मन्दीबाट ब्यूँतिँदै निर्माण क्षेत्र, लगानी बढाउन बैंकहरू उत्साहित
काठमाडौं । थलिएको निर्माण क्षेत्र पुन: उकालो यात्रातर्फ फर्किएको छ । लामो समयदेखि सुस्ताउँदै आएको निर्माण क्षेत्र फेरि चलायमान बन्दै गएको छ ।
आर्थिक गतिविधिमा देखिएको मन्दी, निर्माण सामग्रीको आयात र उत्पादनमा आएको गिरावट तथा विभिन्न आयोजनामा देखिएको ढिलाइ र स्थगनले थला परेको यस क्षेत्र पछिल्ला महिनाहरूमा बिस्तारै लयमा फर्किन थालेको हो ।
केही समयअघिसम्म निर्माण व्यवसायीदेखि बैंक तथा वित्तीय संस्थासम्मको मनोबल कमजोर बनेको अवस्थामा थियो । महिनौँसम्म निष्क्रिय बनेका निर्माणस्थलहरू पुन: सक्रिय हुन थालेका छन् भने निर्माणजन्य गतिविधिमा आएको गति सँगै बैंकहरूको कर्जा प्रवाह पनि उल्लेख्य रूपमा बढेको छ । बैंकहरुबाट निर्माण क्षेत्रमा जाने कर्जा दोहोरो अंकमा बढेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । विशेषगरी गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि क्षतिग्रस्त बनेका भौतिक संरचनाहरूको पुनर्निर्माण तीव्र बनेसँगै निर्माण क्षेत्रमा माग बढेको हो । निर्माण सिजनले पनि रफ्तार लिँदा बैंकहरूको लगानी विस्तार हुँदै गएको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्म आइपुग्दा निर्माण क्षेत्रमा वाणिज्य बैंकहरुको ऋण लगानी २ खर्ब ११ अर्ब १४ करोड ७६ लाख रुपैयाँ कायम भएको छ । यो गत वर्षको तुलनामा भने १२.३७ प्रतिशत धेरै हो । जबकि, गत आवको कात्तिक मसान्तसम्म यस्तो शीर्षकमा बैंकहरुले १ खर्ब ८७ अर्ब ९० करोड रुपैयाँ लगानी गरेका थिए । एक वर्षको अवधिमा नै बैंकहरुबाट निर्माण क्षेत्रमा २३ अर्ब २४ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।
अधिकांश बैंकहरु निर्माण क्षेत्र चलायमान बनाउन तातिएका छन् । समिक्षा अवधिमा ५ वटा बैंकहरु पुरानै कर्जा असुलीमा देखिन्छन् । राष्ट्र बैंकका अनुसार नेपाल एसबिआई, कुमारी, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा र कृषि विकास बैंकले भने यस्तो कर्जा घटाएका छन् । तर, त्यसबाहेकका अन्य सबै बैंकहरु निर्माण क्षेत्रमा जाने कर्जा व्यापाक मात्रामा बढाएका छन् ।

निर्माण क्षेत्रमा नबिल, लक्ष्मी सनराइज र एनआइसीको ठुलो लगानी, कर्जा बढाउने मामलामा सिटिजन्स, एभरेष्ट शीर्ष सूचीमा
निर्माण क्षेत्रमा सबैभन्दा ठुला ऋण लगानी नबिल, लक्ष्मी सनराइज र एनआइसी एशियाको छ । राष्ट्र बैंकका अनुसार हाल नबिल बैंकको २५ अर्ब ९१ करोड १९ लाख रुपैयाँ निर्माण क्षेत्रमा ऋण लगानी गरेको देखिन्छ। यो गत वर्षको तुलनामा ७.४१ प्रतिशत बढी हो ।
दोस्रो ठुलो लगानी लक्ष्मी सनराइजको २२ अर्ब ७० करोड ७७ लाख रुपैयाँ छ । बैंकले निर्माण क्षेत्रका जाने कर्जाको आकार एक वर्षमा २५.४३ प्रतिशत बढाएको हो ।
तेस्रो स्थानमा रहेको एनआइसी एशियाले पनि कर्जाको आकार २६.६४ प्रतिशत बढाएर २१ अर्ब ९ करोड १३ लाख रुपैयाँ पुर्याएको छ ।
निर्माण क्षेत्रमा जाने कर्जा बढाउन मामलामा भने सिटिजन्स बैंक पहिलो सूचीमा छ । बैंकले यस्तो शीर्षकको कर्जा ३९.८७ प्रतिशत बढाएर १७ अर्ब ५५ करोड १९ लाख रुपैयाँ पुर्याएको छ । दोस्रो सूचीमा रहेको एभरेष्टले पनि ३५.६९ प्रतिशत बढाएर ४ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ पुर्याएको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा माछापुच्छ्रे बैंकको ३२.५१ प्रतिशत, एनएमबि बैंकको ३०.४७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २३.२२ प्रतिशत, प्राइमको २१.८० प्रतिशत, नेपाल बैंकको १८.८७ प्रतिशत, ग्लोबल आइएमईको १७.२७ प्रतिशत, हिमालयनको ११.४४ प्रतिशत, सानिमाको ८.३१ प्रतिशत, प्रभूको ५.११ प्रतिशत वृद्धि भएको छ ।
यता, नेपाल एसबिआईको भने ४८.१४ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको १३.५४ प्रतिशत, कुमारीको ९.३७ प्रतिशत, सिद्धार्थको ८.०९ प्रतिशत, कृषि विकासको २.६६ प्रतिशत र एनआइएमबिको २.२४ प्रतिशत घटेको छ ।
निर्माण क्षेत्रमा कुन बैंकको कति लगानी ? (रकम दश लाखमा)














