जेन–जी आन्दोलनमा २३ अर्ब ५४ करोड बीमा दाबी, २२ प्रतिशत मात्र भुक्तानी
काठमाडौं । जेन–जी आन्दोलनमा भौतिक क्षतिको निर्जीवन बीमा कम्पनीहरुमा ३ हजार ३०३ बीमा दाबी परेको छ । पुरै उजुरी गरेर जम्मा २३ अर्ब ४५ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको बीमा प्राधिकरणका प्रवक्ता सुशील देव सुवेदीले जानकारी दिए ।
दाबी परेकोमध्ये बीमा कम्पनीहरुले बीमितलाई ५ अर्ब १८ करोड रुपैयाँ भुक्तानी गरिसकेका छन् । जुन दाबी परेको रकमको २२ प्रतिशत हो ।
प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले तथ्यांक अद्यावधिक गरेका छन् । जस अनुसार कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी ७१० वटा बीमा दाबीको १९ अर्ब २ करोड रुपैयाँमध्ये करिव ३ अर्ब ८२ करोड रुपैयाँ भुक्तान भएको सुवेदीले जानकारी दिए । मोटर बीमातर्फ २ हजार ३११ वटा बीमा दाबीको ३ अर्ब ४७ करोड रुपैयाँमध्ये करिव १ अर्ब २२ करोड भुक्तानी भएको प्राधिकरणले जानाएको छ ।
इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको ५५ करोड ४७ लाख रुपैयाँमध्ये करिव ७ करोड ५० लाख रुपैयाँ भुक्तान भएको प्राधिकरणले जनाएको छ । परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको १ करोड ६९ लाख दाबी रकममध्ये करिव १ करोड ५५ लाख र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको ३८ करोड ४० लाख रुपैयाँ दाबीमध्ये करिव ५ करोड ५० लाख रुपैयाँ अग्रिम भुक्तानी गरेको सुवेदीले जानकारी दिए ।
३ अर्ब २ करोड पुनर्बीमा दाबी भुक्तानी
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव ३ अर्ब २ करोड अग्रिम भुक्तानी समेत गरी पुनर्बीमा दाबी भुक्तानी गरेको प्राधिकरणले जानाएको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६२ वटा पुनर्बीमा दाबीको दाबी १६ अर्ब ६२ करोड रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क रहेको सुवेदीले जानकारी दिए ।













