नेक्सन र भेन्युलाई चुनौती दिन जनवरीमा लञ्च हुँदै मारुतीको नयाँ गाडी, ब्रेजा फेसलिफ्टमा के–के नयाँ ?
काठमाडौं । मारुती सुजुकी इण्डिया लिमिटेडले नयाँ ब्रेजा फेसलिफ्ट एसयूभी लन्च गर्ने तयारी गरेको छ ।
भारतमा सर्वाधिक बिक्री हुने ब्रान्ड मारुती ब्रेजाको नयाँ मोडल सम्भवतः आगामी महिना जनवरीमा सार्वजनिक हुनेछ ।
हालै परिक्षण (टेष्ट ड्राइइभ) का क्रममा देखिएको यो गाडी अपग्रेड फिचर सहित नयाँ डिजाइनमा देखिएको हो ।
ब्रेज्जा मारुती सुजुकीका सबैभन्दा लोकप्रिय सवारी साधनमध्ये एक हो। यसको अपग्रेट फिचरसहितको नयाँ मोडल सार्वजनिक भएपछि बिक्रीमा वृद्धि हुने अपेक्षा गरिएको छ भने यसले ग्राहकहरूलाई आकर्षित गर्ने कम्पनीको विश्वास छ ।
नयाँ ब्रेज्जाको बाहिरी डिजाइन पहिलेझैँ मजबुत र बाकसजस्तो (बक्सि) रहनेछ, तर यसमा केही साना परिवर्तन गरिनेछन्। यसको एलइडी डीआरएल लाइट्सहरू नयाँ डिजाइनमा आउनेछन् भने हेडलाइट र टेललाइटको आकारमा पनि हल्का परिवर्तन देखिन सक्ने अपेक्षा गरिएको छ।
यसको गाडीको ग्रिल र बम्परलाई अझ आधुनिक स्वरूप दिएको छ भने अगाडि र पछाडिका बम्परका साथै ग्रिलमा पनि नयाँ फिनिस प्रयोग गरीएको छ
गाडीको बाकसजस्तो लुक यथावत् रहनेछ, तर नयाँ अलोय ह्विल थपिएको छ साथै, ब्ल्याक–आउट पिलर, रूफ रेल र शार्क–फिन एन्टेना जस्ता फिचरहरू पनि निरन्तर रहनेछन्।
गाडीको भित्री भाग अझ प्रिमियम बनाइएको छ । मारुतिले नयाँ ब्रेज्जाको इन्टेरियरलाई टाटा नेक्सन, हुन्डाइ भेन्यू, किया सोनेट, महिन्द्रा एक्सयूभी थ्री एक्स ओ, निसान म्याग्नाइट र रेना किगरजस्ता सवारीसाधनहरूसँग प्रतिष्पर्धा गर्न सक्षम बनाउने लक्ष्य लिएको छ ।
हाल उपलब्ध ९ इन्चको स्क्रिनको सट्टा नयाँ ब्रेज्जामा १० दशमलव १ इन्चको ठूलो स्पर्श पर्दा सूचना तथा मनोरञ्जन प्रणाली उपलब्ध गराइएको छ । साथै, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, सुधारिएको भित्री प्रकाश व्यवस्था र उच्च गुणस्तरको सामग्री प्रयोग गरिएको छ ।
सुविधाको हिसाबले पहिलो पटक ब्रेज्जामा हावा प्रवाह हुने सिट र विद्युतीय रूपमा समायोजन गर्न मिल्ने चालक सिट समावेश गरिएको छ । यसका साथै नयाँ र प्रिमियम ध्वनि प्रणाली, छ वटा सुरक्षा एयर ब्याग, गाडी स्थिरता नियन्त्रण प्रणाली र चारैतिर देखाउने क्यामेराजस्ता सुरक्षासम्बन्धी सुविधा पनि दिइनेछन् ।
सुरक्षाका दृष्टिले नयाँ ब्रेज्जाको माथिल्लो संस्करणमा चालक सहायता प्रणालीसम्बन्धी अत्याधुनिक सुविधा थपिन सक्ने अनुमान गरिएको छ, जसले गाडी चलाउँदा थप सुरक्षा प्रदान गर्नेछ ।
मूल्यको कुरा गर्दा, नयाँ ब्रेज्जा फेसलिफ्टको प्रारम्भिक मूल्य हालको मोडलभन्दा केही बढेर भारतीय बजारमा करिब नौ लाखदेखि चौध लाख रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ ।













