एक दशकमा विश्वव्यापी एआई बजार २५ गुणा वृद्धि हुने, तर ४० प्रतिशत रोजगारी गुम्ने जोखिम - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एक दशकमा विश्वव्यापी एआई बजार २५ गुणा वृद्धि हुने, तर ४० प्रतिशत रोजगारी गुम्ने जोखिम



काठमाडौं । विश्वव्यापी प्रविधि विकासको केन्द्रमा पुगेको कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकासले विश्व अर्थतन्त्र र रोजगारीको संरचनामा गहिरो परिवर्तन ल्याउन थालेको छ।

एआईको तीव्र विस्तारसँगै यसको आर्थिक र सामाजिक प्रभाव विश्वभर स्पष्ट देखिन थालेको छ।

संयुक्त राष्ट्रसंघको व्यापार तथा विकास निकायको नयाँ प्रतिवेदनअनुसार सन् २०२३ मा १८९ अर्ब अमेरिकी डलर रहेको विश्वव्यापी एआई बजार सन् २०३३ सम्म आइपुग्दा ४.८ ट्रिलियन डलरसम्म पुग्ने अनुमान गरिएको छ। यो केवल एक दशकमा करिब २५ गुणा वृद्धि हो।

प्रतिवेदनका अनुसार, विश्वव्यापी अत्याधुनिक प्रविधि बजारमा एआईको हिस्सा हालको ७ प्रतिशतबाट बढेर २९ प्रतिशत पुग्नेछ, जसले एआईलाई सबैभन्दा प्रभावशाली प्रविधि क्षेत्र बनाउनेछ।

यद्यपि एआईको तीव्र विकाससँगै विश्वव्यापी असमानता अझ गहिरिने खतरा देखिएको छ। एआईको विकास मुख्यत: ठूला र विकसित अर्थतन्त्रमा केन्द्रित छ, जहाँ दक्ष जनशक्ति, पूँजी र प्रविधिमा सहज पहुँच छ।

सन् २०२२ मा विश्वभरका केवल १०० कम्पनी मुख्यत: अमेरिका र चीनकाले विश्वव्यापी एआई अनुसन्धान तथा विकासको ४० प्रतिशत हिस्सा ओगटेका थिए। यी दुई देशले विश्वका ६० प्रतिशत एआई आविस्कार तथा उत्पादन गर्छन् ।

४० प्रतिशत रोजगारी गुम्ने खतरा

कृत्रिम बुद्धिमत्ता (एआई) ले विश्वव्यापी श्रम बजारको संरचना तीव्र रूपमा परिवर्तन गरिरहेको छ। सामग्री सिर्जना, उत्पादन तथा डिजाइन, सफ्टवेयर विकास, स्वचालित कोडिङ र ग्राहक सेवाजस्ता क्षेत्रहरूमा एआईको प्रयोग बढेसँगै काम गर्ने तरिका, आवश्यक सीप र रोजगारीको स्वरूप नै पुन:परिभाषित हुँदै गएको छ।

उक्त प्रतिवेदनअनुसार विश्वव्यापी रूपमा करिब ४० प्रतिशत रोजगारीमा रोजगारी गुम्ने खतरा देखिएको छ । तथ्यांकअनुसार विकसित अर्थतन्त्रमा एआईको पहुँच र प्रयोग बढी भएकाले त्यहाँ करिब ३३ प्रतिशत रोजगारी एआईको प्रभावमा पर्न सक्ने जोखिम देखिएइको छ भने उदीयमान अर्थतन्त्रमा यो अनुपात २४ प्रतिशत र न्यून आय भएका देशहरूमा १८ प्रतिशत रोजगारी एआईले खोस्ने देखिएको छ।

तर जोखिमसँगै अवसर पनि विकसित देशहरूमै बढी देखिन्छ। प्रतिवेदनअनुसार विकसित अर्थतन्त्रमा करिब २७ प्रतिशत रोजगारी एआईका कारण अझ सक्षम बन्ने सम्भावना छ, जहाँ एआईले मानव सीपलाई प्रतिस्थापन होइन, पूरक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यसले उत्पादकत्व वृद्धि, नयाँ कामको सिर्जना र उच्च सीपयुक्त रोजगारीतर्फ श्रम बजार रूपान्तरण हुने संकेत गर्छ। यद्यपि, विकासशील देशहरूले समयमै सीप विकास र नीतिगत तयारी नगरे एआईको यो रूपान्तरण उनीहरूका लागि अवसरभन्दा चुनौती बढी बन्न सक्ने चेतावनी पनि प्रतिवेदनले दिएको छ।

विकासशील देशका लागि एआई रणनीति अपरिहार्य

एआईको तीव्र विकाससँगै विश्व अर्थतन्त्र प्रविधिमैत्री दिशातर्फ अघि बढिरहेका बेला विकासशील देशहरूका लागि स्पष्ट र दीर्घकालीन रणनीति अपनाउनु अपरिहार्य बन्दै गएको छ।

युएन ट्रेडको प्रतिवेदनले विकासशील राष्ट्रहरूले परम्परागत औद्योगिक नीतिमा मात्र निर्भर नरही प्रविधि, नवप्रवर्तन र ज्ञान–आधारित सेवालाई केन्द्रमा राखेर नीतिगत रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएको छ। यसो नगरे एआई–आधारित विश्व प्रतिस्पर्धामा उनीहरू अझ पछि पर्ने जोखिम रहेको छ।

प्रतिवेदनले देखाएअनुसार एआई रणनीति निर्माणमा विकसित र विकासशील देशबीच ठूलो खाडल छ। सन् २०२३ सम्म विकसित अर्थतन्त्रका करिब दुई तिहाइ देशसँग राष्ट्रिय एआई रणनीति भए पनि विकासशील देशहरूमा यो अनुपात केवल ३० प्रतिशतमा सीमित छ। अझ चिन्ताजनक तथ्य के छ भने अति कम विकसित देशहरूमध्ये मात्र १२ प्रतिशतले मात्रै एआईसम्बन्धी स्पष्ट राष्ट्रिय नीति वा रणनीति तयार गरेका छन्, जसले भविष्यमा प्रविधिगत असमानता झन् बढ्ने संकेत गर्छ।

युएन ट्रेडले प्रभावकारी राष्ट्रिय एआई रणनीतिका लागि तीन मुख्य आधार क्षेत्र पहिचान गरेको छ, जसमा पूर्वाधार, डेटा र सीप विकास रहेका छन् ।

प्रतिवेदनअनुसार पहिलो प्राथमिकता विश्वसनीय विद्युत् आपूर्ति, तीव्र र सुलभ इन्टरनेट तथा पर्याप्त कम्प्युटिङ क्षमतामा सबैको समान पहुँच सुनिश्चित गर्नु हो। डिजिटल पूर्वाधार कमजोर भए एआई प्रविधिको उपयोग र विकास सम्भव नहुने चेतावनी प्रतिवेदनले दिएको छ।

त्यसैगरी, खुला डेटा नीतिको प्रवद्र्धन र डेटा साझेदारीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको छ। सरकारी तथा सार्वजनिक निकायका तथ्यांक सुरक्षित र जिम्मेवार ढंगले खुला गर्दा नवप्रवर्तन बढ्ने, अनुसन्धान सहज हुने र निजी क्षेत्र तथा शैक्षिक संस्थाबीच सहकार्य विस्तार हुने प्रतिवेदनको निष्कर्ष छ।

अन्तत: मानव संसाधन विकासलाई एआई रणनीतिको केन्द्रमा राख्नुपर्ने सुझाव दिइएको छ। प्रारम्भिक विद्यालय शिक्षादेखि उच्च शिक्षा र आजीवन सिकाइसम्म (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) तथा एआईसम्बन्धी सीप समावेश गर्नुपर्नेमा जोड दिँदै प्रतिवेदनले जनशक्तिलाई भविष्यका रोजगारीका लागि सक्षम बनाउनु नै दीर्घकालीन सफलता सुनिश्चित गर्ने मुख्य आधार हुने उल्लेख गरेको छ।

एआईको भविष्य: समावेशी विश्वव्यापी सहकार्य अपरिहार्य

कृत्रिम बुद्धिमत्ता सीमाहीन प्रविधि भए पनि यसको शासन संरचना अझै टुक्रिएको र सीमित मुलुकहरूको प्रभुत्वमा केन्द्रित देखिन्छ।

हालका प्रमुख एआई शासन तथा नीतिगत पहलहरूमा जी ७ देशहरू पूर्ण रूपमा संलग्न छन् भने ११८ देश, जसमध्ये अधिकांश विकासशील राष्ट्रहरू वैश्विक एआई पहलमा सहभागी छैनन्। यसले एआईको भविष्य केही शक्तिशाली राष्ट्रको नियन्त्रणमा सीमित हुने जोखिम बढाएको छ।

युएन ट्रेडको प्रतिवेदनले यस्तो अवस्थालाई गम्भीर चुनौतीका रूपमा चित्रण गर्दै समावेशी र न्यायपूर्ण विश्वव्यापी सहकार्यको खाँचो औंल्याएको छ।

हालको एआई परिदृश्य बहुराष्ट्रिय प्रविधि कम्पनीहरूको प्रभावमा रहेको छ, जहाँ एप्पल, एनभिडिया र माइक्रोसफ्टजस्ता कम्पनीहरूको बजार मूल्य करिब ३ ट्रिलियन अमेरिकी डलरसम्म पुगेको छ। यो रकम सम्पूर्ण अफ्रिकी महादेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँग तुलनायोग्य हुनु आफैंमा प्रविधिगत शक्ति सन्तुलनको गहिरो संकेत हो।

टेक्नोलोजी एन्ड इनोभेसन रिपोर्ट २०२५ ले एआई शासनमा मानिसलाई केन्द्रमा राख्ने दृष्टिकोण अपनाउन आग्रह गरेको छ।

बहु–पक्षीय सहकार्य, विकासशील देशहरूको सक्रिय सहभागिता र साझा निर्णय प्रक्रियामार्फत एआईलाई विश्वव्यापी विकास लक्ष्यसँग जोड्नुपर्नेमा जोड दिएको छ। यसो नगरे एआईका लाभ सीमित वर्ग र मुलुकमा मात्र केन्द्रित हुने र प्रविधिगत असमानता झनै गहिरिने चेतावनी पनि प्रतिवेदनले दिएको छ।


प्रतिक्रिया दिनुहोस्