९ श्रावण २०८३, शनिबार

आइटीमा २० हजार डलर विदेशमा लगानी गर्ने पाइने भएपछि गभर्नर-‘पखेटा फैलाउनुस्’



काठमाडौं । नेपाल राष्ट्र बैंकले आइटी क्षेत्रमा २० हजार रुपैयाँसम्म विदेशमा लगानी गर्ने पाउने विषयमा सुविधा दिएको प्रति गभर्नर विश्व पौडेलले पखेटा फैलाउन आग्रह गरेका छन् । 

उनले सामाजिक सञ्जालमा लेख्दै ‘पखेटा फैलाउनुस्’ भनेका छन् । गएको केही वर्षमा नेपालको आइटी क्षेत्रले राम्रो मेहनत गरेको पौडेलले बताएका छन् । 

‘अर्थमन्त्रालयले गरेको कम्पनीहरु खोल्न सहज गर्ने, एफडीमा सीमा संशोधन गर्ने, करको दर विश्वसनीय बनाउने जस्ता सुधारको आंशिक फलस्वरूप २ वर्ष अघि वैदेशिक लगानीमा ४० वटा जति आइटी  कम्पनी खुलेकामा एक वर्ष अघि लगभग ४०० कम्पनी खुलेका थिए ।’, पौडेले भनेका छन् । 

पौडेलले आफू राष्ट्र बैंक आएपछि यस्तो सुधारभन्दा अघि बढेर नेपाली निर्यातकर्ता कम्पनीहरुलाई विदेशमा एक मिलियन डलरसम्म लगानी गर्न अनुमति  दिइएको जानकारी दिएका छन् । ‘हाल निर्यात नगरेका कम्पनीहरुलाई पनि २० हजार डलरसम्म लगानी गर्न दिइएको छ’, उनले भनेका छन् ‘नतिजा हेरेर यी सीमाहरु संशोधन गर्दै जाने कुरामा सबैलाई विश्वास दिलाउन पनि चाहन्छु ।’

वैदेशिक लगानीकर्ताहरूले पेपरवर्क धेरै भयो भनेर गुनासो गरेको सन्दर्भमा नाफा लग्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने गरिएको गभर्नर पौडेलले बताएका छन् । 

उक्त कार्य हेर्दा साधारण लागेपनी २०२१ सालमै वैदेशिक लगानी गर्न प्रतिबन्ध लगाइएको देशका लागि पहल दूरगामी असर पार्ने प्रकृतिको भएको उनले बताएका छन् । 

‘अब युवाहरूलाई अनुरोध:  ढुक्क भएर नयाँ प्रोडक्ट निकाल्नुहोस्, विश्व बजारमा आँखा लगाउनुहोस्’, पौडेलले भनेका छन्, ‘पखेटा फैलाउनुहोस्,मेहनत गर्नुहोस्, नेपालबाटै जित्नलाई संसार हुनेछ ।’ 

बैंकिङ क्षेत्रले तपाईहरुको विस्तारमा सदैव साथ दिने पौडेलले विश्वास दिलाएका छन् । 

नेपाल राष्ट्र बैंकले केही समय अगाडि मात्र सूचना प्रविधि उद्योगले २० हजार अमेरिकी डलरसम्म विदेशमा लगानीको लागि बाटो खोलिदिएको थियो । 

त्यो भन्दा अगाडि ३ आर्थिक वर्षमा आइटी सेवा निर्यात गरेर विदेशी मुद्रा आर्जन गरेकाले औसत विदेशी मुद्राको ५० प्रतिशत वा १० लाख अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा जसमा जुन न्यून छ त्यो विदेशमा लगानी गर्ने पाइने व्यवस्था थियो । 


प्रतिक्रिया दिनुहोस्