९ श्रावण २०८३, शनिबार

राष्ट्र बैंकले एक महिनामा खिच्यो ४ खर्ब १५ अर्ब निक्षेप 



काठमाडौं । यतिखेर बैंकिङ प्रणालीमा लगानीयोग्य रकम फालाफाल भएको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न नसकेर बैंकिङ प्रणालीमा पैसा थुप्रिएको हो । 

यसरी पैसा थुप्रिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप खिचेर तरलता व्यवस्थापन गर्ने गरेको छ । तरलता व्यवस्थापन गर्ने राष्ट्र बैंकले एक महिनाको अवधिमा ४ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । 

आज मात्र पनि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । सोसँगै एक महिनामा राष्ट्र बैंकले ९ पटक निक्षेप संकलन गरेको छ । 

राष्ट्र बैंकले मंसिरमा मात्र ८ पटक निक्षेप संकलन गरेको थियो । जसमा ३ गते ५० अर्ब, ७ गते ५० अर्ब, १० गते ३० अर्ब, १४ गते ४० अर्ब र १७ गते ६० अर्ब रुपैयाँ तरलता व्यवस्थापन गर्न निक्षेप खिचेको थियो । 

साथै, मंसिरकै २१ गते ९० अर्ब, २४ गते ४० अर्ब र २८ गते ३५ अर्ब रुपैयाँ निक्षेप राष्ट्र बैंकले बैंंकिङ प्रणालीबाट खिचेको थियो । 

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा निर्धारण हुने गर्छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकको भनाई छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन्छन् । 


प्रतिक्रिया दिनुहोस्