जीवन बीमा व्यवसायमा नयाँ उत्साह : झन्डै ९ अर्ब बढ्यो व्यवसायको आकार, कसले कति भित्र्याए ?
काठमाडौं । जीवन बीमा व्यापार दोहोरो अंकमा वृद्धि भएको छ । चार महिनामै ठुला जीवन बीमकले ६२ अर्ब बढीको व्यापार गरेको देखिन्छ ।
नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत साउनदेखि कात्तिक मसान्तसम्म आइपुग्दा जीवन बीमकले ६२ अर्ब २१ करोड ८४ लाख ५८ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने १६.५३ प्रतिशत धेरै हो । गत आवको पहिलो चार महिनामा कम्पनीहरुले ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए । विवरण अनुसार पछिल्लो एक वर्षमै बीमा व्यवसायको आकार ८ अर्ब ८२ करोड २६ लाख रुपैयाँ बढेको छ ।
समिक्षा अवधिमा कम्पनीहरुले १२ अर्ब ७२ करोड ३९ लाख रुपैयाँ बराबरको नयाँ व्यावसाय भित्र्याएका छन् । नविकरण मार्फत ४९ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
हाल संचालनमा रहेका सबै जीवन बीमक व्यापार बढाउन तातिएको देखिन्छ । आँकडा अनुसार कम्पनीहरुको व्यापार १८३ प्रतिशतसम्म बढेको छ । व्यवसायमा नेपाल लाइफकै वर्चश्व कायमै छ । कम्पनीले चार महिनामा १७ अर्ब ९२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १०.३८ प्रतिशत बढी हो । गत वर्ष कम्पनीले १५ अर्ब ४० करोड ९५ लाख रुपैयाँको मात्रै व्यापार भित्र्याएको थियो ।
व्यवसायको आधारमा दोस्रो ठुलो कम्पनी नेशनल लाइफ हो । कम्पनीको व्यवसायको आकार १६.०९ प्रतिशत बढेर ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ४३ करोड ७२ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
तेस्रो सूचीमा रहेको एलाइसी नेपालको व्यापार पनि ६.८१ प्रतिशत बढेर ६ अर्ब ४६ करोड ८९ लाख २८ हजार रुपैयाँ पुगेको छ । जबकि, गत वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ५ करोड ६७ लाख रुपैयाँ बराबरको व्यापार भित्र्याएको थियो ।
यता, चौंथो स्थानमा रहेको हिमालयन लाइफले पनि चार महिनामा ५ अर्ब ६४ करोड ७ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
व्यापार वृद्धिदरमा भने राष्ट्रिय जीवन बीमा कम्पनी तगडा देखिएको छ । कम्पनीको व्यापार १८३.६६ प्रतिशत वृद्धि भई ५ अर्ब ३ करोड ९३ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, दोस्रो सूचीमा रहेको आइएमई लाइफको व्यापार पनि २६.६८ प्रतिशत वृद्धि भई १ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ कायम भएको छ ।
प्राधिकरणका अनुसार सिटिजन लाइफको व्यापार २१.४० प्रतिशत, रिलायवल नेपालको १९.२५ प्रतिशत, सूर्यज्योति लाइफको ११.९७ प्रतिशत, मेट लाइफको ११.६८ प्रतिशत, प्रभू महालक्ष्मीको १०.८३ प्रतिशत, सानिमाको १०.७९ प्रतिशत वृद्धि भएको छ । यी कम्पनीहरुले चालु आवको चार महिनामा क्रमश: २ अर्ब ६६ करोड ६४ लाख, १ अर्ब ८५ करोड ८८ लाख, ३ अर्ब ६४ करोड ५ लाख, २ अर्ब ९ करोड ४१ लाख, १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, एशियन लाइफको व्यापार पनि ९.१७ प्रतिशत वृद्धि भई २ अर्ब ९९ करोड ५० लाख रुपैयाँ पुगेको छ । यता, सन नेपाल लाइफले पनि १ अर्ब ३० करोड ६ लाख रुपैयाँ बराबरको व्यवसाय भित्र्याएको छ ।













