नयाँ व्यवसाय भित्र्याउन तातिए जीवन बीमक, कम्पनीहरुबीच देखियो कडा उछिनपाछिन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नयाँ व्यवसाय भित्र्याउन तातिए जीवन बीमक, कम्पनीहरुबीच देखियो कडा उछिनपाछिन



काठमाडौं । नयाँ व्यवसाय भित्र्याउन ठुला जीवन बीमा कम्पनीहरु तातिएका छन् । कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन करिब ३० प्रतिशत बढेको देखिन्छ ।

नेपाल बीमा प्राधिकरणबाट हालै प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको चार महिना कम्पनीहरुले १२ अर्ब ७२ करोड ३९ लाख रुपैयाँ बराबरको व्यापार भित्र्याएका छन् । यो गत वर्षको तुलनामा २९.९१ प्रतिशत धेरै हो । जबकि, गत वर्षको कात्तिक मसान्तसम्म कम्पनीहरुको नयाँ व्यवसाय ९ अर्ब ७९ कोड ४६ लाख रुपैयाँमा सिमित थियो ।

हिमालयन लाइफ बाहेक सबै कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन वृद्धि भएको छ । समिक्षा अवधिमा हिमालयन लाइफको नयाँ व्यापार ८.१ प्रतिशत घटेर ६८ करोड १४ लाख रुपैयाँमा झरेको छ । जबकि, गत आवको सोही अवधिमा कम्पनीले ७४ करोड १६ लाख बढीको नयाँ व्यवसाय भित्र्याएको थियो ।

नयाँ व्यवायमा पनि नेपाल लाइफको वर्चश्व कायमै छ । कम्पनी एक्लैले ३ अर्ब ६७ करोड ५३ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन ४४.४५ प्रतिशत धेरै हो ।

दोस्रो सूचीमा रहेको नेशनल लाइफले पनि नयाँ व्यापार २८.०३ प्रतिशत बढाएको देखिन्छ । चार महिनामा कम्पनीले १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएको छ ।

नयाँ व्यवसायको आकारको आधारमा एलआइसी नेपालले भने आफूलाई तेस्रो स्थानमा उभ्याएको छ । कम्पनीले ९३ करोड २२ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलनामा भने २५.६२ प्रतिशत धेरै हो ।

यता, चौंथो सूचीमा रहेको सूर्यज्योति लाइफले पनि नयाँ व्यवसाय १६.०२ प्रतिशत बढाएर ८३ करोड ९ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, पाँचौ स्थानमा रहेको सिटिजन लाइफको नयाँ बिजनेश पनि ३४.५७ प्रतिशत बढेर ७४ करोड ३५ लाख रुपैयाँ कायम भएको छ ।

प्राधिकरणका अनुसार एशियन लाइफले ६२ करोड ८३ लाख, आइएमई लाइफले ५८ करोड १३ लाख, सानिमा रिलायन्सले ५४ करोड ७४ लाख, रिलायवल नेपालले ५३ करोड २७ लाख, राष्ट्रिय जीवन बीमाले ४९ करोड ४१ लाख, मेट लाइफले ४७ करोड ४० लाख, प्रभू महालक्ष्मी लाइफले ४२ करोड ७२ लाख र सन नेपालले २८ करोड ८४ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका छन् ।


प्रतिक्रिया दिनुहोस्