्छ। मैले अब बाहिरै (विदेश) नजानुहोस् भन्न खोजेको हैन । तर आफ्नो घर चाहिँ नबिर्सिदिनुहोस्, आफ्नो पृष्ठभूमि नबिर्सिदिनुहोस्, भन्ने यो फिल्मले देखाएको छ। मेरो लागि परान यो नै हो।
‘परान’ फिल्म बनाउँदा व्यावसायिक सफलता वा असफलतालाई कुनै महत्व दिएकै थिएन । मैले र रजित जीले संयुक्त लगानीमा बाइस्कोप सिनेमा स्थापना गरेका हौँ । हामीले यो फिल्म बनाउँदा यसबाट हामी व्यावसायिक लाभ नहेरौँ, कमाइ भयो भने ठीक छ, भएन भने पनि हामीले बोल्दै आएका कुरा छन् । ‘इट्स अ मेसेज टु द सोसाइटी’ भनेर नै लगानी गरेको हो ।
फिल्मी क्षेत्र व्यावसायिक हुन सकेन भन्ने अवस्थामा कर्पोरेट क्षेत्रको प्रवेशले के फरक पार्छ ?
मैले यसमा एउटा कुरा के जोड्न खोजें भने, एउटा व्यावसायिकता नेपाली फिल्म इन्डस्ट्रीमा आउन जरुरी छ। हामीले यो पनि एउटा प्रमाणित गर्ने प्रयास गरेका छौँ। मैले तीन–चार वटा उदाहरण दिन चाहन्छु।
जो पनि यसमा कलाकारहरू छन् र जति मान्छे यो फिल्मसँग जोडिएका प्राविधिकहरू छन्, र अरू पनि सबैलाई एउटा करारनामा (कन्ट्र्याक्ट) बनाएरमात्रै काम लगाएका छौँ । हामीले सबै जनालाई पारिश्रमिक भुक्तानी गर्दा टिडिएस (कर) काटेर भुक्तानी गरेका छौँ। यसरी फिल्मी क्षेत्रमा एउटा प्रोफेसनलिज्म (व्यावसायिकता) हामीले ल्याउने प्रयास गरेका छौँ। नत्र धेरै पटक मैले सुनेको अनुसार सिनेमाको सफलता र असफलताले उनीहरूले पाउने पैसामा पनि असर गर्थ्यो ।
यो फिल्म हलमा लाग्दा पहिलो र दोस्रो दिन त ५ लाख, ७ लाख पनि पैसा उठेको थिएन । तैपनि हामीले कसैको पनि भुक्तानी रोकेनौँ । हामीले सबैको पेमेन्ट गरेका छौँ। सबै कलाकारहरूलाई हामीले एउटा प्रोफेसनल सर्भिसेज लिएर पेमेन्ट गरेका छौँ। कति जनाको प्यान (व्यक्तिगत लेखा नम्बर) कार्ड पनि थिएन। हामीले ‘प्यान कार्ड हुनै पर्छ, त्यो नभइकन तपाईंसँग म सम्झौता गर्न सक्दिनँ र तपाईंलाई सम्झौता अनुसारले पैसा दिन पनि सक्दिनँ’ भनेर सबैलाई प्यान कार्ड बनाउन लगायौँ।
यता फिल्म चलाउने सम्बन्धमा हामीले जुन अन्तर्राष्ट्रिय रूपमा कन्ट्र्याक्टहरू गरिरहेका छौँ, त्यसमा पनि हामीले सिधै आफ्नै कम्पनीबाट कन्ट्र्याक्टहरू गरिरहेका छौँ । कसैलाई बीचमा राखेका छैनौँ। हामी चाहन्छौँ, सबै कारोबार पारदर्शी होस् र नेपालमा पुरा पैसा आओस् ।
नेपालको फिल्म क्षेत्रमा अझ धेरै लगानी गर्न सकिन्छ। कर्पोरेट सेक्टरहरूलाई आकर्षित गर्न सकौँ, आउने समयमा अझ बढी कर्पोरेट सेक्टरहरू फिल्म क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने आधार तयार होस्, मानिसहरु अझ बढी आकर्षित भएर आऊन् भन्ने मेरो चाहना रहेको छ। हाम्रो देशको प्रतिव्यक्ति आय बढ्दै छ र खर्चयोग्य आम्दानी पनि अलिकति बढेको छ।
अर्थशास्त्रको सिद्धान्तले भन्छ— जब खर्चयोग्य आय बढ्छ, सबैले मनोरञ्जनमा पनि बढी खर्च गर्छन् । आउने समयमा हामीले स्तरीय फिल्म बनाउने हो भने यो मार्केट अझ विकास हुन्छ, किनभने हाम्रो नेपालीहरूको आम्दानी बढेको छ ।
परानको सफलतापछि अरू फिल्म पनि बनाउने योजना होला नि ?
यो प्रडक्सन हाउस अर्थात् मैले र रन्जित जीले भनेका छौँ— वर्षको तीन मुभी । दुईटादेखि तीनटा सिनेमा हामी हरेक वर्ष बनाउँछौँ। र हाम्रो सिनेमाहरूमा युनिकनेस (फरकपन) के हुनेछ भने, हामी सेट फर्मुलामा जाँदैनौँ। हामी कुनै अश्लिलता, कुनै किसिमको फिमेल बडीलाई अब्जेक्टिफाई (वस्तुकरण) गर्ने, जस्ता कुनै पनि काम हाम्रो फिल्ममा हुँदैन। हाम्रो फिल्म परिवारसँग बसेर मज्जासँग हेर्न सकिने, मनोरञ्जन गर्न सकिने खालका सिनेमा बनाउँछौँ ।













