जर्मनीको एक बैंकमा फिल्मी शैलीमा डकैतीः शक्तिशाली ड्रिल प्रयोग गरी ३ करोड युरो र गहना चाेरी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जर्मनीको एक बैंकमा फिल्मी शैलीमा डकैतीः शक्तिशाली ड्रिल प्रयोग गरी ३ करोड युरो र गहना चाेरी



काठमाडौं । जर्मनीको पश्चिमी क्षेत्रमा रहेको एक व्यस्त बजार क्षेत्रको बैंकमा फिल्मी शैलीको ठूलो चोरी भएको छ।

चोरहरूले शक्तिशाली ड्रिल प्रयोग गरी बैंकको भूमिगत तिजोरी (भल्ट) भत्काएर करिब ३ करोड युरो बराबरको नगद र बहुमूल्य सामग्री चोरी गरेकाे प्रहरीलाई उल्लेख गर्दै बीबीसीले लेखेकाे छ।

गेल्सेनकिर्चेन सहरको स्पार्कासे बचत बैंकको शाखामा भएको यस घटनालाई प्रहरीले चर्चित हलिउड फिल्म ओसन्स इलेभेन सँग तुलना गर्दै “अत्यन्तै योजनाबद्ध र पेशागत तरिकाले गरिएको चोरी” भनेको छ।

चोरीका क्रममा चोरहरूले ३ हजारभन्दा बढी सेफ डिपोजिट बक्स फुटाएका थिए, जसमा नगद, सुन तथा गहना राखिएको थियो। सोमबार बिहान सबेरै आगलागी अलार्म बजेपछि मात्रै प्रहरी र दमकल टोलीलाई घटनाबारे जानकारी भएको थियो।

प्रहरीका अनुसार हालसम्म कसैलाई पक्राउ गर्न सकिएको छैन र संलग्न चोरहरू फरार छन्। प्रारम्भिक अनुसन्धानले चोरहरूले क्रिसमसको शान्त विदाको फाइदा उठाउँदै बैंक लुटपाट गरेको देखाएको छ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार चोरहरू नजिकैको पार्किङ ग्यारेज हुँदै बैंकभित्र प्रवेश गरेका थिए र सोही बाटो हुँदै भागेका थिए। शनिबार रातिदेखि आइतबार बिहानसम्म पार्किङ ग्यारेजको सिँढीमा केही व्यक्तिहरूले ठूलो झोला बोकेर हिँडिरहेको देखेको भन्दै साक्षीहरूले बयान दिएका छन्।

आगलागी अलार्म बजेपछि बैंक भवनको व्यापक खोजतलास गरिएको थियो। घटनाबाट प्रभावित ग्राहकहरूलाई स्पार्कासे बैंकले सम्पर्क गर्न अनुरोध गर्दै विशेष हटलाइन सञ्चालनमा ल्याएको छ।

मंगलबार बैंक अगाडि ठूलो संख्यामा ग्राहक भेला भएपछि प्रहरीले शाखाको प्रवेशद्वार सुरक्षित गरेको थियो।

बैंकको वेबसाइटमा प्रकाशित सूचनाअनुसार चोरीपछि सो शाखा मंगलबार पनि बन्द राखिएको थियो। स्पार्कासे बैंकले चोरहरूले ९५ प्रतिशत सेफ डिपोजिट बक्स जबरजस्ती खोलेको जनाउँदै अधिकांश ग्राहक प्रभावित भएको सम्भावना अत्यधिक रहेको जनाएको छ।

बैंकका अनुसार प्रत्येक सेफ डिपोजिट बक्सको सामग्री १०,३०० युरोसम्म बीमित छ। साथै ग्राहकहरूलाई आफ्नो घर बीमाबाट थप क्षतिपूर्ति पाउने व्यवस्था छ कि छैन जाँच गर्न आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्