पायोनियरको कारोबार एकै वर्ष २ अर्ब नाघ्यो, निसान म्याग्नाइट र इभीले तान्यो व्यापार
काठमाडौं । नेपाली बजारमा निसान ब्रान्डको गाडी बेच्दै आएको पायोनियर मोटो कर्पको व्यापार उच्च दोहोरो अंकमा वृद्धि भएको छ । एकै वर्ष कम्पनीले २ अर्ब बढीको निसान गाडी बिक्री गरेको छ ।
इक्रा नेपालबाट प्राप्त पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । कम्पनीले सन् २०२५ मा २ अर्ब १२ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो गत आवको सन् २०२४ को तुलनामा ३३.३९ प्रतिशत बढी हो ।
गत वर्ष कम्पनीले १ अर्ब ५९ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीले अघिल्लो वर्ष सन् २०२३ मा १ अर्ब ७७ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यस्तै, सन् २०२२ मा ५ अर्ब ७१ करोड ९० लाख र सन् २०२१ मा ३ अर्ब ८१ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
कम्पनीको आम्दानी केही सीमित मोडेलहरूमा केन्द्रित रहेको देखिन्छ सन् २०२५ को आम्दानीमध्ये करिब ३४ प्रतिशत निसान म्याग्नाइट मोडेलबाट भएको जनाएको छ । करिब ३८ प्रतिशत इलेक्ट्रिक भेहिकल (इभी) सेग्मेन्ट जेइको र ओमोडा मोडेलहरूबाट आएको देखिन्छ । सन् २०२५ मा कम्पनीले कुल व्यापारबाट ३.९३ प्रतिशत नाफा कमाएको छ । जबकि, गत वर्ष ६ प्रतिशत नाफा कमाएको थियो ।
सन् २०१४ मा स्थापपित पायोनियर मोटो कर्प (पिएमसी) शारदा ग्रुपको एक हिस्सा हो । कम्पनीले सन् २०१७ देखि नेपालका लागि निसान ब्रान्डका सवारी साधनहरू बिक्री बितरण गर्दै आएको छ । कम्पनीका प्रवद्र्धक तथा प्रबन्ध निर्देशक सन्दीप कुमार शारदा छन् ।
कम्पनीले निसान तथा हाल उत्पादन तथा डिलरशिप बन्द भएको डटसन ब्रान्डका सवारी साधनका जेन्युन स्पेयर पाट्र्स, एक्सेसरीज तथा सर्भिस सुविधा प्रदान गर्दै आएको छ । कम्पनीका आफ्नै तीन शोरूम छन् । दुई वटा काठमाडौंमा र एक विराटनगरमा शोरुम रहेको छ । साथै, नेपालका प्रमुख शहरहरूमा १३ वटा क्षेत्रीय डिलरशिपहरू सञ्चालनमा छन् ।
कम्पनी आफ्नो सहायक कम्पनी एसपीजी अटोमोबाइल्स प्रा.लि.बाट आयातित विद्युतिय सवारी (इभी) हरू पनि बिक्री गर्दै आएको छ ।
कम्पनीले १ अर्ब ४९ करोड ५० लाख रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ्ग गराएको छ । कम्पनीले दीर्घकालिन कर्जा तर्फ ४९ करोड ९० लाख र अल्पकालिन तर्फ ९९ करोड ६० लाख रुपैयाँका लागि रेटिङ गराएको छ ।













