‘एसएसडब्ल्यू’ अन्तर्गत पहिलो पल्ट जापान पठाउने प्रक्रिया शुरु, म्यानपावरले मान्छे पठाउँदै
काठमाडौँ । ‘स्पेसिफिक स्किल्ड वर्कर (एसएसडब्ल्यू) अर्थात् हातमा सीप भएका नेपाली कामदारलाई जापान पठाउनेबारे नेपाल र जापान सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको करीब ७ वर्ष पछि पहिलोपल्ट संस्थागत रूपमा कामदार पठाउने प्रक्रिया शुरु भएको छ ।
त्यसका निम्ति मागपत्र प्रमाणीकरण गर्ने काम सुरु भएको जापानका निम्ति नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले जानकारी दिएका छन् ।
नेपाली वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी)ले ल्याएका कामदारसम्बन्धी मागपत्र दूतावासले पहिलोपटक प्रमाणीकरण गरेको जनाएको छ । यससँगै खाडीका देश र मलेसियाजस्तै अब म्यानपावरबाट जापान जाने नेपाली कामदारको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने अनुमान सरकारी अधिकारीहरुले गरेका छन् ।
पहिलो चरणका दुईदेखि तीन महिनाभित्र नेपाली कामदार जापान पुगिसक्ने ठानिएको छ । जापानका रहेको नेपाली दूतावासले कात्तिक महिनामा मात्रै ३ वटा मागपत्र प्रमाणीकरण गरेको र थप मागपत्र आइरहेको पौडेलले बताए।
२०७५ चैत ११ गते जापान र नेपालबीच ‘निश्चित सीपयुक्त कामदार’ संस्थागत रूपमा आपूर्तिका लागि सहकार्यको समझदारी भएको थियो ।पोहोर साल उक्त समझदारी नवीकरण गरिए पनि अहिलेसम्मै संस्थागत रूपमा कामदारहरू जान सकेका थिएनन्।
जापानले औद्योगिक, कृषि तथा हस्पिटालिटी (आतिथ्य) लगायतका क्षेत्रमा नेपाली कामदारप्रति रूची देखाउँदै आएको छ। तर जापान जानेमध्ये अधिकांश विद्यार्थी भिसामा जाने गरेका छन् भने कतिपय श्रम स्वीकृति लिएर व्यक्तिगत पहलमा कामदार भिसामा जाने गरेका छन्।
संस्थागत रूपमा जाँदा कामदारलाई लागत पनि सस्तो पर्ने र सुरक्षित पनि हुने नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पदाधिकारीले पनि बताएका छन् ।
जापान नेपालीहरूका निम्ति आकर्षक श्रम गन्तव्यका रूपमा रहँदै आएको छ। तर अन्य योजनाहरू अन्तर्गत पनि नेपाली कामदार गइराखेका हुनाले ‘एसएसडब्ल्यू’मा भएको ढिलाइले जापानी पक्ष निराश नभएको सरकारी अधिकारीहरुको दाबी छ।
जापानबाट ठूलो सङ्ख्यामा नेपाली कामदारको माग हुन सक्ने देखिएकाले वैदेशिक रोजगार व्यवसायीहरूले यसमा चासो देखाउँदै आएका थिए।
















