ऐतिहासिक किर्तिमानतर्फ विश्व व्यापार, पहिलो पटक ३५ ट्रिलियन डलर नाघ्ने प्रक्षेपण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ऐतिहासिक किर्तिमानतर्फ विश्व व्यापार, पहिलो पटक ३५ ट्रिलियन डलर नाघ्ने प्रक्षेपण



काठमाडौं । भूराजनीतिक तनाब र आर्थिक अनिश्चितताबीच पनि सन् २०२५ मा विश्वव्यापी वस्तु तथा सेवाको व्यापार निरन्तर बढेको छ ।

संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास संस्थाले यस वर्ष विश्व व्यापार पहिलो पटक ३५ ट्रिलियन अमेरिकी डलर नाघ्ने प्रक्षेपण सार्वजनिक गरेको हो । जुन सन् २०२४ को तुलनामा करिब २.२ ट्रिलियन डलर अर्थात् करिब ७ प्रतिशतले बढी हो।

संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास संस्थाले सार्वजनिक गरेको रिपोर्ट अनुसार कुल वृद्धिमध्ये करिब १.५ ट्रिलियन डलर वस्तु व्यापारबाट आउनेछ भने सेवा व्यापार करिब ७५० अर्ब डलरले बढ्ने अपेक्षा गरिएको छ। सेवा व्यापारको वृद्धि दर करिब ९ प्रतिशत रहने अनुमान छ।

संस्थाले तेस्रो त्रैमासमा निरन्तर बढेको व्यापार चौथो त्रैमासिकमा पनि व्यापार वृद्धि सकारात्मक रहने तर गति केही सुस्त हुने जनाएको छ। यस अवधिमा वस्तु व्यापार ०.५ प्रतिशत र सेवा व्यापार २ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
सन् २०२४ को चौथो त्रैमासिकदेखि २०२५ को तेस्रो त्रैमासिकसम्मको अवधिमा विकासोन्मुख मुलुकहरूबीचको व्यापार (साउथ–साउथ ट्रेड) करिब ८ प्रतिशतले बढेको छ।

यसले विकासशील क्षेत्रहरूमा व्यापारिक लचकता बढ्दै गएको देखाए पनि धेरै मुलुकहरू अझै ऋणको दबाबमा रहेका छन्।
क्षेत्रगत रूपमा पूर्वी एसियाको निर्यात सबैभन्दा तीव्र गतिमा बढेको छ। पछिल्ला चार त्रैमासिकमा यहाँको निर्यात ९ प्रतिशतले बढेको छ भने क्षेत्रभित्रकै व्यापार १० प्रतिशतले विस्तार भएको छ।

दक्षिण अमेरिकामा पनि क्षेत्रभित्रको व्यापार मजबुत देखिएको छ। तेस्रो त्रैमासिकमा ३ प्रतिशत र पछिल्ला चार त्रैमासिकमा ७ प्रतिशतले वृद्धि भएको छ।

अफ्रिकामा आयात १० प्रतिशतले बढेको छ भने निर्यात पनि पछिल्ला चार त्रैमासिकमा ६ प्रतिशतले विस्तार भएको छ। उत्तर अमेरिकामा भने तेस्रो त्रैमासिकमा निर्यात ३ प्रतिशतले घटे पनि चार त्रैमासिकको समग्रमा २ प्रतिशतले बढेको छ। आयात भने ६ प्रतिशतले वृद्धि भएको छ।

युरोपमा व्यापार वृद्धि जारी रहे पनि गति सुस्त देखिएको छ। तेस्रो त्रैमासिकमा निर्यात २ प्रतिशत र आयात १ प्रतिशतले बढेको छ।

तेस्रो त्रैमासिकमा उत्पादन क्षेत्र (म्यानुफ्याक्चरिङ) विश्व व्यापारको प्रमुख आधार बनेको छ। यस क्षेत्रमा व्यापार ३ प्रतिशतले बढेको छ भने पछिल्ला चार त्रैमासिकमा १० प्रतिशतले विस्तार भएको छ। विशेषगरी एआई (कृत्रिम बौद्धिकता) सम्बन्धी मागका कारण इलेक्ट्रोनिक्स व्यापार १४ प्रतिशतले बढेको छ।

कृषि व्यापार पनि उल्लेखनीय रूपमा बढेको छ। तेस्रो त्रैमासिकमा ८ प्रतिशत वृद्धि भएको कृषि व्यापारमा अन्न, फलफूल, तरकारी तथा तेलबियाँ प्रमुख रहे। चार त्रैमासिकको अवधिमा कृषि क्षेत्र समग्रमा ६ प्रतिशतले बढेको छ।

तर अटोमोबाइल क्षेत्र भने कमजोर नै देखिएको छ। अटोमोबाइल क्षेत्रको व्यापार तेस्रो त्रैमासिकमा व्यापार १ प्रतिशत र चार त्रैमासिकमा ४ प्रतिशतले घटेको छ। यस अवधिमा हाइब्रिड सवारीसाधनको व्यापार २२ प्रतिशतले बढे पनि पेट्रोल–डिजेल इन्जिनका सवारीसाधन १३ प्रतिशत र विद्युतीय सवारीसाधन ५ प्रतिशतले घटेका छन्।

तेस्रो त्रैमासिकमा ‘फ्रेन्डशोरिङ’ र ‘नियरशोरिङ’ प्रवृत्ति फेरि बलियो बनेको छ। यसले राजनीतिक रूपमा मिल्ने र भौगोलिक रूपमा नजिकका मुलुकहरूसँग व्यापार बढ्ने संकेत गरेको छ। साथै, ठूला अर्थतन्त्रहरूबीच व्यापारको एकाग्रता बढ्दै गएको देखिएको छ, जसले विश्व व्यापारको ठूलो हिस्सा सीमित प्रमुख मुलुकहरूमार्फत प्रवाहित भइरहेको जनाउँछ।

२०२६ मा गति कमजोर हुने सम्भावना

आगामी वर्ष सन् २०२६ मा भने विश्व व्यापारको गति कमजोर हुने अनुमान गरिएको छ। ग्लोबल ट्रेड अपडेटका अनुसार विश्व आर्थिक वृद्धि सुस्त हुनु, भूराजनीतिक खण्डीकरण, नीतिगत अनिश्चितता कायमै रहनु, तथा बढ्दो जोखिमले व्यापार गतिविधिमा दबाब पार्ने देखिन्छ। साथै, बढ्दो व्यापार लागतले सतर्कतायुक्त परिदृश्यलाई थप बल दिएको छ।

डिजिटल प्रविधि र वातावरणीय उद्योगजस्ता केही उपभोक्ता–आधारित बजार तथा क्षेत्रमा आयात मागले केही सहयोग पु¥याउन सक्ने भए पनि, ती कारकहरूले कमजोर आर्थिक गतिशीलता र बढ्दो व्यापारिक तनावलाई पूर्ण रूपमा सन्तुलनमा ल्याउन सक्ने सम्भावना कम छ।

यद्यपि सकारात्मक पक्ष के छ भने धेरै विकासोन्मुख क्षेत्रमा व्यापारप्रति धारणा अझै समग्र रूपमा सहयोगी नै रहेको छ। यसले खुलापन बढाउने र सीमापार व्यापारमा लगानी विस्तार गर्ने प्रतिबद्धतालाई कायम राख्दै क्षेत्रभित्रको तथा साउथ–साउथ व्यापार थप विस्तार हुन सक्ने सम्भावना देखाउँछ।

समग्रमा हेर्दा, आगामी केही त्रैमासिकका लागि गरिएको अनुमानले विश्व व्यापार वृद्धिमा निरन्तर सुस्तता आउने संकेत गर्दछ, जहाँ देश र क्षेत्रअनुसार व्यापारको प्रदर्शन असमान रहने सम्भावना छ।


प्रतिक्रिया दिनुहोस्