‘थलिएको’ निर्माण क्षेत्र फेरि उकाली लाग्दै, बैंकहरुले यसरी बढाउँदैछन् ऋण लगानी - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

‘थलिएको’ निर्माण क्षेत्र फेरि उकाली लाग्दै, बैंकहरुले यसरी बढाउँदैछन् ऋण लगानी



काठमाडौं । सुस्तिँदो आर्थिक गतिविधि, निर्माण सामग्रीको आयात तथा स्थानीय उत्पादनमा आएको गिरावटका साथै विभिन्न परियोजनामा देखिएको ढिलाइ र स्थगनका कारण निर्माण क्षेत्र लामो समयदेखि दबाबमा थियो ।

आर्थिक शिथिलताले निर्माण व्यवसायीदेखि बैंकसम्मको मनोवल कमजोर बनाउँदा केही समयअघिसम्म यस क्षेत्रमा प्रवाह हुने कर्जा पनि संकुचित हुँदै गएको थियो । तर, अहिले अवस्था क्रमश: सहज बन्दै गएको छ ।

महिनौँसम्म थन्किएका अधिकांश निर्माणस्थल पुन: सक्रिय भइरहेका छन् । निर्माणसम्बन्धी गतिविधि चलायमान बन्दै जाँदा बैंकहरूको कर्जा प्रवाह पनि दोहोरो अंकले वृद्धि भएको देखिन्छ । विशेषगरि नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

णिज्य बैंकहरुले निर्माण क्षेत्रमा प्रवाह गर्ने कर्जा लगानी ११.६६ प्रतिशत वृद्धि भएको छ । गत असोज मसान्तसम्मको तथ्याङ्क अनुसार २० वटा बैंकहरुले निर्माण क्षेत्रमा २ खर्ब ९ अर्ब ९८ करोड १३ लाख रुपैयाँ ऋण लगानी गरेका छन् । जबकि, गत आवको सोही अवधिमा यस्तो लगानी १ खर्ब ८८ अर्ब ४ करोड ९१ लाख रुपैयाँ रहेको थियो । पछिल्लो एक वर्षको अवधिमा बैंकहरुले निर्माण क्षेत्रका लागि २१ अर्ब ९३ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

सडक, पुल, भवन तथा जलविद्युत् जस्ता ठूला पूर्वाधार परियोजनामा निजी क्षेत्रको लगानी फेरि बढ्न थालेको छ । अर्थतन्त्रको मेरुदण्ड मानिने निर्माण क्षेत्र ब्यूँझँदै गइरहेको संकेत प्राप्त भइरहेको छ । विगत केही वर्षयतादेखि आर्थिक सुस्ती, बैंक कर्जाको अभाव र सरकारी भुक्तानीको ढिलाइले निर्माण व्यवसायीको विश्वास कमजोर बनेको थियो । ठूला पूर्वाधार परियोजना लगभग ठप्पजस्तै हुँदा क्षेत्र गम्भीर संकटमा परेको थियो ।

तर, हाल बैंकहरूको कर्जा प्रवाहमा देखिएको उल्लेखनीय वृद्धिले निर्माण क्षेत्र पुनर्जीवनतर्फ अघि बढेको संकेत दिएको छ । योसँगै निर्माण क्षेत्रले समग्र अर्थतन्त्रमा फेरि ऊर्जाशक्ति थप्ने अपेक्षा गरिएको छ ।

निर्माण क्षेत्रमा नबिल, लक्ष्मी सनराइज र एनआइसीको ठुलो लगानी, ५ वटा बाहेक सबैले बढाए कर्जा

निर्माण क्षेत्रमा सबैभन्दा ठुलो ऋण लगानी नबिल बैंकको देखिएको छ । बैंकले गत असोजमसान्तसम्म आइपुग्दा २५ अर्ब ७० करोड ५४ लाख रुपैयाँ बराबरको कर्जा निर्माण क्षेत्रमा प्रवाह गरेको छ । यो गत वर्षको तुलनामा भने ७.४२ प्रतिशत बढी हो ।

दोस्रो धेरै रहेको लक्ष्मी सनराइजले पनि २०.६४ प्रतिशत बढाएर २१ अर्ब ७२ करोड २१ लाख रुपैयाँ पुर्याएको छ । यता, तेस्रो सूचीमा रहेको एनआइसी एशिया बैंकको पनि निर्माण क्षेत्रमा जाने कर्जा २५.४३ प्रतिशत वृद्धि भई २१ अर्ब २४ करोड ९० लाख रुपैयाँ कायम भएको छ ।

निर्माण क्षेत्रमा प्रवाह हुने कर्जावृद्धिदर भने सिटिजन्स बैंकको उच्च छ । बैंकको यस्तो शीर्षकको कर्जा वृद्धिदर ३७.४४ प्रतिशत छ । गत असोजसम्म आइपुग्दा सिटिजन्सले निर्माण क्षेत्रमा १७ अर्बा ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यता, दोस्रो सूचीमा रहेको एभरेष्ट बैंकले पनि ३७.३४ प्रतिशत बढाएको छ । यस्तै, एनएमबि बैंकको पनि २६.८३ प्रतिशत, नेपाल बैंकको २५.८९ प्रतिशत, प्राइमको २४.३४ प्रतिशत, माछापुच्छ्रेको २३.८१, राष्ट्रिय वाणिज्य बैंकको १६.२५, ग्लोबलको १५.५५, हिमालयनको १२.०५, प्रभूको ५.६४, सानिमाको ५.२१, स्ट्याण्डर्डको २.६३ प्रतिशत वृद्धि भएको देखिन्छ।

तर, गत आवको असोज मसान्तसम्मको तुलनामा नेपाल एसबिआई, सिद्धार्थ, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा र कृषि विकास बैंकको कर्जा प्रवाह भने घटेको छ ।

निर्माण क्षेत्रमा कुन बैंकको ऋण लगानी कति ?

(स्रोत: नेपाल राष्ट्र बैंक, रकम दश लाखमा)


प्रतिक्रिया दिनुहोस्