एकै महिना बैंकहरुले कमाए ६ अर्ब नाफा, कुन बैंकले कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एकै महिना बैंकहरुले कमाए ६ अर्ब नाफा, कुन बैंकले कति ?



काठमाडौं । एकै महिना वाणिज्य बैंकहरुले ६ अर्ब नाफा कमाएका छन् । हाल संचालनमा रहेका २० वटै बैंकहरुले गत कात्तिक महिनामा मात्रै सो बराबरको नाफा कमाएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

कात्तिकमा मात्रै बैंकहरुले ६ अर्ब २ करोड ७४ लाख रुपैयाँ नाफा कमाएका छन् । गत असोज मसान्तसम्म ती बैंकहरुले १३ अर्ब ३४ करोड बढी नाफा कमाएका थिए । तर, कात्तिक मसान्तसम्म आइपुग्दा भने बढेर १९ अर्ब ३७ करोड ५४ लाख बढी नाफा कमाएका छन् ।

कात्तिकको मात्रै आँकडा अनुसार नाफामा नबिल बैंकले नै पहिलो सूचीमा छ । एकै महिना नबिल बैंकले ७१ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमईले पनि ६५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ ।

तेस्रो सूचीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ५८ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । यता, राष्ट्रिय वाणिज्य बैंकले पनि ५३ करोड ५६ लाख, एनएमबिले ३५ करोड ९७ लाख, सिद्धार्थले ३३ करोड ८७ लाख, एभरेष्टले ३३ करोड ४१ लाख, प्राइमले ३२ करोड ७६ लाख, सानिमाले ३२ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै, लक्ष्मी सनराइजले २९ करोड ५८ लाख, स्ट्याण्डर्ड चार्टर्डले २२ करोड ३६ लाख, नेपाल बैंकले २२ करोड १५ लाख, एनआइसी एशियाले २२ करोड १२ लाख, माछापुच्छ्रेले १९ करोड २० लाख, प्रभूले १७ करोड ९२ लाख, नेपाल एसबिआईले १७ करोड ४ लाख, कुमारीले १२ करोड ३७ लाख, हिमालयनले १२ करोड ४ लाख, कृषि विकासले ६ करोड ९२ लाख र सिटिजन्स बैंकले ३ करोड ८४ लाख रुपैयाँ बराबरको खुद नाफा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्