निर्माण क्षेत्रमा बढ्दो चहलपहल, फस्टाउँदै सिमेन्ट उद्योग
काठमाडौं । निर्माण क्षेत्र गतिशिल बन्दै गएपछि सिमेन्ट उद्योगहरुको व्यापारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ ।
बजार माग बढ्दो, उत्पादन क्षमता विस्तार र रणनीतिक व्यवस्थापनले उद्योगलाई मात्र होइन लगानीकर्ताको उत्साह पनि बढाएको छ ।
विशेषगरि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार सिमेन्ट उद्योग कम्पनीहरुले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
हाल नेप्सेमा सर्वोत्तम सिमेन्ट, शिवम, घोराही र सोनापुर मिनिरल्स एण्ड आयल कम्पनी सूचीकृत छन् । समिक्षा अवधिमा ती कम्पनीहरुको व्यापार र नाफा दुवैमा उल्लेखनीय वृद्धि भएको छ ।
गत आवको पहिलो त्रैमासमा ती उद्योगहरुले ३ अर्ब ८७ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ३१.२९ प्रतिशत वृद्धि भएको छ । चालु आवको तीन महिनामा ती उद्योगहरुले ५ अर्ब ८ करोड ४९ लाख रुपैयाँ बराबरको बिक्री आम्दानी गरेका छन् ।
व्यापार बढेसँगै कम्पनीहरुको नाफामा उछाल आएको छ । कम्पनीहरुको औसत नाफा ४४ करोड ९६ लाख रुपैयाँ धनात्मक छ । जबकि, गत आवको सोही अवधिमा ६० करोड ९० लाख रुपैयाँ नोक्सानी व्यहोरेका थिए । यद्यपि, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन लगायतका पछिल्ला राजनैतिक घटनाका कारण उत्पन्न चुनौतिपूर्ण वातावरणले व्यापार व्यवसायमा भने प्रभाव पारेको कम्पनीहरुले बताएका छन् । अर्को तर्फ लामो समयदेखि विवादित रहेको डेडिकेटेड तथा ट्रंक लाइन बापतको बक्यौताले पनि थप वित्तीय भार थप हुने कम्पनीहरुले जनाएका छन् ।
गत आवको पहिलो त्रैमासमा २ करोड २५ लाख ४ हजार रुपैयाँ नोक्सानीमा रहेको सर्वोत्तम सिमेन्टले चालु आवको सोही अवधिमा भने ३२ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । सर्वोत्तम सिमेन्टको व्यापार बढेसँगै नाफा वृद्धि भएको हो । तीन महिनामा कम्पनीले १ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो गत आवको तुलनामा ३५.७७ प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सर्वोत्तम सिमेन्टले आफ्नो उत्पादन क्षमताको अधिकतम उपयोग गर्दै सञ्चालन सुदृढ बनाउने तथा लागत घटाएर नेपाली र भारतीय बजारमा उच्च गुणस्तरको सिमेन्ट निरन्तर आपूर्ति गर्ने रणनीति अघि बढाएको छ ।
यता, सोनापुर मिनिरल्सले ४ करोड ३६ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ । जबकि, गत आवको सोही अवधिमा कम्पनी ८ करोड ५५ लाख रुपैयाँ नोक्सानीमा थियो । कम्पनीको व्यापारमा झन्डै शतप्रतिशत बढोत्तरी आएसँगै नाफा बढेको हो । समिक्षा अवधिमा कम्पनीको व्यापार ९५.३० प्रतिशत बढेर ६६ करोड ९९ लाख रुपैयाँ कायम भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ मात्रै बिक्री आम्दानी गरेको थियो ।
यस्तै, शिवम सिमेन्टले पनि चालु आवको तीन महिनामा १ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जबकि, गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ४० करोड ६३ लाख रुपैयाँको व्यापार गरेको थियो । व्यापार ९.०३ प्रतिशत बढेसँगै खुद नाफा पनि उल्लेख्य बढेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीहरुले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने २० करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ ।
यता, घोराही सिमेन्टले पनि नोक्सानी घटाएको छ । कम्पनीले झन्डै चार गुणा नोक्सानी घटाएर १२ करोड ८० लाख रुपैयाँ कायम गरेको छ । जबकि, गत आवको पहिलो त्रैमासमा कम्पनी ५१ करोड ३७ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको व्यापार ३५.५४ प्रतिशत बढेको छ । तीन महिनामा ९० करोड ६० लाख रुपैयाँ बराबरको बिक्री आम्दानी गरेको छ । जबकि, गत आवको सोही अवधिमा ६६ करोड ८४ लाख रुपैयाँको व्यापार गरेको थियो ।
उद्योगहरुको उत्पादन क्षमता विस्तार, बढ्दो बजार माग र मूल्य समायोजनले नै वित्तीय स्वास्थ्य सकारात्मक बनेका छन् । हाल सूचीकृत बाहेकका अन्य उद्योगहरुले पनि स्थिर रूपमा व्यापार र नाफा वृद्धि गरिरहेका छन् । सिमेन्ट उद्योगको वित्तीय प्रदर्शनले निर्माण क्षेत्रमा लगानी बढाउने संकेत दिएको छ । विकास निर्माणका कार्यमा बढोत्तरी आएसँगै औद्योगिक उत्पादनमा पनि बढोत्तरी देखिएको हो । योसँगै नाफा आर्जन पनि बढेको कम्पनीहरुले जनाएका छन् । आगामी दिनमा भौतिक संरचनाहरुका निर्माण कार्यमा पनि वृद्धि आउने भएकाले सिमेन्टको माग बढ्ने अनुमान छ । जसले बिक्री वितरण र निर्यातको व्यापारमा पनि सुधार आउने कम्पनीहरुले जनाएका छन् ।













