९ श्रावण २०८३, शनिबार

बैंकका कर्मचारी कुटपिट घटनामा राष्ट्र बैंकले मुख खोल्यो, कारबाही गर्न आग्रह



काठमाडौं । बैंकका कर्मचारी कर्जा असुली गर्न जाँदा कुटपिट र दुर्व्यवहार भएको घटना प्रति नेपाल राष्ट्र बैंकले पनि मुख खोलेको छ । आज राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै घटना प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

हालैका दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको राष्ट्र बैंकले बताएको छ । ‘नेपाल सरकार, यस बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीय स्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका वित्तीय सेवा प्राप्त गर्न सहज भएको छ ।’, बैंकले भनेको छ ।  

केन्द्रीइ बैंकको निर्देशनको अधिनमा रहीे कर्जा प्रवाह गर्नु, प्रवाह गरेको कर्जा सम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य भएको राष्ट्र बैंकको भनाई छ । 

‘बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गर्ने भएकोले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने, तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने हुन्छ’, विज्ञप्तीमा उल्लेख छ, ‘यद्यपि, कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा परेको असहजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले समय–समयमा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्नसक्ने लगायतका व्यवस्था गरी सहजीकरण गर्दै आएको छ ।’

बंैकिङ कारोबार सम्बन्धमा कुनै गुनासो भएमा सम्बन्धित संस्था, केन्द्रीय बैंकमा गुनासो गर्न र समाधान गर्न सकिने बैंले सर्वसाधारणलाई भनेको छ । ‘कर्मचारीविरुद्घ भएका गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने भएकोले वित्तीय सेवा प्रभावित हुने क्रियाकलापमा संलग्न नहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’, राष्ट्र बैंकले भनेको छ ।  

बैंकका कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने भएकाले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई मनोबल उच्च राखी कार्य गर्न नेपाल राष्ट्र बैंकको अनुरोध गरेको छ । 


प्रतिक्रिया दिनुहोस्