माडी–ठोरी सडकको पुल ठेक्का रद्द
काठमाडौं । वर्षौंदेखि अलपत्र बनेको चितवनको माडी–ठोरी सडक खण्ड अन्तर्गत पटारी खोलाको पुल निर्माण ठेक्का सरकारले रद्द गरेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत वीरगञ्ज योजना कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै ठेकेदार कम्पनीले काम अगाडि नबढाएकाले ठेक्का तोडिएको जानकारी दिएको हो ।
४१ मिटर लामो पुल निर्माणको जिम्मा लिएको भरतपुर–आधारित लोहनी एण्ड ब्रदर्श प्रालि लामो समयदेखि काममा सक्रिय नभएको र कम्पनीका प्रतिनिधिसमेत सम्पर्कमा नआएपछि सरकारले कारबाही प्रक्रिया अघि बढाएको निर्देशनालयले जनाएको छ ।
कम्पनीलाई १५ दिनभित्र कारण–बुझाउने मौका दिइए पनि स्पष्टीकरण नआएपछि ठेक्का रद्द गरिएको हो। अब सार्वजनिक खरिद ऐनअनुसार ठेकेदारको कार्यसम्पादन जमानत जफत गरिने, बाँकी रकम सरकारी बाँकी सरह असुल गरिने र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने प्रक्रिया अघि बढाइनेछ ।














