बाढीको क्षतिबाट ४ अर्बको बीमा दावी : पौने २ करोड मात्रै भुक्तानी, हालसम्म कुन कम्पनीले कति दिए ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बाढीको क्षतिबाट ४ अर्बको बीमा दावी : पौने २ करोड मात्रै भुक्तानी, हालसम्म कुन कम्पनीले कति दिए ?



काठमाडौं । गत असोज १८ गते यताको अवरिल वर्षापछिको बाढी पहिरोका कारण भएको क्षतिबाट क्षति उपर बीमा कम्पनीहरुमा चार अर्ब बढीको दावी पेश भएको छ ।

नेपाल बीमा प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । बाढी पहिरोको क्षति उपर ७८१ वटा दावी पेश भएका छन् । प्राधिकरणका अनुसार ४ अर्ब ३ करोड ९८ लाख रुपैयाँ बराबरको दावी परेको हो । बाढी पहिरोका कारण ४१० वटा घर तथा भवनमा क्षति पुगेको छ ।

यस्तै, ५० वटा सवारीमा क्षति पुगेको प्रारम्भिक विवरण छ । यता, २१० वटा कृषि, १०६ इञ्जिनियरिङ बीमालेख अन्तर्गत दावी पेश भएको देखिन्छ ।

कम्पनीहरुले दावी भुक्तानीलाई पनि तिव्रता दिएका छन् । हालसम्म बाढी पहिरोको क्षति उपर १ करोड ८७ लाख रुपैयाँ दावी भुक्तानी गरेको देखिन्छन् ।

सम्पत्ति बीमा अन्तर्गत ३ अर्ब ४५ करोड ३४ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ । तर, कम्पनीहरुले ८२ लाख रुपैयाँ भुक्तानी दिएका छन् । यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा अन्तर्गत पनि ५० करोड ३७ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ । तर, यसको भुक्तानी भने १ लाख ९० हजार रुपैयाँ मात्रै देखिन्छ ।

प्राधिकरणका मोटर बीमा अन्तर्गत निजी तर्फ २ करोड ८२ लाख र सार्वजनिक तर्फ १ करोड ८ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ । हालसम्म निजी मोटर बीमा अन्तर्गत ८७ लाख रुपैयाँ दावी भुक्तानी गरेका छन् । सार्वजनिक तर्फ भने अहिलेसम्म भुक्तानी भएको छैन् ।

यता, कृषि बाली बीमालेखमा पनि ४ करोड १३ लाख रुपैयाँ बराबरको दावी परेको छ । यसमा १३ लाख रुपैयाँ भुक्तानी भएको देखिन्छ । यस्तै, लघुबीमा अन्तर्गत १२ लाख रुपैयाँ र सामुन्द्रिक बीमा तर्फ ९ लाख रुपैयाँ दावी पेश भएको छ ।

कुन कम्पनीमा कति दावी–कति भुक्तानी ?

प्राधिकरणका अनुसार सबैभन्दा ठुलो दावी एनएलजी इन्स्योरेन्स कम्पनीमा ७३ करोड १८ लाख रुपैयाँ परेको छ । तर, कम्पनीले हालसम्म ३१ लाख रुपैयाँ मात्रै भुक्तानी दिएको छ ।

दोस्रो धेरै रहेको शिखर इन्स्योरेन्समा ६४ करोड २५ लाख रुपैयाँ बराबरको ६० वटा दावी पेश भएका छन् । शिखर पनि बाढी पहिरोको क्षति उपर ३१ लाख ९६ हजार रुपैयाँ बराबरको भुक्तानी बीमितलाई दिएको छ ।

यता, युनाइटेड अजोडमा ५८ करोड ५६ लाख, सिद्धार्थ प्रिमियरमा ५२ करोड ३६ लाख, हिमालयन एभरेष्टमा ४० करोड ७३ लाख, नेशनलमा २९ करोड २४ लाख, ओरियण्टलमा २१ करोड ४३ लाख, आइजीआई प्रुडेन्सियलमा १७ करोड २९ लाख, सगरमाथामा १३ करोड ८१ लाख, प्रभूमा ११ करोड ९१ लाख, नेपाल इन्स्योरेन्समा १० करोड ५ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ ।

यता, नेको इन्स्योरेन्समा ७ करोड ९७ लाख, सानिमा जिआइसीमा २ करोड ९८ लाख, ट्रस्ट माइक्रोमा ८ लाख ४१ हजार र स्टार माइक्रोमा ८ लाख रुपैयाँ बराबरको दावी परेको छ ।

प्राधिकरणका अनुसार सिद्धार्थ प्रिमियरले १५ लाख ४७ हजार, हिमालयन एभरेष्टले ४ लाख ५९ हजार, ओरियण्टलले १२ लाख ३६ हजार, आइजीआइले ३४ लाख ४० हजार, सगरमाथा लुम्बिनीले १३ लाख ४५ हजार, नेपाल इन्स्योरेन्सले २९ लाख, नेकोले २ लाख ५३ हजार, सानिमाले ४ लाख र ट्रस्ट माइक्राले ७ लाख रुपैयाँ दावी भुक्तानी दिएका छन् ।

तर, हालसम्म बाढी पहिरोको क्षति उपर युनाईड अजोड, नेशनल, प्रभू र स्टार माइक्रोले भने भुक्तानी दिएका छैनन् ।


प्रतिक्रिया दिनुहोस्