९ श्रावण २०८३, शनिबार

नेपाली बजारमा महिन्द्राको साम्राज्य : थप चुलिँदै स्कार्पियो र बोलेरोको आकर्षक, एकै वर्ष सात अर्बको व्यापार



काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रमा साढे तीन दशक बढीको अनुभव बोकेको अग्नि इन्कर्पोरेटेडको व्यापार दोहोरो अंकमा वृद्धि भएको छ । महिन्द्रा ब्रान्डको सवारी साधान बेच्ने कम्पनीले एकै वर्ष सवा ७ अर्बको व्यापार गरेको छ ।

महिन्द्रा सवारी साधनको बिक्री बढ्दो देखिन्छ । जसले कम्पनीको व्यापारमा पनि रफ्तार देखिन्छ । रेटिङ एजेन्सी इक्रा नेपालले उपलब्ध गराएको कम्पनीको पछिल्लो प्रतिवेदनले यस्तो देखाएको हो ।

कम्पनीले सन् २०२५ मा ७ अर्ब १३ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । यो गत वर्ष सन् २०२४ को तुलनामा भने २८.२६ प्रतिशत धेरै हो । जसले महिन्द्रा ब्रान्डको लोकप्रियता र बजारमा यसको पकडलाई थप मजबूत बनाएको छ । जबकि, गत वर्ष कम्पनीले ५ अर्ब ५५ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

कोभिड महामारीपछि सुस्ताएको व्यापार पुन: लयमा फर्किएको छ । कम्पनीले एकै वर्ष झन्डै १३ अर्ब हाराहारीको व्यापार गरेको रेकर्ड छ । तर, केही समयदेखि भने गति लिन सकिरहेको थिएन् । हाल भने व्यापार विस्तारमा रणनीतिक ढंगले अघि बढेको छ ।

कम्पनीले अघिल्लो वर्ष सन् २०२३ मा ५ अर्ब १४ करोड ५० लाख रुपैयाँ बराबरको सवारी बिक्री गरेको थियो । त्यसअघिका दुई वर्ष भने निकै रेकर्डस्तरमा व्यापार भएको प्रतिवेदनमा देखिन्छ । कम्पनीले सन् २०२२ मा १२ अर्ब ९३ करोड ७० लाख रुपैयाँ र सन् सन् २०२१ मा १२ अर्ब ८ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

अग्नि इन्कर्पोरेटेड नेपालमा महिन्द्राको सवारी साधनको विक्री गर्ने प्रमुख कम्पनी हो । अग्नि इन्कर्पोरेटेडको व्यापारको ठूलो हिस्सा महिन्द्राका चर्चित मोडल, स्कार्पियो र बोलेरो माथि निर्भर रहेको देखिएको छ । कुल कारोबारमा यी दुई मोडलको योगदान ९० प्रतिशत छ । साथै, व्यावसायिक सवारी साधन, विशेष गरी पिकअप र ट्रयाक्टर सेग्मेन्टको मागमा ६५ प्रतिशत बढेको प्रतिवेदनमा उल्लेख छ । यसलाई कम्पनीको लागि एक सकारात्मक संकेत मानिएको छ ।

आगामी दिनहरूमा विद्युतीय सवारी साधनको बजारमा थप प्रगति गर्ने योजना बनाइरहेको कम्पनीले जनाएको छ । यस वर्ष कम्पनीले नयाँ मोडलका विद्युतीय सवारी साधन पनि सार्वजनिक गरेका छन् । यसले आगामी दिनहरुमा थप व्यापार बढ्ने अनुमान गरिएको छ ।

महिन्द्राको आधिकारिक बिक्रेता १९९१ मा स्थापना भएको अग्नि इन्कर्पोरेटेडले देशभर १७ वटा शोरुम र १६ वटा प्रादेशिक डिलरसिप शाखा सञ्चालन गर्दै आएको छ । कम्पनीमा क्याबिनेट श्रेष्ठ, सुसन वैद्य र अर्जुनप्रसाद शर्माको सेयर स्वामित्व छ । उनीहरुले कम्पनीलाई अझ बढी विस्तार र वृद्धिका लागि रणनीतिहरू बनाउन निरन्तर काम गरिरहेका छन् ।

कम्पनीको वित्तीय स्थितिको पनि राम्रो मूल्याङ्कन गराएको छ । कम्पनीले ३ अर्ब २६ करोड ५० लाख रुपैयाँ बराबरको दीर्घकालीन र अल्पकालीन कर्जाका लागि रेटिङ गराएको हो ।


प्रतिक्रिया दिनुहोस्