बीमा क्षेत्रमा नयाँ ट्रेन्ड : सेयर बजारमा आक्रामक लगानी, कसको कति छ ?
काठमाडौं । नेपालको बीमा क्षेत्रमा पछिल्लो समय एक नयाँ ट्रेन्ड देखिएको छ । हाल कम्पनीहरु सेयर बजारमा लगानी बढाउन केन्द्रित छन् । सेयर बजारमा लगानी बढाउन बीमा कम्पनीहरु निकै आक्रामक रुपमा तातिएका छन् ।
घट्दो ब्याजदर र आर्थिक अनिश्चितताले गर्दा बीमा कम्पनीहरुलाई पारम्परिक लगानी विधिहरू भन्दा सेयर बजारमा आकर्षण बढेको देखिन्छ । एक वर्षको अवधिमा कम्पनीहरुले १७ अर्ब १८ करोड बढी लगानी थपेका छन् । कुल लगानी ४८ अर्ब नाघेको छ ।
नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्षको पहिलो त्रैमासिक लगानी सम्वन्धीको विवरणले यस्तो देखाएको हो ।
सो अवधिमा आइपुग्दा कम्पनीहरुले ४८ अर्ब ११ करोड ११ लाख रुपैयाँ लगानी सेयर बजारमा गरेका छन् । यो गत वर्षको तुलनामा ५५.५५ प्रतिशत बढी हो । जबकि, गत आवको पहिलो त्रैमासमा कम्पनीहरुको ३० अर्ब ९२ करोड ९५ लाख रुपैयाँ लगानी सेयर बजारमा थियो ।
बीमा कम्पनीहरुको ठुलो लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप हुने गरेको छ । तर, पछिल्लो ब्याजदर निरन्तर घट्न थालेसँगै कम्पनीहरुले सेयर बजारमा लगानी बढाउन थालेका हुन् । हाल अर्थतन्त्रका विभिन्न क्षेत्रमा बीमा कम्पनीहरुको कुल लगानी ८ खर्ब ९२ अर्बभन्दा बढी छ ।
प्राधिकरणले बीमा कम्पनीहरूलाई सेयरबजारमा लगानीको सीमा १५ प्रतिशतसम्म पुर्याएको छ । यस्तो सीमा अघिल्लो वर्षसम्म ५ प्रतिशत मात्र थियो । यसले बीमा कम्पनीहरूको सेयर बजारमा लगानीको प्रवृत्तिमा वृद्धि गरेको छ ।
सेयर बजारमा लगानी बढाउन जीवन बीमा आक्रामक, एकै वर्ष ५१.६६ प्रतिशत बढाए
सेयर बजारमा लगानी बढाउने मामलामा जीवन बीमा कम्पनीहरु आक्रामक देखिएका छन् । एकै वर्ष कम्पनीहरुले ५१.६६ प्रतिशत बढाएर ३७ अर्ब ७१ करोड ४ लाख रुपैयाँ पुर्याएका छन् । जबकि, गत आवको पहिलो त्रैमासमा कम्पनीहरुको २४ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ बराबरको लगानी सेयर बजारमा रहेको थियो ।
सेयर बजारमा सबैभन्दा ठुलो लगानी हिमालयन लाइफको छ । कम्पनीले सेयरमा ११ अर्ब ३९ करोड ८४ लाख रुपैयाँ लगानी गरेको देखिन्छ । जुन, गत वर्षको तुलनामा ६१.४५ प्रतिशत धेरै हो । दोस्रो धेरै नेपाल लाइफको ६ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ रहेको छ । नेपाल लाइफको सेयर बजारमा लगानी ८९.७९ प्रतिशत बढेको हो ।
तेस्रो स्थानमा रहेको सूर्यज्योति लाइफको सेयर बजारमा लगानी ६४.९३ प्रतिशत बढेर ३ अर्ब ८८ करोड ४६ लाख रुपैयाँ कायम भएको छ । प्राधिकरणका अनुसार एशियन लाइफको १३.७५ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको ९०.४४ प्रतिशत घटेको देखिन्छ । यी बाहेक सबै जीवन बीमकले लगानी बढाएका छन् ।
यता, लाइफ इन्स्योरेन्स कर्पोरशेन (एलआइसी) नेपालको पनि बजारमा २ अर्ब ९९ करोड ६३ लाख रुपैयाँ छ । जुन गत वर्षको तुलनामा ४८.३९ प्रतिशत धेरै हो । यस्तै, आइएमई लाइफको लगानी पनि ७६.९४ प्रतिशत बढेर २ अर्ब ३० करोड २४ लाख रुपैयाँ पुगेको छ ।
लगानी बढाउने मामलामा सानिमा रिलायन्स अगाडि छ । कम्पनीको लगानी ११४.६५ प्रतिशत बढेको छ । प्राधिकरणका अनुसार सेयर बजारमा रिलायवल नेपालको १ अर्ब ९३ करोड १६ लाख, प्रभू महालक्ष्मीको १ अर्ब ७३ करोड २६ लाख, सन नेपालको १ अर्ब ६८ करोड ५५ लाख, सिटिजनको १ अर्ब ४९ करोड ७८ लाख, नेशनल लाइफको १ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ छ ।

निर्जीवन बीमाको सवा पाँच अर्ब लगानी, कसको कति लगानी ?
हाल सेयर बजारमा निर्जीवन बीमा कम्पनीको लगानी ५ अर्ब १६ करोड २ लाख रुपैयाँ पुगको छ । यो गत वर्षको तुलनामा भने २७.०२ प्रतिशत धेरै हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीहरुले ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका थिए ।
समिक्षा अवधिमा आइजीआई प्रुडेन्सियलको ९.४९ प्रतिशत, सानिमा जिआइसीको ९.१० प्रतिशत र प्रभू इन्स्योरेन्सको ४.१७ प्रतिशत घटेको छ । यी बाहेकका अन्य सबै कम्पनीहरुले लगानी बढाएका छन् । निर्जीवन तर्फ सेयर बजारमा सबैभन्दा ठुलो लगानी राष्ट्रिय बीमा कम्पनीको ७९ करोड ४१ लाख रुपैयाँ छ ।
यता, नेको इन्स्योरेन्सको ६५ करोड ८० लाख, सिद्धार्थ प्रिमियरको ६१ करोड ८० लाख, सगरमाथा लुम्बिनीको ६३ करोड ५९ लाख, युनाइटेड अजोडको ३६ करोड ७७ लाख, हिमालयन एभरेष्टको ३६ करोड ५० लाख, नेपाल इन्स्योरेन्सको ३३ करोड ७१ लाख रुपैयाँ लगानी सेयर बजारमा गरेका छन् ।
यस्तै, शिखर इन्स्योरेन्सले पनि सेयर बजारमा २८ करोड ५३ लाख, एनएलजीले २० करोड ७८ लाख रुपैयाँ लगानी गरेको देखिन्छ ।

पुनर्बीमा र लघुबीमाको लगानी कति ?
यता, सेयर बजारमा लगानी बढाउन पुनर्बीमा कम्पनी र लघुबीमा पनि तातिएका छन् । प्राधिकणका अनुसार हाल हिमालयन लाइफको सेयर बजारमा ५ अर्ब १९ लाख रुपैयाँ लगानी देखिन्छ । जबकि, गत आवको पहिलो त्रैमासमा कम्पनीको १ अर्ब ८९ करोड २९ लाख रुपैयाँ रहेको थियो ।
यता, नेपाल रिलायन्सको पनि ९ करोड ४७ लाख रुपैयाँ लगानी गरेको देखिन्छ ।
प्राधिकरणका अनुसार हाल लघुबीमा तर्फ भने १४ करोड ३८ लाख रुपैयाँ लगानी पुगेको छ । हाल क्रेष्ट माइक्रा लाइफको ६ करोड ६० लाख, प्रोटेक्टिभ माइक्रा इन्स्योरेन्स १ करोड ७१ लाख, लिवर्टीको ५ करोड २१ लाख र ट्रष्ट माइक्रा इन्स्योरेन्सको ८३ लाख रुपैयाँ लगानी सेयर बजारमा देखिन्छ ।













