महानगरपालिकामा शाखा समायोजन गर्न राष्ट्र बैंकले दियो खुल्ला छुट
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शहरी क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको शाखा घटाउन पूर्ण स्वतन्त्रता दिएको छ ।
सरकारी कार्यालयहरुमा सेवा प्रवाहका लागि भनेर खोलिएका शाखाबाहेक महानगरपालिका क्षेत्रभित्रका सबै शाखाहरु बैंकले आफ्नै मनखुसी आपसमा गाभ्न सक्ने भएका हुन् ।
दुई वा दुई भन्दा बढी शाखाहरु एक आपसमा गाभेर एउटा शाखा कायम गनै बैंकलाई नै स्वतन्त्रता दिइएको राष्ट्र बैंकले परिपत्रमार्फत् भनेको छ ।
यसका लागि अब बैंकहरुले ३ महिने सूचना निकालेर शाखाहरु गाभ्न सक्ने भएका छन् । तर केही बैंकरले मागेजस्तो शाखा कार्यालयहरु किनबेच (स्वाप) गर्ने विषयमा भने केन्द्रिय बैंकले अनुमति दिएन ।
यसरी गाभिने शाखामा कारोबार गर्ने ऋणीले कुनै पनि सेवा बन्द गर्न चाहेमा वा ऋण चुक्ता गर्न चाहेमा पनि नि:शुल्क गरिदिनुपर्ने निर्देशन राष्ट्र बैंकले दिएको छ ।
यस्तो छ केन्द्रिय बैंकको निर्देशन :
- विद्युतीय भुक्तानी कारोबार बढीरहेको तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयमले महानगरपलिकामा रहेका शाखा समायोजन/एकीकरण गर्न सक्नेछन् ।
- सरकारी निकाय वा सार्वजनिक संस्था लक्षित गरी स्थापना भएको शाखाको हकमा उक्त संस्थाको लिखित सहमति पश्चात् मात्र शाखा समायोजन गर्न सकिनेछ ।
- शाखा समायोजन गर्नुपूर्व सरोकारवालाको जानकारीका लागि कम्तिमा ९० (नब्बे) दिनको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेबसाइट र उक्त शाखाको सूचनापाटीमा समेत प्रकाशन गर्नुपर्नेछ ।
- दुई वा सोभन्दा बढी शाखाहरु समायोजन हुने अवस्थामा समायोजन हुने शाखाका ग्राहकले उक्त संस्थाको कर्जा चुक्ता गर्न चाहेमा वा अन्य सेवा बन्द गर्न चाहेमा कुनै पनि प्रकारका शुल्क नलिई कर्जा चुक्ता वा सेवा स्थगित गर्न सक्ने व्यवस्था मिलाउनु पर्नेछ ।
- शाखा समायोजन गरेको ३ कार्यदिनभित्र यसको विवरण नेपाल राष्ट्र बैंक समक्ष पेश गर्नुपर्नेछ ।













