८० खर्ब नाघ्यो बैंकहरुको कुल सम्पत्ति: धनी बैंकको शीर्ष सूचीमा चार बैंक, कुनसँग कति छ ?
काठमाडौं । बैंकहरुमा सम्पत्ति थपिने सिलसिला बढ्दो नै छ । पछिल्लो एक वर्षमै झन्डै ९ खर्ब रुपैयाँ बराबरको सम्पत्ति थपिएको छ । हाल वाणिज्य बैंकहरुको कुल सम्पत्ति ८० खर्ब नाघेको देखिन्छ ।
हाल संचालनमा रहेका २० वटै बैंकहरुले उपलब्ध गराएको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
हाल बैंकहरुसँग कुल ८० खर्ब ८ अर्ब २२ करोड ४ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । यो गत आवको सोही अवधिको तुलनामा १२.३५ प्रतिशत बढी हो । एक वर्षको अवधिमा नै बैंकहरुमा ८ खर्ब ८० अर्ब ५२ करोड ७२ लाख रुपैयाँ सम्पत्ति थपिएको छ । जबकि, गत आवको पहिलो त्रैमासमा आइपुग्दा ती बैंकहरुसँग ७१ खर्ब २७ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ बराबरको सम्पत्ति थियो ।
समिक्षा अवधिमा दुई वटा बाहेक सबै बैंकको सम्पत्ति वृद्धि भएको छ । सम्पत्तिको आधारमा पहिलो सूचीमा ग्लोबल आइएमई छ । हाल बैंकसँग ७ खर्ब २९ अर्ब ६२ करोड ८५ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । यो गत आवको तुलनामा १६.३२ प्रतिशत धेरै हो । धनी बैंकको दोस्रो सूचीमा भने नबिल छ । नबिल बैंकको सम्पत्ति पनि १५.६३ प्रतिशत बढेर ६ खर्ब ७५ अर्ब ५२ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।
तेस्रो सूचीमा रहेको राष्ट्रिय वाणिज्य बैंकसँग पनि ६ खर्ब १० अर्ब ६५ करोड १ लाख रुपैयाँ बराबरको सम्पत्ति छ ।
समिक्षा अवधिमा हिमालयन बैंकको सम्पत्तिको आकार २.०१ प्रतिशत र कुमारीको ०.४२ प्रतिशत घटेको देखिन्छ । यी बाहेक सबै बैंकको सम्पत्तिमा बढोत्तरी आएको छ ।
सम्पत्तिकै आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक चौंथो सूचीमा छ । बैंकसँग ५ खर्ब ८३ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ बराबरको सम्पत्ति देखिन्छ । यता, छैटौं सूचीमा रहेको लक्ष्मी सनराइजसँग पनि ४ खर्ब ५१ अर्ब ७२ करोड ४ लाख रुपैयाँ बराबरको सम्पत्ति छ ।
विवरण अनुसार हालल कुमारी बैंकसँग ४ खर्ब ४२ अर्ब ३७ करोड, प्रभूसँग ४ खर्ब १९ अर्ब २५ करोड, नेपाल बैंकसँग ४ खर्ब ३ अर्ब ३४ करोड २ लाख, एनआइसी एशियासँग ३ खर्ब ९५ अर्ब ७१ करोड, हिमालयनसँग ३ खर्ब ८४ अर्ब ६७ करोड, कृषि विकाससँग ३ खर्ब ७७ अर्ब ३० करोड, एभरेष्टसँग ३ खर्ब ७६ अर्ब ३२ करोड, एनएमबिसँग ३ खर्ब ६० अर्ब २२ करोड, सिद्धार्थसँग ३ खर्ब ३१ अर्ब ९२ करोड र प्राइमसँग ३ खर्ब १६ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ ।
यता, सानिमा बैंकको कुल सम्पत्ति २ खर्ब ६६ अर्ब ५२ करोड, नेपाल एसबिआईको २ खर्ब ४८ अर्ब, सिटिजन्सको २ खर्ब ४६ अर्ब ३४ करोड, माछापुच्छ्रेको २ खर्ब २६ अर्ब ५९ करोड र स्ट्याण्डर्ड चार्टर्डको १ खर्ब ६१ अर्ब ७० लाख रुपैयाँ छ ।
बैंकको कुल सम्पत्ति निर्धारण गर्दा विभिन्न प्रकारका सम्पत्तिहरूलाई समावेश गरिन्छ । यसमा बैंकको नगद तथा नगद सरहका सम्पत्तिहरू, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात र व्युत्पन्न वित्तीय उपकरणहरू जस्ता सम्पत्तिहरू गनिन्छन् । त्यसैगरी, व्यापारिक प्रयोजनका लागि राखिएको सम्पत्ति, बैंकहरूले वित्तीय संस्थाहरूलाई दिएका कर्जा तथा अग्रिम रकम, ग्राहकहरूलाई उपलब्ध गराइएका कर्जाहरू, सुरक्षणपत्रमा गरिएको लगानी, चालू करसम्बन्धी सम्पत्ति, सहायक र सम्बद्ध संस्थाहरूमा गरिएको लगानी, लगानीको रूपमा रहेको सम्पत्ति, भौतिक सम्पत्ति तथा उपकरणहरू, ख्यातीसहितका अमूर्त सम्पत्तिहरू, स्थगित करसम्बन्धी सम्पत्ति र अन्य विविध सम्पत्तिहरू पनि बैंकको सम्पत्तिमा गणना गरिन्छ ।
कुन बैंकसँग कति सम्पत्ति छ ? (रकम हजारमा)














