प्राइम र एसबीआई बैंक साह्रै छुच्चा, विज्ञापनमा कसले गर्छ ज्यादा लगानी ?
काठमााडौँ । पछिल्लो समय कर्पोरेट जगतले सञ्चारमाध्यमहरुको सम्पादकीय स्वतन्त्रता खोस्न ‘धन बल’ प्रयोग गरिरहेको भनेर संसारभर नै आवाज उठ्ने गरेको छ । अमेरिकामा केही महिनाअघि भएको राष्ट्रपति निर्वाचनका क्रममा त्यहाँका विश्वप्रसिद्ध सञ्चारसंस्थाहरुले पैसाकै कारण ‘सत्य सूचना’ नलेखेको भनेर शीर्षस्थ भूमिकामा रहेका पत्रकारहरुले राजिनामा दिएका थिए ।
भारतमा कुनै बेला प्रसिद्ध रहेका र अहिले त्यहाँको कांग्रेसआईलाई प्रबर्द्धन गर्न लागिपरेका पत्रका रविशकुमारले पैसाकै बलमा मिडियाले आफ्नो अस्तित्व गुमाउँदै गएको भनेर निरन्तर लबिङ गर्दै आएका छन् ।
यस्तो बेला नेपालमा पनि केही बैंकहरुले निश्चित सञ्चार संस्थालाई असामान्य रुपमा भुक्तानी दिएको खबर बाहिर आयो । प्रभू बैंकले गरेको विज्ञापन खर्चका बारेमा दैनिकी डटकममा पत्रकार माधव तिवारीले लेखेका छन्— ‘आर्थिक वर्ष २०८१/८२ मा मात्र ३५ करोड रूपैयाँ खर्च गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा अनलाइनखबर र बिजमाण्डुमा समान ७३ लाख ४५ हजार रूपैयाँ दिएको छ । त्यस्तै रोतोपाटीमा ४२ लाख, अर्थ सरोकारमा ३३ लाख ९० हजार र जनअस्थामा ३० लाख रूपैयाँ विज्ञापन बापत भुक्तानी भएको छ । अर्थ सरोकारले अघिल्लो अर्थिक वर्ष २०८०/८१ मा ६२ लाख १५ हजार रूपैयाँ लिएको भए पनि गत वर्ष ३३ लाख ९० हजार रूपैयाँ मात्र प्राप्त गरेको छ ।’
त्यसो त, बैंकहरुले पत्रकार र सञ्चार संस्थासँग सम्बन्ध टिकाउनैका लागि मात्रै विज्ञापन गर्दैनन् । कानूनी रुपमा पनि कयौँ तरिकाका विज्ञापनहरु गर्नुपर्ने बाध्यता हुन्छ । हरेक तीन महिनामा वित्तीय विवरण प्रकाशन गर्नेदेखि ऋण नतिर्नेहरुलाई सूचना निकाल्नेसम्मका लागि बाध्यात्मक रुपमा विज्ञापनमा खर्च गर्नुपर्छ, जुन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा छाप्नुपर्ने कानूनी व्यवस्था छ । तर, राष्ट्र बैंक स्रोतको हवाला दिँदै लेखिएको उक्त समाचारमा उल्लेखित सञ्चारमाध्यममध्ये एउटामात्रै पत्रिका छ ।
यद्यपि, उनले प्रस्तुत गरेको तथ्यांकले ठूला बैंकहरुमध्ये सञ्चार क्षेत्रप्रति कुन बढी सकारात्मक छ भन्ने विषयमा चाहीँ केही रोचक सन्देश दिएको छ ।
पछिल्ला चार आर्थिक वर्षमा विज्ञापनकै लागि भनेर सबैभन्दा धेरै खर्च गर्ने वाणिज्य बैंकमध्ये एनआईसी एसिया शीर्ष स्थानमा देखिएको छ । यो बैंकले पछिल्लो चार आर्थिक वर्षमा (२०७७/७८ देखि २०८०/८१ सम्म) ९७ करोड ५० लाख २२ हजार ३२० रुपैयाँ विज्ञापनका लागि भुक्तानी दिएको विवरणमा देखिन्छ ।
दोस्रो नम्बरमा प्रभू बैंक रहेको छ । उसले पछिल्ला चार आर्थिक वर्षमा ९२ करोड २ लाख ५४ हजार ८८४ रुपैयाँ खर्च गरेको देखिन्छ । पछिल्लो आर्थिक वर्षमा प्रभूले दैनिकीको समाचारमा भनिएजस्तो ३५ करोड त होइन, २० करोड २० लाख रुपैयाँ हाराहारी खर्च गरेको तथ्यांकमा देखिन्छ ।
प्रभूमा गाभिएको सेञ्चुरी बैंकले सुरुका दुई वर्ष (मर्जर अघि) विज्ञापनमा गरेको खर्च समेत जोड्ने हो भने प्रभूको हिस्सामा ९४ करोड ३० लाख ८४ हजार रुपैयाँ हाराहारी हुन्छ । त्यसपछिको स्थान ग्लोबल आईएमईको छ । उसले वितेको चार आर्थिक वर्षमा ४५ करोड ९६ लाख ३२ हजार ७ सय रुपैयाँ विज्ञापनको भुक्तानीमा खर्च गरेको छ । ग्लोबलमा गाभिएको बैंक अफ काठमाण्डूको पनि हिसाब जोड्ने हो भने चार वर्षमा कुल ४८ करोड ४९ लाख ८५ हजार रुपैयाँ खर्च गरेको देखिन्छ ।
चौँथो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । उसले चार वर्षमा ३४ करोड ६६ लाख १० हजार रुपैयाँ विज्ञापनबापत भुक्तानी दिएको देखिन्छ । यस बैंकमा गाभिएको मेगा बैंकको सुरुआति दुई वर्षको हिसाब जोड्दा ४० करोड ५६ लाख ५८ हजार रुपैयाँ हुन्छ । त्यसपछिको ठूलो विज्ञापनदाता चाहीँ सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक हो । उसले यी चार वर्षमा ३२ करोड ७९ लाख रुपैयाँभन्दा बढी पैसा विज्ञापनमा भुक्तानी दिएको छ ।
हिमालयन बैंकले ३० करोड ४२ लाख २५ हजार रुपैयाँ चार वर्षमा विज्ञापनका लागि खर्चेको देखिन्छ । हिमालयनमा गाभिएको सिभिल बैंकले अघिल्ला दुई वर्षमा गरेको खर्च (५ करोड ९१ लाख)लाई पनि जोड्ने हो भने उसको कुल खर्च ३६ करोड ३३ लाख ५२ हजार पुग्छ, जुन राष्ट्रिय वाणिज्य बैंकको भन्दा ज्यादा हो ।
वित्तीय कारोबारका कयौँ सूचकमा सबैभन्दा ठूलो बैंक रहेको नबिलले भने विज्ञापनमा केही आलस्यता देखाएको देखिन्छ । उसले वितेका चार वर्षमा २८ करोड ८८ लाख रुपैयाँ हाराहारीमात्रै खर्च गरेको छ । नबिलमा नेपाल बाङ्लादेश बैंकसमेतको खर्च जोड्ने हो भने पनि उसको कुल खर्च ३० करोड ९ लाखमात्रै हुन्छ ।
यस बाहेक लक्ष्मी सनराइजले २७ करोड २६ लाख, सानिमाले २४ करोड ९७ लाख, एनएमबीले २३ करोड ३१ लाख, कृषि विकास बैंकले १७ करोड ४९ लाख, एभरेष्टले १६ करोड ८१ लाख, कुमारीले १६ करोड ६३ लाख, माछापुच्छ्रेले १६ करोड १२ लाख, सिटिजन्सले १५ करोड ४० लाख, स्ट्याण्डर्ड चार्टर्डले १० करोड ५३ लाख, सिद्धार्थले १० करोड ५ लाख र नेपाल बैंकले ९ करोड ४४ लाख रुपैयाँ विगत चार वर्षमा विज्ञापनबापत भुक्तानी गरेको देखिन्छ ।
यसमध्ये विगत चार वर्षभित्रै मर्जर भएका बैंकमध्ये लक्ष्मीसनराइजले दुबै संस्थाको तर्फबाट गरेको कुल विज्ञापन खर्च २९ करोड ६० लाख रुपैयाँभन्दा बढी देखिन्छ, जुन नबिलभन्दा पछाडीको सबैभन्दा ठूलो रकम हो । एनसीसीलाई मिसाएको कुमारी बैंकले भने दुबै संस्थाको कुल खर्च जोड्दा पनि २० मध्ये ११ औं स्थानमा आउँछ । उसले १९ करोड ८२ लाख हाराहारी खर्च गरेको छ ।
वाणिज्य बैंकहरुको सूचीमा नेपाल एसबीआई र प्राइम कमर्शियल बैंक विज्ञापनको मामिलामा सबैभन्दा छुच्चा रहेको देखिन्छ । यी बैंकले यो देशको सञ्चार उद्यम प्रवर्द्धनमा तुलनात्मक रुपले कमैमात्र योगदान गरेका छन् । नेपाल एसबीआईले विगत चार वर्षमा जम्मा २ करोड ३५ लाख ८१ हजार रुपैयाँ खर्च गरेको छ । त्यस्तै प्राइमले यिनै चार वर्षमा केवल १ करोड ५२ लाख रुपैयाँमात्रै विज्ञापनमा खर्च गरेको देखिन्छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा बैंकहरुको विज्ञापन खर्च :














