अब ५ लाखभन्दा बढी पैसा भए खाल्डो खनेर राख्ने दिन आउन सक्छ : रेवतबहादुर कार्की
काठमाडौँ । अब ५ लाखभन्दा बढी पैसा भए खाल्डो खनेर राख्ने दिन आउन सक्ने बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल संयोजक डा. रेवतबहादुर कार्कीले बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको ‘बैंकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम’ भन्ने विषयमा भएको अन्तरक्रियामा यस्तो भनेका हुन् ।
बैंकिङ क्षेत्रको जिडिपीमा ५ प्रतिशत योगदान रहेको बताउँदै कार्कीले राष्ट्र बैंकको पुरै सुधार गर्नुपर्ने बताएका छन् ।
‘राष्ट्र बैंकमा गभर्नरको आदेश भयो भन्दै डेपुटी गभर्नर कार्यकारी निर्देशकले नहुने काम पनि गर्ने परिपाटी अझै छ’, कार्कीले भने, राष्ट्र बैंकको लाइसेन्स विधिले अहिलेको समस्या परेको छ ।’
राष्ट्र बैंकले नियमन गर्ने हो शपथ गराउने हो ? भन्दै कार्कीले प्रश्न गरेका छन् । राष्ट्र बैंकले शाखा खोल्न, वार्षिक साधारण सभा गर्ने समेत राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने प्रावधानको कार्कीले विरोध गरेका छन् । ‘बैंकले एजिएम गर्ने पनि राष्ट्र बैंकमा सोर्स फोर्स लगाउनु पर्छ’, कार्कीले भने, ‘बैंकका सिइओको महत्त्वपूर्ण समय राष्ट्र बैंकमा फोन गरेर समय मागेर जान्छ ।’
मौद्रिक नीतिको प्रभावकारिताको विषयमा पनि सोच्नु पर्ने कार्कीको भनाई थियो । एउटा बैंकले नराम्रो गर्दा राष्ट्र बैंकले पुरै बैंकलाई सर्कुलर गरेको कुराको पनि काकीले विरोध गरेका थिए । ‘यस्तो सर्कुलर किन गरेको भनेर सोध्यो भने यो बैंकले फटाइ गर्यो अनि गरेको भन्ने आउँछ’, कार्कीले भने, ‘जसले फटाइ गरेको हो त्यसलाई कारबाही गर्ने हो सबैलाई होइन ।
कालोसूचीको प्रावधानमा पनि अन्तर्राष्ट्रिय मापदण्ड लागू गर्नुपर्नेमा कार्कीले जोड दिएका छन् । ‘१ वर्षमै कालोसूची प्रावधानलाई ३ वर्ष पुराउनुपर्छ ।’, कार्कीले भने ।
लघुवित्तको काम वाणिज्य बैंकलाई पनि २ प्रतिशत गर्न दिने प्रावधान हटाउनु पर्ने कार्कीको भनाई थियो । आफू संयोजक भएको कार्यदलले ३ सय ९० पेजको सुझाव दिएको कार्कीले जानकारी दिए ।
विज्ञ सञ्चालकको एक कार्यकाल तोक्न नहुने कार्कीको भनाई थियो ।













