आर्थिक अनिश्चितताबीच जीवन बीमाप्रति बढ्दो भरोसा, कम्पनीले बेचे २४ लाख २९ हजार पोलिसी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आर्थिक अनिश्चितताबीच जीवन बीमाप्रति बढ्दो भरोसा, कम्पनीले बेचे २४ लाख २९ हजार पोलिसी



काठमाडौं । जीवन बीमकले चार महिनामा झन्डै साढे २४ लाख बीमालेख बिक्री गरेका छन् । जीवन बीमालेख बिक्रीदर साढे ३२ प्रतिशत वृद्धि भएको छ ।

नेपाल बीमा प्राधिकरणबाट हालै प्राप्त चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

प्राधिकरणका अनुसार गत साउनदेखि कात्तिक मसान्तसम्म आइपुग्दा कम्पनीहरुले २४ लाख २९ हजार ४७ वटा बीमालेख बिक्री गरेका छन् । यो आवको सोही अवधिको तुलनमा ३२.५४ प्रतिशत धेरै हो । गत आवको पहिलो चार महिनामा कम्पनीहरुले १८ लाख ३२ हजार ६७६ वटा बीमालेख जारी गरेका थिए ।

चालु आवको चार महिनामा कम्पनीहरुको व्यवसायको आकार भने १८.६७ प्रतिशत वृद्धि भएको छ । गत आवको सो अवधिमा कम्पनीहरुले ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने थप १० अर्ब बढेर ६३ अर्ब ७२ करोड २८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।

हाल १४ वटा ठुला र तीन वटा लघु जीवन बीमा कम्पनीहरु संचालनमा छन् । ती कम्पनीहरुमा सक्रिय जीवन बीमालेखको संख्या भने १ करोड ६० लाख ६३ हजार ४७८ कायम भएको छ । सक्रिय बीमालेखको संख्या पनि १६.३६ प्रतिशत बढेको देखिन्छ । जबकि, गत आवको पहिलो चार महिनामा यस्ता बीमालेखको संख्या १ करोड २८ लाख ४ हजार ६४७ वटा रहेको थियो ।

प्राधिकरणका अनुसार हाल २१ लाख ८० हजार ५४९ वटा सावधिक जीवन बीमालेख सक्रिय छ । यस्तै, अग्रिम भुक्तानी सावधिक तर्फ ४ लाख ४७ हजार, रुपान्तरित सावधिक तर्फ ५ लाख ९५ हजार ९१, बालबच्च सम्वन्धि १० लाख ७६ जहार ४६८, वैदेशिक रोजगार तर्फ २४ लाख ४३ हजार ९०, आजिवन बीमा तर्फ १ लाख ७० हजार ७६६, एक बीमाशुल्क तर्फ १ लाख ५ हजार ४ वटा बीमालेख सक्रिय छन् । यता, म्यादि जीवन बीमालेख भने ३३ लाख ६७ हजार ४०४ वटा सक्रिय छन् । त्यसैगरि लघु जीवन बीमा तर्फ ५५ लाख ४५ हजार ३६८ र अन्य जीवन बीमा तर्फ १ लाख २२ हजार ६९६ वटा बीमालेख सक्रिय छन् ।

रिलायवल नेपालमा छन् धेरै सक्रिय बीमालेख, अन्य कुनमा कति ?

सक्रिय बीमालेखको आधारमा रिलायवल नेपाल पहिलो सूचीमा छ । कम्पनीमा हाल २४ लाख ३० हजार ६१० वटा बीमालेख सक्रिय छ । दोस्रो सूचीमा रहेको नेपाल लाइफमा १७ लाख ९ हजार ५२० र तेस्रो सूचीमा रहेको नेशनल लाइफमा १३ लाख ५३ हजार १८ वटा बीमालेख सक्रिय देखिन्छन् ।

प्राधिकरणका अनुसार सिटिजन लाइफमा ८ लाख १२ हजार ३८५, मेट लाइफमा ६ लाख ९२ हजार ९०८, सूर्यज्योतिमा ६ लाख ६२ हजार ३७२, राष्ट्रिय जीवन बीमा कम्पनीमा ५ लाख ९१ हजार ७९९, एशियनमा ५ लाख ९१ हजार १८५, आइएमई लाइफमा ५ लाख ३१ हजार ७३८, सानिमा रिलायन्समा ४ लाख ८५ हजार ५९९, हिमालयन लाइफमा ४ लाख १८ हजार ११३, सन नेपाल लाइफमा २ लाख ७० हजार ७४० र प्रभूमा २ लाख ४७ हजार ६०५ वटा बीमालेख सक्रिय छन् ।

यता, सक्रिय लघु जीवन बीमालेखको संख्या भने २१ लाख २९ हजार ९२३ वटा देखिन्छ । सो बराबरको बीमालेख बिक्रीबाट कम्पनीहरुले ३२ करोड ७१ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै सक्रिय बीमालेख गार्डियन माइक्रो लाइफसँग १३ लाख ४१ हजार ८८० वटा छन् । यता, क्रेष्ट माइक्रोमा ५ लाख १० हजार ७२७ र लिवर्टी माइक्रो लाइफमा २ लाख ७७ हजार ३१६ वटा बीमालेख सक्रिय देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्