‘गुलजार’ बन्दै दुईपाँग्रे सवारी बजार, तातियो ‘बाइक–स्कुटर’को व्यापार
काठमाडौं । दुईपाँग्रे सवारी साधन बजार फेरि चलायमान बन्दै गएको छ । केही समयअघिसम्म सुस्त बनेको आयात र बिक्री क्रमश: उकालो लाग्न थालेको देखिन्छ ।
भन्सार विभागबाट प्राप्त चालु आर्थिक वर्ष २०२–३ को सुरुआती पाँच महिना (साउनदेखि मंसिर) तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा झन्डै सवा लाख युनिट मोटरसाइकल तथा स्कुटर नेपाल भित्रिएका छन् ।
पछिल्लो समय दुईपाँग्रे सवारी साधनको आयात उल्लेख्य रूपमा बढेपछि बजारमा चहलपहल बढ्दै गएको हो । गत मंसिरसम्म कुल १ लाख १४ हजार ६४० युनिट मोटरसाइकल र स्कुटर नेपाल भित्रिएका छन् । यसमा तयारी अवस्थाका साथै अनएसेम्बल (पाट्र्स) दुवै प्रकारका सवारी साधन समावेश छन् ।
विभागको आँकडा अनुसार दुईपाँग्रे सवारी साधनको आयात २२.०१ प्रतिशत वृद्धि भएको देखिन्छ । संख्यात्मक रूपमा हेर्दा यो वृद्धि २० हजार ६८९ युनिट बराबर हो । अघिल्लो वर्ष पाँच महिनामा ९३ हजार ९५१ युनिट मात्र मोटरसाइकल र स्कुटर आयात भएका थिए ।
हाल अर्थतन्त्र क्रमश: चलायमान बन्दै गएको छ । अर्कोतर्फ उपभोक्ताको खर्च गर्ने क्षमतामा सुधार आएको छ, जसले सवारी साधनको माग पनि बढेको हो । यसको प्रत्यक्ष प्रभाव दुईपाँग्रे सवारीको आयातमा देखिएको विभागले जनाएको छ ।
हाल नेपालमा एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका दुईपाँग्रे सवारी साधन एसेम्बल हुँदै आएका छन् । रोयल इनफिल्ड, बजाज, टीभीएस, यामाहा, हिरो, होण्डा, सीएफमोटो लगायतका ब्राण्डका मोटरसाइकल तथा स्कुटर स्वदेशमै एसेम्बल हुने गरेका छन् ।
आयात भएका दुईपाँग्रे सवारीमध्ये करिब ८५ प्रतिशत अनएसेम्बल अवस्थामा रहेका छन् । सो अवधिमा ९७ हजार ५६७ युनिट अनएसेम्बल मोटरसाइकल तथा स्कुटर नेपाल भित्रिएको छ ।
यस्तै, तयारी अवस्थाका मोटरसाइकल र स्कुटरको आयात पनि उल्लेख्य छ । विभागका अनुसार पाँच महिनामा १७ हजार ७३ युनिट तयारी दुईपाँग्रे सवारी साधन आयात भएका छन् ।
आगामी महिनाहरूमा दुईपाँग्रे सवारीको बजार अझ सक्रिय बन्ने व्यावसायीहरु बताउँछन् । आर्थिक गतिविधि थप सुधारिएसँगै सवारी साधन क्षेत्रले पनि सकारात्मक गति लिने उनीहरुको भनाई छ ।













