जेनजी आन्दोलन : बीमा दावी भुक्तानीमा निजी कम्पनीको रफ्तार, सिद्धार्थ एक्लैले दियो डेढ अर्ब, सरकारीको शून्य
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्षति उपर निर्जीवन बीमा कम्पनीहरुले धमाधम दावी भुक्तानी दिएका छन् । कम्पनीहरुले बीमितको सहजताका लागि दावी भुक्तानीलाई तिव्रता दिइरहेका छन् ।
हालसम्म कम्पनीहरुले साढे चार अर्ब बराबरको दावी भुक्तानी दिएका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । मंसिर १७ गतेसम्मको विवरण अनुसार कम्पनीहरुले कुल दावीको १८.७० प्रतिशत भुक्तानी दिएका छन् ।
प्राधिकरणका अनुसार कम्पनीहरुमा जेनजी आन्दोलनको क्षति उपर २३ अर्ब ४४ करोड ६ लाख रुपैयाँ बराबरको ३ हजार ३०० वटा दाव पेश भएका छन् । आन्दोलनबाट ७१० वटा घर तथा भवनहरुमा क्षति पुगेको छ । जसको क्षति उपर १९ अर्ब ८८ लाख रुपैयाँ बढीको दावी पेश भएका छन् ।
यता, मोटर बीमा अन्तर्गत ३ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ बराबरको २ हजार ३०८ वटा दावी पेश भएको छ । यस्तै, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा ५५ करोड ५५ लाख, परिवहन बीमामा १ करोड ६८ लाख र अन्य बीमामा ३८ करोड ४० लाख रुपैयाँ बराबरको दावी पेश भएका छन् ।
तर, कम्पनीहरुले सम्पत्ति बीमा अन्तर्गत ३ अर्ब २१ करोड ८९ लाख, मोटर बीमा अन्तर्गत १ अर्ब ८ करोड ६० लाख, इन्जिनियरिङ बीमामा ६ करोड ८१ लाख, परिवहनमा ६६ लाख र अन्य बीमामा ४९ लाख रुपैयाँ दावी झुत्रानी दिका छन् ।
सिद्धार्थ प्रिमियर एक्लैले दियो डेढ अर्ब, कसले कति दिए ?
जेनजी आन्दोलनको क्षति उपर सबैभन्दा ठुलो दावी भुक्तानी सिद्धार्थ प्रिमियरले दिएको छ । कम्पनी एक्लैले १ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ बराबरको भुक्तानी दिएको हो । जबकि, कम्पनीमा ५ अर्ब ५३ करोड ५६ लाख रुपैयाँ बराबरको दावी पेश भएका छन् ।
दोस्रो धेरै शिखर इन्स्योरेन्सले ७१ रकोड ११ लाख रुपैयाँ भुक्तानी दिएको छ । कम्पनीमा बीमितले २ अर्ब ४० करोड ५८ लाख रुपैयाँ बराबरको दावी पेश गरेका छन् । तेस्रो सूचीमा रहेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ६६ करोड १ लाख रुपैयाँ बरारबको दावी बीमितलाई दिएको छ । जबकि, कम्पनीमा ५ अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको दावी परेको छ । जेनजी आन्दोलनको क्षतिले ओरियण्टल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा दावी दायित्व उच्च छ ।
प्राधिकरणका अनुसार हिमालयन एभरेष्टमा ९७ करोड २६ लाख रुपैयाँ बराबरको दावी परेको छ । तर, कम्पनीले ३० करोड ६५ लाख रुपैयाँ भुक्तानी दिएको छ ।
यता, नेको इन्स्योरेन्सले २२ करोड ५९ लाख, सागरमाथा लुम्बिनीले २० करोड ९९ लाख, नेपाल इन्स्योरेन्सले १८ करोड ४ लाख र एनएलजीले १७ करोड २७ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ । यी कम्पनीहरुमा क्रमश: १ अर्ब २० करोड ७१ लाख, १ अर्ब ४९ करोड १९ लाख, ४६ करोड ५२ लाख र ६३ करोड ९५ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ ।
समिक्षा अवधिमा आइपुग्दा ५ अर्ब ४३ करोड ७० लाख रुपैयाँ दावी परेको ओरियण्टलले भने हालसम्म ९ करोड १२ लाख रुपैयाँ भुक्तानी दिएको छ ।
यस्तै, सानिमा जिआइसीले ८ करोड ८१ लाख, युनाइटेड अजोड ५ करोड २० लाख, प्रभूले ५० लाख, नेशनलले २७ लाख, प्रोटेक्टिभ माइक्राले ५२ लाख, ट्रस्ट माइक्रोले २९ लाख, नेपाल माइक्रोले २२ लाख र स्टार माइक्रोले ३ लाख रुपैयाँ भुक्तानी दिएका छन् ।
तर, सरकारी कम्पनी राष्ट्रिय बीमा कम्पनील भने हालसम्म जेनजी आन्दोलनको क्षति उपर कुनै पनि भुक्तानी दिएको छैन् । कम्पनीमा ५८ करोड ६९ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ । कम्पनीका बीमितले २४७ वटा दावी पेश गरेका छन् । आन्दोलनको तीन महिना बितिसक्दा पनि कम्पनीको शून्य भुक्तानी देखिन्छ ।













