तयार भयो नेपाल आउने विदेशीलाई ‘ट्र्याक’ गर्ने प्रणाली, कहिलेदेखि लागू होला ?
काठमाडौँ । नेपाल आउने सबै विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागु गर्न लागिएको अध्यागमन विभागले जनाएको छ।
उक्त प्रणालीमार्फत् नेपालमा रहेका विदेशी नागरिकहरूबारे होटेल, मनी एक्सचेन्जलगायत पर्यटकहरूसँग सम्बन्ध हुने स्थलहरूले आवश्यक विवरण डिजिटल माध्यमबाट दर्ता अध्यागमन विभागमा गर्नुपर्ने छ। यो प्रणालीमा नेपाल आउने भारतीय नागरिकहरूलाई पनि समेट्ने सरकारको योजना छ।
“यो प्रणालीअन्तर्गत विदेशी नागरिकले केही गर्नुपर्ने होइन। यो हाम्रा सेवाप्रदायकहरूले राख्नुपर्ने विवरण हो। विदेशी नागरिक बसेको होटेलले ‘चेक-इन’ भएको सूचना हाम्रो सिस्टमलाई दिने, कतै यात्रा गर्नुभयो भने त्यसको सूचना हाम्रो प्रणालीमा दर्ता हुने मात्रै हो,” विभागका महानिर्देशक रामचन्द्र तिवारीले भने।
उनका अनुसार विदेशी नागरिकलाई त्यसरी निगरानी गर्नुको उद्देश्य आवश्यक पर्दा उनीहरूलाई खोज्नु हो।
एउटा प्रयोजनका लागि नेपाल भित्रिने तर अन्य क्रियाकलाप गर्ने र कोहीकोही त आपराधिक गतिविधिमा पनि संलग्न हुने घटनाहरू बढ्न थालेपछि सरकारी निकायबाटै विदेशी नागरिकहरूको अनुगमन गर्न आवश्यक भएको विज्ञ तथा पर्यटन क्षेत्रका जानकारहरूले बताएका छन्।
सरकारले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको अवधारणा आठ वर्षअगाडि नै अघि सारेको भए पनि अहिले कार्यान्वयनमा जान लागेको हो।
गत असोज महिनाबाट सुरु गर्ने भनिएको उक्त प्रणाली जेन जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा लागु गर्न नसकिएको विभागले जनाएको छ।
अध्यागमन विभागले आफ्नो वेबसाइटमा एउटा सूचना जारी गर्दै यो प्रणालीलाई पहिलो चरणमा पुस १७ गतेदेखि काठमाण्डू उपत्यकाभित्रका तारे होटेलहरूमा अनिवार्य लागु गरिने जनाएको छ।
त्यसपछि दोस्रो चरणमा फागुन १७ गतेदेखि देशभित्रका सबै तारे होटेल, विमान कम्पनी, टूर्स एन्ड ट्राभल कम्पनी, मनी एक्सचेन्ज र सबै प्रकारका होटेल, गेस्टहाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागु गर्ने कार्य योजना विभागको रहेको छ।
यो प्रणालीको कार्यान्वयन प्रभावकारी बनाउन विदेशी नागरिकहरूलाई सेवा दिने सबै निकायहरूले प्रणालीमा दर्ता हुनुपर्ने विभागले जनाएको छ।
—बीबीसी नेपाली सेवाबाट
















