‘फास्ट–ट्र्याक’ मा दावी भुक्तानी : शीर्ष सूचीमा सलिको, शिखर र एनएलजी, कुन कम्पनीले कति दिए ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

‘फास्ट–ट्र्याक’ मा दावी भुक्तानी : शीर्ष सूचीमा सलिको, शिखर र एनएलजी, कुन कम्पनीले कति दिए ?



काठमाडौं । अहिले निर्जीवन बीमा कम्पनीहरु दावी भुक्तानीको ठुलो चापमा छन् । कम्पनीहरुले भुक्तानी प्रक्रियालाई रफ्तारमा अघि बढाएका छन् । तीन महिनामै कम्पनीहरुले साढे ५ अर्ब रुपैयाँ दावी भुक्तानी दिएको देखिन्छ ।

हाल संचालनमा रहेका १४ ठुला निर्जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत साउनदेखि असोज मसान्तसम्म आइपुग्दा निर्जीवन बीमकले ५ अर्ब ६९ करोड १० लाख रुपैयाँ बराबरको दावी भुक्तानी दिएका छन् । यो गत आवको सोही अवधिको तुलनामा ३४.१९ प्रतिशत धेरै हो । जबकि, गत आवको पहिलो त्रैमासमा कम्पनीहरुले ४ अर्ब २४ करोड ११ लाख रुपैयाँ भुक्तानी दिएका थिए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण कम्पनीहरुमा दावीको चाप नै छ । आन्दोलन र प्राकृतिक विपत्ति लगायतले कम्पनीहरुमा करिब करिब २४ अर्ब हाराहारीको दावी पेश भएका छन् । भुक्तानीको बढ्दो चापकै कारण कम्पनीहरु नोक्सानीमा पुगेका छन् ।

जेनजी आन्दोलन र बाढी पहिराको क्षति उपरको दावी भुक्तानीको भारले नै २ वटा बाहेकका सबै कम्पनी घाटामा छन् । दावी भार न्यून रहेका प्रभू र नेशनल इन्स्योरेन्स मात्रै नाफामा छन् । त्यस बाहेकका १२ वटा कम्पनीहरुले नोक्सानी व्यहोरेका छन् । भुक्तानीको यस्तो ठूलो प्रवाहले अधिकांश कम्पनीहरू घाटामै धकेलिए पनि भुक्तानी प्रक्रियालाई उच्च प्राथमिकता दिँदै अघि बढाइरहेका छन् ।

कम्पनीले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबैभन्दा ठुलो भुक्तानी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले दिएको छ । कम्पनी एक्लैले १ अर्ब ८ करोड १६ लाख रुपैयाँ बराबरको दावी भुक्तानी दिएको छ । जबकि, गत आवको पहिलो त्रैमासमा कम्पनीले ४४ करोड ९२ लाख रुपैयाँ मात्रै भुक्तानी दिएको थियो ।

व्यापारमा आफूलाई नम्बर वान्को सूचीमा कायम राख्दै आएका शिखर इन्स्योरेन्सले पनि तीन महिनामा ६८ करोड २ लाख रुपैयाँ भुक्तानी दिएको देखिन्छ । कम्पनीको भुक्तानी वृद्धिदर भने ५.५६ प्रतिशत छ ।

यता, एनएलजी इन्स्योरेन्स कम्पनीले दावी भुक्तानी ८१.०७ प्रतिशत बढाएर ६४ करोड ३२ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, सिद्धार्थ इन्स्योरेन्सले ५४ करोड ६० लाख रुपैयाँ, नेकोले ५२ करोड ९९ लाख, आइजीआई प्रुडेन्सियलले ४८ करोड ३० लाख, सानिमा जिआइसीले ३३ करोड ७६ लाख, युनाइटेडज अजोडले ३३ करोड ६५ लाख, हिमालयन एभरेष्टले ३२ करोड ९३ लाख रुपैयाँ दावी भुक्तानी दिएको देखिन्छ ।

त्यसैगरि ओरियण्टल इन्स्योरेन्स पनि तीन महिनामा २३ करोड ३५ लाख, नेपाल इन्स्योरेन्सले १८ करोड २३ लाख, नेशनल इन्स्योरेन्सले १५ करोड ४७ लाख, प्रभूले १० करोड ७६ लाख र राष्ट्रिय बीमा कम्पनीले ४ करोड ५९ लाख रुपैयाँ दावी भुक्तानी दिएका छन् ।

गत आवको तुलनामा आइजीआई, नेशनल, राष्ट्रिय बीमा कम्पनी र युनाइटेड अजोडको दावी भुक्तानी रकम घटेको छ । बाँकी सबै कम्पनीको भुक्तानी रकम वृद्धि भएको देखिन्छ ।

तीन महिनामा कुन कम्पनीले कति दिए दावी भुक्तानी ?

(स्रोत: सम्वन्धित कम्पनीले उपलब्ध गराएको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण, रकम हजारमा)


प्रतिक्रिया दिनुहोस्